राजनीति, रामेश्वर र रवीन्द्र

राजनीति, रामेश्वर र रवीन्द्र

binod-nepal-7

विनोद नेपाल

अन्ततः निष्कलंक छविका पूर्वप्रशासक रामेश्वर खनालले यो स्वीकार गर्न पुगे कि राजनीति उनको क्षमताको विषय होइन अर्थात् उनी राजनीति गर्नका लागि सक्षम छैनन् । बडो उत्साहका साथ राजनीतिमा प्रवेश गरेका उनले पहिलो दल छाडी दोस्रो दलमा प्रवेश गरेपछि बल्ल यो कुरा बुझे । कुनै एक क्षेत्रमा सफल भएको व्यक्ति हरेक क्षेत्रमा सफल हुन्छ भन्ने हँुदैन । यसैले राजनीतिमा रामेश्वर असफल भए, सायद यसैले उनले अब आफूले राजनीति नगर्ने घोषणा पनि गरेका छन् ।

विभागीय मन्त्रीको कार्यशैलीप्रति असन्तुष्टिको कारण पद नै त्याग्ने सचिव विरलै पाइन्छन् । रामेश्वर यसका उदाहरण हुन् । मन्त्रीहरूको जी हजुरी गरेर बहाल रहेकै अवस्थामा आकर्षक स्थान पाउने र निवृत्तिपश्चात् पनि राम्रै अवसर हत्याउने प्रशासकहरूकै बाहुल्य भएको हाम्रो कर्मचारीतन्त्रमा उनीजस्ता प्रशासक पाउनु आफैंमा दुर्लभ विषय हो । उनको प्रशासनिक छवि र खुबी उदाहरणीय र अनुकरणीय थियो । उनीमाथि कुनै पनि सन्दर्भमा कसैले औंला ठड्याउन सक्दैनथ्यो । तर, राजीनामा दिएपछिका अवधिको समग्र मूल्यांकन गर्दा भने त्यति लामो सेवा अवधिमा उनले कसरी काम गरे होलान् ? भन्ने प्रश्न उठ्छ ।

खासगरी राजनीतिमा प्रवेश गरेपश्चात् उनले देखाएको अपरिपक्वता एकप्रकारले भन्नुपर्दा उनको प्रशासनिक अनुभव र क्षमतासँग सुहाउने खालको पाइँदैन । एकदमै अस्थिर, वचनका कच्चा, अडानमा रहन नसक्ने र के गरौं र कसो गरौंको द्विविधा,अनिर्णय, अनिश्चय र वेचैनी मात्र देखिन्छ । यसैले एकपछि अर्को गलत निर्णय लिएको महसुस हुन्छ । प्रारम्भमा उनले नेपाली कांग्रेसमा प्रवेश गरे । त्यसपछि मनोनीत नहुने, कुनै सरकारी नियुक्तिमा नजाने, सरकारी सुविधा नलिने भन्दाभन्दै प्रधानमन्त्री बाबुराम भट्टराईका सल्लाहकार बने । सुशील कोइरालाको पालामा सरकारी नियुक्ति लिएर राष्ट्रपति चुरे अभियानतिर हामफाले । एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सरकार गठन भएको केही समयपछि उक्त पद त्यागे र मुलुकका लागि नयाँ शक्तिको आवश्यकता रहेको भन्दै पूर्वप्रधानमन्त्री भट्टराईको ‘नयाँ शक्ति’ मा पुगे । माओवादी परित्याग गरेर गठन गरेको बाबुरामको नयाँ शक्ति भित्रको यथार्थ बुझेपछि र त्यसको संगठन नबन्दै भत्कन र छिन्नभिन्न हुन थालेपछि फेरि उनी त्यसबाट बाहिरिए । यसरी, एउटा सफल प्रशासकले यति लामो समयको अलमलपछि राजनीति आफ्नो बुताको विषय रहेछ भन्ने बुझे ।

एउटा पूर्व प्रशासक जससँग शैक्षिक योग्यता छ, लामो प्रशासनिक अनुभव छ र नेताहरूसँगको उठबस सम्पर्क र सम्बन्ध छ उनले यसरी हार खानु आफैंमा अनौठो हो । किनकि, उनी नजानेर होइन, जानाजान नै राजनीतिमा हामफालेका हुन् । कसैप्रतिको असन्तुष्टिले आफैं राजनीतिमा होमिन पुगेका हुन् तर यताबाट उता र उताबाट यता गर्दा उनी अलपत्र पर्न पुगेका छन् । यी एक उदाहरण मात्र हुन् । हाम्रा निवृत्त प्रशासकहरू धेरैले राजनीतिको बाटो लिएका छन् । त्यता लागेका छन् । दलको सदस्यता लिने र पदसमेत लिने गरेका पनि छन् । तर, अधिकांशको अवस्था हेर्दा उनीहरूले संरक्षण खोज्नका लागि राजनीतिको बाटो रोजेको महसुस हुन्छ । तर, खनालले त्यस्तो अपेक्षा गरेका पनि होइनन् ।

