आधुनिक पुस्ता र नयाँ सोचको विकास

आधुनिक पुस्ता र नयाँ सोचको विकास

ujol-khanal

 उज्ज्वल खनाल

 

विश्व इतिहासको कालखण्डमा पछिल्लो दुई दशकले २ हजार वर्षदेखि चलिआएका विश्वास र मान्यतामा निकै ठूलो हलचल देखाएको छ । व्यक्तिका मागहरू आधुनिक जीवनशैलीसँगै विस्तार भएका छन् साथै अपेक्षाका धरोहरहरू चुलिएका छन् । अधिकारवादी चिन्तनले कर्तव्यप्रतिको मूल्यलाई दोस्रो श्रेणीमा फालिदिएको छ । सामूहिकताबाट व्यक्तिवादिता तर्फको यात्रा गति तीव्र रूपमा चलेको देखिन्छ । केही आशा लाग्दा र रहर लाग्दा आयामहरू थपिएका छन् ।

 प्रविधिले निकै ठूलो फड्को मारिसकेको छ । व्यावसायिकताको संस्कार क्रमशःवयस्कतातिर उन्मुख छ । मान्छेले सुख, समृद्धि, शान्ति र सभ्यता एकैचोटि खोजेको छ । कुनै पनि विकसित देशको विकासको गतिलाई नियाल्ने हो भने विज्ञान र प्रविधि एउटा महŒवपूर्ण पाटोका रूपमा आउँछ । विकसित राष्ट्रमा राज्यले अध्ययन अनुसन्धानका लागि ठूलो लगानी गरेका हुन्छन् । हामी कुन अवस्थामा छौं, यो तुलनाको विषय होइन । तर, प्रस्ट छ, हामी यो क्षेत्रमा धेरै पछि छौं । शताब्दियौं । यसको अर्थ यो पनि होइन, हामी कमजोर छौं । नेपालीहरूसँग सामथ्र्य छ तर मुलुकमा अवसर शून्य छ । लगानीका मार्गहरू शून्य छन् । हामीले इतिहासमा रचेका संरचनाहरू जुन प्राविधिक रूपमा अत्यन्तै वैज्ञानिक छन्, त्यसकै प्रतिलिपिसमेत बनाउन सकेका छैनांै । त्यसभित्र रहेका गहन रहस्यहरूसमेत बुझ्न सकेका छैनौं । हामीले हाम्रा शैलीहरू विर्षँदै गएका छौं आधुनिकताका नाममा । यो नेपालीहरूकोे कमजोरी हो वा भनौं राज्यकै कमजोरी हो, प्रश्न जटिल बन्दै गइरहेको छ । तर, मुलुक हाक्नेहरूमा यस्ता कुराहरूको चेतना भइदियो भने केही हदसम्म हामी र हाम्रा पिढीले केही सुविस्ता पाउने थिए कि ?

अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा कमाइरहेका र अब्बल बन्दै गइरहेका नेपाली प्रतिभाहरूको उदाहरण प्रशस्तै छन् । ती प्रतिभाहरू मुलुकमा किन रहन सकेनन् ? उनीहरूको क्षमतालाई मुलुकले किन उपयोग गर्न सकेन ? यी प्रश्न गम्भीर सोचको विषय बन्दै गएको छ । अझ कटाक्ष्य गर्दै भनिन्छ, उनीहरू नेपालबाटै पलायन भएका हुन् । के उनीहरूमा देशप्रति माया र जिम्वेवारपन नै छैन त ? के उनीहरू राष्ट्रप्रति उत्तरदायी नभएकै हुन् त ? बर्सेनि लाखौं युवाहरूले देश छाड्छन् कोही श्रम गर्न खाडी मुलुकतिर त कोही उच्च शिक्षाका लागि युरोप वा अमेरिकासम्म । उनीहरूको उद्देश्य हुन्छ, आर्थिक समृद्धि र उच्च ज्ञान हासिल गर्ने । यो लेखकलाई यस्तो लाग्छ, देशको कमजोर आर्थिक अवस्था, अवसरको अभावमा उनीहरू बिदेसिएका हन् तर विदेसिनु रहर होइन बाध्यता हो । र तीतो यथार्थ यो पनि हो कि खाडी मुलुकको परिश्रमले धेरै हदसम्म हाम्रो मुलुकको अर्थतन्त्र धानिएको पनि छ ? र, यो पनि सत्य हो कि असंख्य दक्ष जनशक्ति मुलुकबाहिर नै रहेका छन् । मुलुकमा एक थरी यस्ता मानिसको जमात पनि छ कि जो दक्ष जनशक्तिको प्रवेश नै रुचाउँदैनन्, किनभने आफ्नो भाग खोसिने डर छ, उनीहरूमा ।

