नेपालबारे गलत सूचनाविरुद्ध ब्रेकिङ न्युज

राजधानी समाचारदाता

काठमाडौं, ७ चैत

नेपालका विषयमा विदेशी लेखकहरूले गरेको गलत सूचना प्रवाहलाई समेटेर पुस्तक ‘ब्रेकिङ नेपाल’ सार्वजनिक गरिएको छ । चर्चित स्तम्भकार लेखक सौरभ र समाजशास्त्रका विद्यार्थी तथा लेखक सुजित मैनालीले तयार पारेको अंग्रेजी भाषाको यो पुस्तकमा नेपालमा जातीय द्वन्द्व फैलाउन विदेशी लेखकहरूले दिएका गलत तथ्यहरूलाई प्रस्तुत गरिएको छ ।

जातजाति, मधेसी र अन्य समुदायलाई नेपालमा खस जातिले दमन गरेको गलत तथ्य अधिकांश विदेशी लेखकहरूले प्रस्तुत गर्दै आएका छन् । उनीहरूले प्रस्तुत गरेको गलत तथ्यलाई नै आधार बनाएर नेपालमा विभिन्न जातीय, साम्प्रदायिक आन्दोलनहरू मात्रै भएका छैनन्, अंग्रेजी भाषामा प्रकाशित हुने मूलधारका सञ्चार माध्यमले पनि तिनै सूचनालाई आधिकारिक रूपमा प्रस्तुत गर्ने गरेका विषयलाई पुस्तकमा समेटिएको छ ।

कार्यक्रममा लेखक सौरभले अंग्रेजहरूले अंग्रेजीमा लेखेका विषयलाई अंग्रेजीमै खण्डन गर्न सजिलो होस् भनेर पुस्तकलाई अंग्रेजी माध्यममा निकालिएको बताए ।

कार्यक्रममा इतिहासविद् डा. जगमान गुरुङले पुस्तकमा भएका तथ्यले नेपालीको विदेशीप्रतिको मोह भंग हुने बताए । प्रकाशित पुस्तक पढेपछि नेपाललाई चकनाचुर पार्ने एजेन्डा कसरी ल्याइएको छ भन्ने प्रस्ट हुने दाबी गुरुङको थियो । अंग्रेजी पुस्तकमा जे लेख्यो त्यही पत्याउने एक खालका मान्छे भ्रममुक्त हुने पनि उनले बताए । गुरुङले नेपालका विभिन्न जातजाति सदियौं कालदेखि मिलेर बसेको भए पनि यहाँ जनजातिलाई खस जातिले दमन गरेको ठूलो तथ्य संसारभरि फैलाइएको बताए । नेपालमा कानुनले जातजातिका आधारमा कहीँकतै हिंसा गरेको छैन भने ।

पुस्तकमाथि बोल्दै अर्का वक्ता डा. राम उप्रेतीले देशबाहिर रहेका नेपालीले पनि यो पुस्तक पढ्नुपर्ने बताए । पुस्तकका लेखक सुजित मैनालीले समाजशास्त्रको अध्ययन गर्ने क्रममा विदेशी लेखकहरूले नेपालबारे लेखेका गलत सूचनाहरूले यस्तो पुस्तक लेख्न प्रेरणा मिलेको हो भने ।