नेपालमा मात्र होइन विदेशी मुलुकहरूमा पनि विभिन्न क्षेत्रमा ख्याति कमाएकाहरूले बेलाबखत राजनीतिमा प्रवेश गर्ने गरेका छन् । वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसका पछिल्ला उदाहरण हुन् जो कुनै राजनीतिज्ञ होइनन्, उनी विश्वचर्चित धनाढ्य व्यापारी हुन् । नेपालमा पनि बेलाबेलामा राजनीति इतर क्षेत्रका व्यक्तिहरू राजनीतिमा प्रवेश गर्ने गरेका छन् । पछिल्लो समय नाम चलेका कलाकार, पत्रकार आदिले पनि राजनीतिमा हामफालेका छन् । केही समयअघि केही चलचित्रकर्मी नायिकाहरू, गायिका र सञ्चारकर्मी र हालसालै मात्र रवीन्द्र मिश्र राजनीतिमा होमिएका छन् । मिश्रले ‘साझा पार्टी’ नै खोलेका छन् । त्यसको संगठन गर्दै छन् । मिश्र धेरै नेपालीका प्रिय सञ्चारकर्मी हुन् । उनी रेडियोमा अन्तर्वार्ता आदिमा प्रश्न सोध्ने शैली तथा प्रभावशाली प्रस्तुतिका कारण प्रिय भएका हुन् । यसैले, यतिखेर उनको पक्षमा लहर नै आएजस्तो देखिन्छ । तर, त्यो खास समूह मात्र हो । आम मानिससम्म उनको पहिचान पुग्न लामो समय लाग्नेछ । यसैले तत्कालै धेरै केही भइहाल्ला भन्ने अपेक्षा गर्नु व्यर्थ हो ।

समाज परिवर्तनको काम अत्यन्त नै कठिन हुन्छ। स्थापित परम्परा, प्रचलन र हिजोदेखिका थिति मान्यतामा परिवर्तन ल्याउनु कठिन कार्य हो। आफू कुनै एक क्षेत्रमा सफल वा चर्चित भइयो भन्दैमा जहा“ पुग्यो त्यहीं सफल हुन सकिन्छ भन्ने सोच आफैंमा गलत हो । यसैले एक क्षेत्रबाट अर्को क्षेत्रमा हाम फाल्नु एकातिर साहस गर्नु र अर्कोतिर जोखिम लिनु पनि हो ।

हाम्रो राजनीति फोहरी र गैरजिम्मेवार छ । जनताप्रति उत्तरदायी र देशको भलो चिताउनेभन्दा पनि व्यक्तिगत स्वार्थप्रति केन्द्रित छ । विचार, सिद्धान्त, मान्यता र आदर्शभन्दा पनि कसरी ओहदा हत्याउन पाइन्छ र राज्यको ढुकुटीमा हालीमुहाली चलाउन पाइन्छ भन्ने ध्येय मात्र हाम्रा नेताहरूमा छ । यसैले, यसप्रतिको आम भरोसा र विश्वास खस्कँदो छ । तर, विडम्बना तिनै व्यक्ति पटकपटक निर्वाचित भएका छन्, नेतृत्व र ओहदामा पुगेका छन् । उपयुक्त विकल्प नभएका कारण नै यसो भएको हो ।

