कैलालीमा करणीका घटना बढ्दै

दीपक ओली / राजधानी

धनगढी, ७ चैत

गत १ चैतको राति कैलालीमा १४ वर्षीया बालिका करणीमा परिन् । जन्मदिन मनाएर घर फर्कने क्रममा बर्दगोरिया गाउँपालिका (साबिक दोदोधरा–७) का अन्दाजी १८ वर्षीय अनिल साउदले उनलाई करणी गरेका थिए ।

३ चैतमा पीडित बालिकाका आफन्तले इलाका प्रहरी कार्यालय सुख्खडमा उजुरी दिए पनि प्रहरीले उनलाई हालसम्म पक्राउ गरेको छैन । ‘इलाका प्रहरीमा दर्ता गरिएको मुद्दा चार दिन भइसक्दा समेत जिल्ला वकिल कार्यालयमा मुद्दा पुगेको छैन,’ पीडित बालिकाका आफन्तले भने, ‘अनिल खुलेआम बजार घुमिरहेको छ । तर, प्रहरी मूकदर्शक बनेको छ ।’

बालिकाका आफन्तका अनुसार करणीमा परेकी भनिएकी बालिका हाल धनगढीस्थित महिला पुनःस्थापना केन्द्र (ओरेक) को सेफ हाउसमा रहेकी छन् ।

ती बालिकाका बुबा वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा छन् । बालिकाकी आमालाई आरोपित अनिल र उनका आफन्तले मुद्दा फिर्ता लिन दिनहुँजसो आर्थिक प्रभोलन देखाउने गरेको पीडित पक्षको भनाइ छ । गत आइतबार धनगढी आएका ती बालिकाका आफन्तले प्रहरीको असहयोगका कारण घटनामा संलग्न आरोपी अनिल खुलेआम हिँड्डुल गर्दै रहेको आरोप लगाएका छन् ।

यसैगरी, गत ३ माघका दिन कैलालीमै १३ वर्षीया बालिका करणीमा परिन् । करणीमा संलग्न भनिएका बर्दगोरिया गाउँपालिका (साबिक दोदोधरा गाविस) का पुष्प साउदले उनलाई चार दिनसम्म बौनियाँस्थित एक होटलमा राखेर करणी गरेको आफन्तको आरोप छ ।

चार दिनपछि राति १२ बजे ती बालिका सो होटलबाट भाग्न सफल भएपछि उनी आफन्तको सम्पर्कमा पुगेकी थिइन् । घटनापछि फरार रहेका आरोपी पुष्पलाई १३ फागुनमा इलाका प्रहरी कार्यालय सुख्खडले पक्राउ गरे पनि १५ फागुनमा अर्थात् दुई दिनमै ‘बालिका खोज्ने’ सर्तमा आफन्त शुभ साउदको जिम्मा लगाएर छाडेको पीडित बालिकाका आफन्तले बताए । १७ फागुनका दिन धनगढी उपमहानगरपालिका–५, हसनपुरका निर्मला शाहले ती बालिकालाई इलाका प्रहरी कार्यालयको सम्पर्कमा ल्याएपछि २४ फागुनमा ओरेकको सहयोगमा सो मुद्दा इलाका प्रहरी कार्यालय सुखडमा दर्ता भएको जनाइएको छ ।

प्रहरी कार्यालय सुख्खडमा मुद्दा दर्ता भएको झन्डै दुई साता बित्नै लाग्दा समेत प्रहरीले आरोपितलाई पक्राउ नगरेको पीडित बालिकाका आफन्तको गुनासो छ । जिल्लामा पछिल्ला दिनमा बालिका करणीका घट्ना बढिरहेको तर प्रहरी प्रशासनको असहयोगका कारण पीडक पक्षलाई कार्बाही हुन नसकेको महिला अधिकारकर्मी जमुना न्यूरेको गुनासो छ । करणी घटनाजस्तो जघन्य अपराधका आरोपीहरू फेला नपरेको भन्दै प्रहरी पन्छिने गरेको न्यूरेले बताइन् ।

इलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी नायव निरीक्षक शिव विष्टले घटना आप्mनो इलाकाभन्दा बाहिर रहेको र सम्बन्धित प्रहरी पोस्टमा बुभ्mदा आरोपी फरार रहेको भनेर खबर आएको बताए । आरोपितहरूको खोजी कार्य जारी रहेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता डीएसपी वीरबहादुर बुढामगरले आरोपितहरूलाई पक्राउ गर्न उनीहरू बस्ने सम्भावित ठाउ“मा प्रहरी टोली खटाउँदा पनि फेला नपरेको बताए । प्रवक्ता बुढामगरका अनुसार प्रहरी कार्यालयमा आर्थिक वर्ष २०७२÷०७३ मा १७ वटा करणीका र तीन करणी उद्योगका गरी २० मुद्दा दर्ता भएका छन् । चालू आर्थिक वर्षको फागुनसम्म मात्र १७ करणीका र सातवटा करणी उद्योगको मुद्दा दर्ता भएका छन् । जसमा १६ वर्षमुनिका १३ करणी र एक करणी उद्योगका मुद्दा रहेका छन् । डीएसपी बुढामगरले कैलालीमा पछिल्लो समय करणीका घटनामा बालिकाहरू पीडित भइरहेको स्वीकार गर्दै त्यस्ता घटनालाई निरुत्साहित गर्न अभिभावकलगायत सम्बन्धित निकाय आआफ्नो ठाउँबाट जागरुक हुनुपर्ने बताए ।