नगरवासीद्वारा प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

राजधानी संवाददाता

राजविराज, ७ चैत

स्थानीय तह पुनःसंरचना गर्दा साबिकको राजविराज नगरपालिकामा अव्यावहारिक र अवैज्ञानिक ढंगले गाविसहरू समाहित गरिएको भन्दै यहाँका नागरिकले असन्तुष्टि व्यक्त गरेका छन् ।

राज्य पुनःसंरचना आयोगको निर्णय सच्याउनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत स्थानीयले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । नगरपालिकामा समावेश गरिएका कतिपय विकट गाविस र वडाका कारण अस्तित्व नै संकटमा पर्ने ठहर गर्दै अघिल्लो दिन आइतबार बसेको नगरवासीको बृहत भेलाले पूर्वमेयर शैलेश चौधरीको संयोजकत्वमा १ हजार १ सदस्यीय ‘राजविराज नगर सिमांकन सुधार संघर्ष समिति’ गठन गरी दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

विरोध कार्यक्रमअन्तर्गत नै प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने काम भएको हो’ संघर्ष समितिका संयोजक चौधरीले भने । अविलम्ब त्रुटि नसच्याए दोस्रो चरणको आन्दोलन घोषणा हुने उनले बताए ।

ज्ञापन पत्रमा पूर्वमा खाडो खोलाभन्दा पश्चिम, उत्तरमा बसविट्टि गाविसको सीमादेखि औद्योगिक क्षेत्रसम्म, पश्चिममा घोडदहनीदेखि पूर्व र दक्षिणमा इटहरी विष्णुपुर गाविसको पश्चिम कोसी नहरदेखि उत्तरको भाग मात्र राजविराज नगरपालिकामा गाभिनुपर्ने माग अघि सारेका छन् ।

हाल नगरपालिकामा हरिहरपुर, कोइलाडी मधेपुरा, देउरी भरुवालगायतका गाविस समेटिएका छन् । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले तत्कालै प्रधानमन्त्रीको कार्यालय पठाउने जानकारी दिए ।