हामीकहाँ यस्तो परम्पराले डेरा जमाइसक्यो कि जो चलाख छ कलेजको प्रारम्भिक चरण पूरा नगर्दै मुलुक छाड्छ । यस्तो जनशक्ति मुलुकको आसलाग्दो भविष्य पनि हो । दोस्रो जनशक्ति मुलुकमै उच्च शिक्षा लिन्छ, तर अस्थिर राजनीति, अवसरको अभाव र बिग्रँदो वातावरणले निराश भएर मुलुक छाड्न बाध्य हुन्छ । अन्ततः निष्क्रिय जनशक्ति र केही देशप्रेमी र देशमै अवसर पाएकाहरू, कम मेहनतमा विश्वास गरी अवसरको ताला चाबी आफंैसँग राखेको हुन्छ उही नै सक्रिय विज्ञ बन्छ र मुलुकको नेतृत्वकर्ता पनि ऊ आफैं नै बन्छ । अर्को एक जमात जो आर्थिक रूपमा मजबुत छ, मुलुकको विकासमा सहभागी हुन चाहन्छ तर उसको लगानीमा ¥याल काड्नेहरू, फितलो सरकारी नीति, ढीलासुस्तीले लगानीमा असुरक्षा हुने देखेपछि उनीहरूमा पनि निष्कियता देखिएको छ । र, निराश भएर उनीहरू मौन रहन्छन् कि पलायन हुन पुग्छन् ।

आर्थिक सम्प्रभुता समाजको प्रतिष्ठित नागरिकको हैसियत बनिसकेको छ । रुपैयाँ जोसँग छ, ऊ नै समाजको सभ्य र प्रतिष्ठित नागरिक बन्ने भयो । यसैले पहिले ज्ञान र दक्षता हासिलतर्फ उत्प्रेरणा गर्नुको साटो युवावर्गलाई पैसामुखी बनाउन हाम्रै परिवार र समाजले भूमिका खेलेको छ ।

विद्यालय होस् वा विश्वविद्यालय नै किन नहोस् गुरु र चेलाहरूबीच हुने व्यावहारिक नाता पनि कमजोर नै देखिन्छ, त्यसमा पनि यी दुईबीच आदर र मान सम्मानको सम्बन्ध निमिट्यान्न प्राय भएको छ । न गुरुहरूप्रति सद्भाव छ, न कुनै व्यावसायिक नैतिकता मजबुत छ, न त पेसाप्रति इमानदारिता नै छ केही पुस्ताहरूबाहेक । त्यसैले यहाँ अध्ययन र अनुसन्धानको माहोल नाजुक बन्दै गइरहेको छ । प्रयोगात्मक ज्ञान त परै जाओस् सैद्धान्तिक ज्ञान पनि पुरातन छ, त्यो पनि व्यवस्थित रूपमा निश्चित समयमा पूरा हुँदैन । यसको कारक तत्व भनेको आर्थीक अभाव, कुसल नेतृत्वको अभाव, राजनीतिको खराब प्रयोग, अनुशासनहीनता, विकृत वातावरण, पेसाप्रतिको बेइमानी आदि नै मूल हुन् ।

प्राकृतिक विपत्तिले देश तहसनहस बनाएको अवस्था छ, दुई वर्ष बितिसक्दा पनि सरकार पुनर्निर्माण र जनतालाई राहत दिन कन्जुस्याइँ गरिरहेको छ । विपत्तिपीडित नेपाली जनताहरूले अझै बेवस्थित बसाइ पाएका छैनन् । यो जटिल परिस्थितिमा हातेमालो गरेर मुलुकको पुनर्निर्माणमा जुट्नुपर्ने बेलामा राजनीतिक खिचातानीमा देश फँसेको देख्दा नेपाली राजनीतिको विश्व समुदायमा कस्तो सन्देश गइरहेको होला मुलुक हाँक्नेहरूप्रति यो लेखकको प्रश्न ?

नेपाल एक भूपरिबेष्ठित राष्ट्र हो । जल, स्थल र हिमालय क्षेत्रमा प्रकोपको निरन्तर प्रक्रिया चली नै रहेको छ । चली नै रहन्छ पनि । जे पर्ला, त्यही टर्ला भनेर बस्ने बेला पनि होइन । यसको वैज्ञानिक रूपमा पूर्व तयारी आवश्यक छ । तयारीविनाको फल हामीले भोगिरहेका छौं र अब कहिलेसम्म अकाल जीवनको मृत्युको पर्खाइमा बसिरने ?

अन्ततः मुलुकमा भएका अवसर र लगानीलाई प्राथमिकतामा राखेर मुलुकबाहिर रहेका दक्ष जनशक्तिलाई भिœयाउने प्रयत्न गरी उनीहरूको दक्षता र क्षमताअनुसार राष्ट्रमै रहन सक्ने वातावरण मिलाउन सके मुलुक नयाँ गतिमा अगाडि बढ्न सक्छ, यसमा मुलुक हाँक्ने नेतृत्वकर्ताहरूले गम्भीर भएर सोच्ने बेला आएको छ ।