जीवनको आधार पानी

जीवनको आधार पानी

trichandra999

त्रिचन्द्र प्रतीक्षा

पानीको महŒवलाई सबैसामु छर्लङ पार्ने र स्वच्छ पानीका स्रोतको संरक्षण र दिगो विकासका लागि वकालत गर्ने अभिप्रायले सन् १९९३ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्षको २२ मार्चका दिन विश्व पानी दिवस मनाउँदै आइएको छ । ‘फोहोर पानी सफा गरौं’ भन्ने मूल नाराका साथ यो वर्ष २५औं विश्व पानी दिवस मनाउँदै छ ।
वैज्ञानिक तथ्यअनुसार पानी हाइड्रोजन र अक्सिजन मिलेर बन्ने एक यौगिक हो । यस यौगिकमा आयतनको हिसाबले हाइड्रोजन दुई भाग र अक्सिजन एक भाग हुन्छ । यी दुई ग्याँसको गुण एकदमै छुट्टाछुट्टै हुन्छ । सही रूपमाभन्दा शुद्ध अवस्थाको पानीको कुनै रङ, गन्ध र स्वाद हुँदैन । धर्तीमा पानीतुल्य अमृत अर्को के होला र ? विद्वान् पञ्चतŒववेत्ताहरूको अनुभवअनुसार पानीमा शीतलता, तरलता, हलुकापन एवं स्वच्छताजस्ता नैसर्गिक
गुणहरू हुन्छन् । प्रातःकाल बिहान पानी पिउनुलाई उषापान भनिन्छ । बिहान खाली पेटमा पिएको पानीले असाध्य प्रकृतिका पचासभन्दा बढी रोगविरुद्ध प्रत्यक्ष र परोक्ष फाइदा पु¥याउँछ । हृदयाघातको खतरामा समेत उषापान निकै प्रभावकारी सिद्ध भएको सत्यतथ्यको रहस्योद्घाटन अनुसन्धानकर्ता लोमा लिन्डा विश्वविद्यालयका अध्येताहरूले गरेका छन् ।
पानी आम रासायनिक पदार्थ हो, जुन मानवलाई जीवित रहन आवश्यक छ । मानिस खानाबिना एक सातासम्म बाँच्न सके पनि पानीबिना भने एक साताभन्दा बढी बाँच्न अप्ठ्यारो हुन्छ । एक वयस्क व्यक्तिको शरीरमा औसत ३५ देखि ४० लिटर पानी सधैं रहेको हुन्छ । प्रतिदिन हाम्रो शरीरबाट कमसेकम २.३ देखि २.८ लिटरसम्म पानी विभिन्न बाटो भएर बाहिर निस्केर जान्छ । जो व्यक्ति धेरै पानी पिउँदछ, त्यसको शरीरबाट प्रतिदिन मलमूत्र र पसिनाका रूपमा धेरै पानी शरीरबाट बाहिर निस्कन्छ, जसबाट रगतमा पानीको मात्रा कम हुन थाल्दछ । यस्तो हुनासाथ मस्तिष्कको जल आपूर्ति केन्द्र ‘हाइपोथैलेमस’ मा संकेत पुग्दछ र हामीलाई प्यास लाग्ने गर्दछ ।

शरीरका लागि आवश्यक पानीको मात्रा पूरा गर्न केवल पानी मात्र पिउनु आवश्यक छैन । यसका लागि धेरै पानीको मात्रा हुने फलपूmल तथा अन्य खानेकुरा खानुपर्छ।

