सिरियामा सेना र विद्रोहीबीच युद्ध चर्कियो

दमास्कस / एजेन्सी– सिरियाको राजधानी दमास्कसको बाहिरी इलाकामा राष्ट्रपति बसर अल असदका सैनिक र विद्रोहीबीच भीषण संघर्ष सुरु भएको छ । विद्रोहीले अचानक हमला सुरु गरेपछि सरकारी सेनाले समेत त्यसको प्रतिकार गरेको हो ।

सरकारी सेनाले विद्रोहीको हमलापछि हवाई आक्रमण गर्नुका साथै विद्रोहीविरुद्धको कारबाहीलाई तीव्र पारेपछि केही समयदेखि शान्त रहँदै आएको सिरियामा पुनः युद्ध चर्किने खतरा देखिएको छ ।

प्रत्यक्षदर्शीले सरकारी प्रतिरक्षा पंक्तिलाई तोड्नुभन्दा अघि चरमपन्थीले जोबार जिल्लामा दुई आत्मघाती कारबम विस्फोट गराएका थिए । सरकारी सेनाले यो हमलाको जवाफ हवाई हमलाले दिएको हो ।

सिरियाली सरकारी सञ्चारमाध्यमले जोबारमा हमलाका क्रममा जमिनमुनिको सुरुङको समेत प्रयोग गरेको जनाएका छन् । दमास्कसमा विपक्षीको कब्जामा रहेको केही इलाका जोबार सिटी सेन्टरनजिक रहेका छन् ।

सिरियामा पछिल्ला ६ वर्षदेखि जारी युद्धका क्रममा दुई वर्षभन्दा अघिदेखि युद्धप्रभावित क्षेत्रमा आफ्नो नियन्त्रणलाई लिएर सरकार र विद्रोहीबीच संघर्ष जारी छ । संघर्षका क्रममा सिरियामा इस्लामिक अतिवादी संगठनहरू हाबी हुँदै गएका छन् ।

दमास्कसमा सेनाले सामरिक रूपमा महŒवपूर्ण अब्बासी चौराहेसम्म पुग्ने बाटो बन्द गरिदिएको थियो । त्यसलगत्तै विस्फोटको आवाज सुनिएको थियो ।

बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले विद्रोहीले बारजेह, तिसरिन र काबुन जिल्लामा सरकारी सेनाको आक्रमणबाट आफ्ना लडाकुलाई सुरक्षित बनाउनका लागि आक्रमणको सुरुवात गरेको दाबी गरेको छ । गत बुधबार दमास्कसको मुख्य अदालत परिसरमा भएको आत्मघाती बम आक्रमणमा कम्तीमा पनि ३१ जनाको मृत्यु भएको थियो ।

त्यसलगत्तै अन्य एक आत्मघाती हमलाकारीले पश्चिमी जिल्ला रबवेहको एक रेस्टुरेन्टमा आक्रमण गर्दा २० भन्दा बढी घाइते भएका थिए । यो हमला सिरियामा राष्ट्रपति बसर अल असदविरुद्ध आन्दोलन सुरु भएको ६ वर्ष पुगेको अवसरमा भएको हो । अल कायदा आतंककारी समूहसँग सम्बन्धित फतेह अल साम फन्टले आइतबार जोबारस्थित सरकारी क्षेत्रहरूलाई लक्ष्य गरी आक्रमण गरेको जनाइएको छ ।

सिरियामा सन् २०११ को मार्च १५ मा राष्ट्रपति बसार अल असादको राजीनामाको माग गर्दै सुरु भएको आन्दोलन केही समय पछाडि गृहयुद्धमा परिणत भएको थियो । सो गृहयुद्धमा आतंककारी समूह अल कायदा र इस्लामिक स्टेट (आईएस) को प्रभाव बढ्दै गएको छ । सिरियामा जारी यस युद्धमा परी हालसम्म ३ लाख २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने लाखौं घाइते तथा विस्थापित भएका छन् ।