नेपालको राजनीतिमा नैतिकता र विश्वासको संकट छ । गणतन्त्रात्मक संविधान जारी भइसके पनि यसको कार्यान्वयनमा अवरोध कायम छ । संविधान जारी भइसके पनि एकदशक देखिको संक्रमणको अन्त्य हुन सकेको छैन । मुलुकले संक्रमणबाट मुक्त हुने दिन अनिश्चित नै छ, राजनीति नैतिकहीन, विकृत र अवसरवादी भएको छ । यसमा शुद्धीकरणको खाँचो छ । मूल्य, मान्यता र आदर्श तथा देश र जनताप्रति जिम्मेवार र उत्तरदायी राजनीतिले मात्र मुलुकको उन्नति प्रगति सम्भव छ । पटकपटक उनै व्यक्ति निर्वाचित हुने, उनै सत्तामा पुग्ने र हाली मुहाली गर्ने क्रमले निरन्तरता पाइरहेको तथा पात्र र प्रवृत्ति परिवर्तन नहुँदा अनेक किसिमका संकट र उनै खाले विकृति विसंगति दोहोरिइरहेका छन् । घटनाक्रमबाट नसक्ने र नचेत्ने नेतृत्वका कारण आम जनतामा राजनीतिप्रति वितृष्णा बढ्दो छ । यो प्रवृत्तिमा सुधार नआएसम्म देश र जनताका लागि विचारको राजनीति नगरिएसम्म मुलुकको अवस्थामा सुधार हुनेछैन । यस्तो अवस्थामा गलत निर्णय लिने र गलत काम गर्नेहरूका विरुद्ध सशक्त ढंगमा उत्रने शक्ति चाहिएको छ ।

समाज परिवर्तनको काम अत्यन्त नै कठिन हुन्छ । स्थापित परम्परा, प्रचलन र हिजोदेखिका थिति मान्यतामा परिवर्तन ल्याउनु कठिन कार्य हो । आफू कुनै एक क्षेत्रमा सफल वा चर्चित भइयो भन्दैमा जहाँ पुग्यो त्यहीँ सफल हुन सकिन्छ भन्ने सोच आफैंमा गलत हो । यसैले एक क्षेत्रबाट अर्को क्षेत्रमा हामफाल्नु एकातिर साहस गर्नु र अर्कोतिर जोखिम लिनु पनि हो । संगठन गर्नु र कुर्सीमा बसेर काम गर्नु, जनमत जुटाउनु र चलचित्रमा विभिन्न हाउभाउमा कला प्रदर्शन देखाउनु, सुन्दरता पस्कनु, वा सञ्चारमाध्यममा बोली, भाषा वा प्रस्तुति शैलीका कारण सफल र चर्चित रहनुले राजनीतिमा प्रवेश गर्दा पनि त्यही स्थान प्राप्त हुन्छ, त्यही सफलता प्राप्त हुन्छ समर्थकहरू उत्तिकै हुन्छन् भन्ने ठान्नु गलत हो, भ्रम मात्र हो ।

राजनीतिको रहर गरे पनि राजनीतिइतर क्षेत्रबाट राजनीतिमा हामफाल्नेहरू त्यतातिर पुगेपछि अलपत्र पर्ने र फर्केर आफ्नै क्षेत्रमा आउने गरेका पनि थुप्रै उदाहरण पाइन्छन् । राजनीतिको क्षेत्र, त्यहाँको षडयन्त्र र अनेक किसिमका खेल र तिकडम नबुझेसम्म त्यहाँ मिल्न सकिँदैन आदर्श जेसुकै किन नहोस् हाम्रो राजनीति फोहरी छ । त्यहाँ स्वार्थको खेल हुन्छ, षडयन्त्र हुन्छ । यसैले विद्वान, बुद्धिजीवी र चर्चित व्यक्तिहरूले यो भ्रम त्याग्नुपर्छ कि आफू क्रियाशील क्षेत्रमा प्राप्त सफलता वा भएको चर्चाले कमाएको प्रतिष्ठाले मात्र राजनीतिमा सफल हुन सकिँदैन । त्यस्तो छविले राजनीतिमा निकै काम मात्र काम गर्छ । त्यहाँ पुगेपछि शून्यबाटै यात्रा प्रारम्भ गर्नु र उचाई लिनु पर्छ । यसो हुन सकेमा जानुपूर्व नै विचार गरिने र पछि पछुताउनुपर्ने अवस्था पनि आउँदैन ।

समग्रमा, रामेश्वरले राजनीतिबाट हरेस खाएको बुझिन्छ भने रवीन्द्रले नयाँ जोशका साथ आफूलाई अघि सारेका छन् । उनी कुनै दलमा प्रवेश नगरी आफंैले दल गठन गर्दै छन् । यसले मिश्रबाट केही अपेक्षा गर्न सकिन्छ । तर, देश यही हो, नेता जनता यिनै हुन्, चरित्र र प्रवृत्ति यही हो भने यही परिवेशमा यही समाजभित्रबाट निस्केका उनले राजनीतिमा गरी खालान् वा थाकेर आत्मसमर्पण गर्लान् त्यो भने भविष्यकै गर्भमा छ । तर, हौसिएका रवीन्द्रले राजनीतिक नेतृत्वप्रतिको असन्तुष्टिको लाभ लिन र सफल हुन सक्दो प्रयास गर्नुपर्नेछ ।