पानी पिउनु एउटा बानी मात्र नभएर हाम्रो स्वास्थ्यका लागि अत्यावश्यक समेत हो । ‘हाम्रो शरीरले गर्ने जे काम पनि पानीको स्वस्थ आपूर्तिमै निर्भर हुन्छ ।’ वीर अस्पताल लिभर युनिटका प्रमुख एवं वरिष्ठ फिजिसियन डा. अनिलकुमार मिश्र भन्नुहुन्छ, ‘उचित मात्रामा दिनहुँ कीटाणुरहित स्वच्छ पानी पिउनाले जलअल्पता रोक्छ, शरीरको सफाइ हुनुका साथै घाउ भर्ने प्रक्रियासमेत तीव्र हुन्छ ।’ डा. मिश्रका अनुसार उच्च रक्तचाप, मुटुका रोगी र खुट्टाको तल्लो खण्ड सुन्निएका रोगीले भने बढी मात्रामा पानी पिउनबाट बच्नुपर्छ । तर, मिर्गौलालाई राम्ररी काम गर्न स्वस्थ व्यक्तिले नियमित अन्तरालमा बढी मात्रामा पानी पिउनुपर्छ । पानीले नाइट्रोजन, किटोन र युरियालाई हटाउनु सहयोग गर्छ । युरोलजिस्ट प्रा. डा. भोलाराज जोशी भन्नुहुन्छ, ‘मिर्गौलालाई सही रुपमा काम गर्न दिनहुँ पर्याप्त मात्रामा शुद्ध पानीको आवश्यकता हुन्छ ।’ विशेषगरी मिर्गाैला प्रत्यारोपण गरेकाहरूले भने बढी पानी पिउनु अघि चिकित्सकको परामर्श लिनुपर्छ ।
शरीरमा भएको पानीको मात्रा लिंग र स्वास्थ्य अनुसार घटी–बढी हुने गर्दछ । स्त्रीहरूको शरीरमा हरेक पुरुषहरूको तुलनामा पानीको मात्रा कम हुन्छ किनभने स्त्रीको शरीरमा यस्तो बोसो कोषिकाहरूको मात्रा अधिक हुन्छ, जसलाई पानी प्रिय लाग्दैन । एक जवान युवा पुरुषमा त्यसको कुल वजनको ६५ प्रतिशत पानी हुन्छ भने एक जवान स्त्रीको शरीरमा उसको कूल वजनको ५२ प्रतिशत मात्र पानी हुन्छ । त्यस्तै पानीको यो मात्रा पुरुषहरूमा ५४ देखि ७० प्रतिशत र स्त्रीहरूमा ४५ देखि ६० प्रतिशतको बीच पनि हुन सक्दछ । कमजोर व्यक्तिको शरीरमा पानीको मात्रा उसको कुल वजनको ७० प्रतिशत हुन सक्दछ । तथ्यांकअनुसार दिनहुँ हाम्रो शरीरबाट २.३ देखि २.८ लिटर पानी विभिन्न अंग हुँदै शरीरबाहिर निस्किन्छ । मिर्गाैलाबाट पिसाबको माध्यमले डेढ लिटर, दिसाको माध्यमले ०.१३ लिटर, छालाबाट पसिनाका रूपमा ०.६५ लिटर र सासको माध्यमले फोक्सोबाट ०.३२ लिटर पानी शरीरबाहिर जान्छ ।

मानव शरीरमा पानी दुई रूपमा रहेको हुन्छ । एक कोषिकाहरूको भित्र र दोस्रो कोषिकाहरूको बीचमा । शरीरमा रहेको कुल पानीको पाँचौं भाग त हाम्रो रगतमा हुन्छ । भिन्नभिन्न व्यक्तिहरूमा पानीको प्रतिशत अलग–अलग हुनुको कारण के हो भने जसको शरीरमा बोसोको मात्रा जति बढी हुन्छ, पानीको प्रतिशत त्यति नै कम हुने गर्दछ । यदि मानिसको शरीरमा भएको पानीको यस मात्रामा १२ प्रतिशतसम्म मात्र कमी भएमा त्यो व्यक्ति जीवित रहन सक्दैन । हेर्दा ठोस र कडा जस्तो लाग्ने हाम्रा हड्डीहरूमा २२ प्रतिशत, दाँतहरूमा १० प्रतिशत पानी हुन्छ । दाँतको कोषिकाहरूमा पानीको मात्रा सबैभन्दा कम हुन्छ । यसैले शरीरका अन्य भागहरूभन्दा दाँत कोषिकाहरू सर्वाधिक कडा हुन्छन् । हाम्रो छालामा २० प्रतिशत, मस्तिष्कमा ७४.५ प्रतिशत, मांसपेसीहरूमा ७५.६ प्रतिशत, दिसामा ८२.७ प्रतिशत र रगतमा ८३ प्रतिशत पानीको मात्रा हुन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार एक व्यक्तिलाई दिनहुँ न्यूनतम २.५ लिटर शुद्ध पानीको आवश्यकता पर्दछ । डब्लूएचओकै अनुसार स्वच्छ पानीले बर्सेनि १४ लाख बालबालिकाको झाडापखालाबाट हुने मृत्युबाट जोगाउँछ । गर्मी मौसममा हाम्रो शरीरलाई पानीको जरुरत बढ्ने गर्दछ, किनभने ती दिनमा पसिनाका रूपमा शरीरबाट बढी पानी निस्केर जान्छ । गर्मी मौसममा एक जवान व्यक्तिले प्रतिदिन लगभग चार लिटर पानी पिउनुपर्छ । गर्भवती महिलालाई पनि थप मात्रामा तरल पदार्थको जरुरत पर्दछ । गर्भवती महिलाको साथै जो महिला बच्चालाई स्तनपान गराउँछिन्, तिनलाई पनि आप्mनो शरीरमा दूधको पर्याप्त मात्रा बनाइराख्नका लागि पानी अथवा तरल पदार्थको बढी मात्रामा सेवन गर्नुपर्छ । यसबारे डब्लूएचओले भनेको छ, सामान्य व्यक्तिलाई आवश्यक पर्ने पानीको मात्रा उसको तौल र गतिविधिको स्तरमा निर्भर हुन्छ । शरीरको तौललाई ३० ले भाग गर्दा आएको भागफल नै ती व्यक्तिलाई एक दिनमा चाहिने आवश्यक पानीको मात्रा हो । जस्तै, ६० किलोग्राम तौल भएको व्यक्तिलाई दिनहुँ २ लिटर, ७५ किलो वजन भएका मानिसले २.५ लिटर पानी पिउनु आवश्यक छ ।
क्यालिफोर्नियाको लोमा लिन्डा विश्वविद्यालयमा गरिएको अनुसन्धानअनुसार दिनहुँ पाँच गिलासभन्दा बढी पानी पिउनेलाई हृदयघात वा मुटुको रोगले हुने खतरा दुई गिलासभन्दा कम पानी खानेभन्दा कम हुन्छ । यो अध्ययन २० हजारभन्दा बढी स्वस्थ महिला र पुरुषमा गरिएको थियो । यस्तै हाम्रो बढी पानी पिउने लतले स्वास्थ्यमा असर पु¥याउने मात्र होइन, कहिलेकाहीँ जीवनमाथि नै खतरा उत्पन्न गराउने खाले स्वास्थ्य समस्या निम्ताउन सक्ने चेतावनी विज्ञहरूको रहेको छ । सन् २००८ मा बेलायतकी एक महिलाले बढी पानी पिएकै कारण ज्यान गुमाएकी थिइन् । ४० वर्षकी ज्याकलिन हेल्सन नामकी ती महिलाले शरीरको वजन घटाउने नाममा केही घण्टाको अन्तरमै ४ देखि ६ लिटर पानी पिउने गर्थिन् । यसका कारण उनको शरीरमा पानीको विषाक्तीकरण भएर उनको ज्यान गयो । अत्याधिक बढी पानी पिउनाले शरीरमा लवणको असन्तुलन हुने, मिर्गौलामा बढी भार थपिने हुन्छ । यसका साथै कोषहरूमा भन्दा रगतमा आवश्यकताभन्दा कम लवण भएको खण्डमा मस्तिष्कको कोषिकाहरू फुलिन्छ । यसले टाउको दुख्ने र कतिपय अवस्थामा कोषिकाहरू फुटेर मानिसको ज्यानै जाने खतरा हुन्छ । यसलाई वाटर इन्टक्सिकेसन अर्थात् हाइपोन्याट्रेमिया भनिन्छ । बेलायतको लण्डनस्थित दी व्हिट्ली क्लिनिकका संस्थापक समेत रहेका विशेषज्ञ शल्यचिकित्सक तथा बढी पसिना आउने समस्या अर्थात् हाइपरहाइड्रोसिस विज्ञ प्राध्यापक डाक्टर मार्क व्हिट्लीका अनुसार बढी पानी पिउने मानिसहरूमा बढी पसिना निस्किने समस्या हुन्छ । धेरै पसिना निस्किने समस्या भएका मानिसको उपचारका लागि पसिना ग्रन्थी नै शल्यक्रिया गरी काटेर फ्याँक्नुपर्ने उनको अनुभव रहेको डेलीमेलले उल्लेख गरेको छ ।
विज्ञहरूको नयाँ मतअनुसार शरीरका लागि आवश्यक पानीको मात्रा पूरा गर्न केवल पानी मात्र पिउनु आवश्यक छैन । यसका लागि धेरै पानीको मात्रा हुने फलपूmल तथा अन्य खानेकुरा खानुपर्छ । शरीरमा २०÷२५ प्रतिशत पानीको पूर्ति हामीले खाने पानीजन्य तरल पदार्थबाट प्राप्त हुन्छ । यस्तोमा शुद्ध पानी मात्र नभई चिया, कफी, दूध, जुस, सागपात वा फलफूलमा हुने पानीको मात्रा समेत गणना हुन्छ । अतः पानी पिउने उपयुक्त बेला हो– खानाभन्दा एक घण्टाअघि र खानाभन्दा एक घण्टापछि । यसबाहेक, अन्य समयमा दिनभरि नै एकडेढ घण्टाको फरकमा एक–डेढ गिलास पानी सेवन गरिरहनु समग्र स्वास्थ्यका दृष्टिले अति लाभदायक मानिन्छ ।