२९ मार्चबाट बेलायत ईयूबाट बाहिरिने प्रक्रिया सुरु हुने

एजेन्सी

लन्डन, ७ चैत

बेलायतले यही मार्च २९ देखि युरोपेली संघ (ईयू) बाट बाहिरिने प्रक्रिया सुरु हुने भएको छ । बेलायती प्रधानमन्त्री थेरेसा मेका प्रवक्ताले आगामी बुधबारबाट यससम्बन्धी सन्धिको धारा ५० का अनुसार ईयू छाड्ने प्रक्रिया सुरु हुने जनाएका छन् ।

brexit_flag

बेलायती प्रधानमन्त्रीको कार्यालयले अब युरोपेली संघमा बाँकी रहने २७ देशलाई चिठी लेख्ने जनाएको छ । यसपछि बेलायतसँग दुई वर्षको छलफलको समय हुनेछ, जुन अवधिमा उसले ईयूबाट बाहिर निस्कने सर्तमाथि सदस्य राष्ट्रहरूसँग छलफल गर्नेछ ।

बेलायतले जनमतसंग्रहबाट ईयूबाट बाहिरिने पक्षमा अभिमत आएको नौ महिनापछि ब्रेक्जिटको कार्यान्वयनको प्रक्रिया सुरु गर्न लागेको हो । जनमतसंग्रहमा बेलायतले ईयू छाड्नुपर्ने पक्षमा ५१.९ प्रतिशत भोट परेको थियो भने त्यसको विपक्षमा ४८.१ प्रतिशत मत परेको थियो ।

ईयूबाट बाहिरिने बारेमा लिस्वन सन्धिको धारा ५० का अनुसार बेलायतले आधिकारिक रूपमा युरोपेली संघबाट अलग हुनेबारे कुरा नराखेसम्म सर्त र भविष्यको सम्बन्धबारे छलफल हुन सक्दैन ।

आगामी साताबाट सुरु हुने ब्रेक्जिटको प्रक्रिया ठीक ढंगले सञ्चालन भएमा आगामी सन् २०१९ को मार्चसम्ममा बेलायत औपचारिक रूपमा ईयूबाट बाहिरिन सक्नेछ । बहिर्गमन प्रक्रियालाई औपचारिक रूपमा यही मार्च २९ मा सुरु गरी कम्तीमा दुई वर्षभित्र बहिर्गमनका महŒवपूर्ण मुद्दाहरूलाई छलफलद्वारा टुंग्याइने लक्ष्य तय गरेको ईयूका लागि बेलायतका राजदूत टिम ब्यारोले युरोपियन काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कसँगको भेटमा बताएका हुन् ।

बेलायतकी प्रधानमन्त्री थेरेसा मेले लिस्बन सम्झौताको धारा नं. ५० लाई कार्यान्वयनका लागि लैजान एक पत्रमार्फत जानकारी गराउने राजदूत ब्यारोले जानकारी दिए । बेलायती प्रधानमन्त्रीको कार्यालयले आधिकारीक सूचनापछि बाँकी २७ सदस्य राष्ट्रले आफ्ना सर्तमाथि सहमति दिने र ४८ घण्टामा प्रतिक्रिया दिने आशा व्यक्त गरेको छ । सरकारका प्रवक्ताले सरकार छिटोभन्दा छिटो छलफलको प्रक्रियालाई सुरु गर्ने चाहना राखेको जनाएको छ, तर सदस्य देशले आफ्नो स्थिति तय गर्ने समय पाउनुपर्नेछ ।

प्रधानमन्त्री थेरेसा मेले गत वर्ष नै मार्च महिनाबाट ब्रेक्जिटको अधिसूचना जारी गर्ने बताएकी थिइन् । ईयूका प्रवक्ताले आफूहरू तयारी र पत्रको प्रतीक्षामा रहेको बताएका छन् । बेलायतका ब्रेक्जिट मन्त्री डेभिड डेभिसले बेलायतको यो पुस्ताका लागि ब्रेक्जिट महŒवपूर्ण रहेको बताएका छन् ।

‘हामी यस युगका बेलायती नागरिकका महŒवपूर्ण मुद्दाका सीमाबारे सम्झौता गर्दै छौं,’ ब्रेक्जिट प्रक्रियाका लागि मन्त्री डेभिड डेभिसले भने, ‘सरकार आफ्नो दिशा (लक्ष्य) बारे प्रस्ट छ । सम्झौताले संयुक्त अधिराज्य (यूके) का सबै राज्य र क्षेत्रका साथसाथै सम्पूर्ण युरोपेली मुलुकसँगको सम्बन्धबारे प्रस्ट पार्नेछ ।’

गत वर्षको २३ जुनमा भएको जनमतसंग्रहमा अप्रत्यासित रूपमा बेलायत ईयूबाट बाहिरिने पक्षमा जनमत गएको थियो । जनमतसंग्रहको परिणाम विपक्षमा गएपछि तत्कालीन बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले पदबाट राजीनामा दिएका थिए ।

क्यामरुनको राजीनामापछि ब्रेक्जिटलाई कार्यान्वयन गर्ने मुख्य चुनौतीसहित क्यामरुन मन्त्रिपरिषद्कै गृहमन्त्री थेरेसा मे बेलायती प्रधानमन्त्री बनेकी हुन् । उनले आफू प्रधानमन्त्री भएलगत्तै प्रक्रियालाई अघि बढाउने बताए पनि व्यावहारिक रूपमा प्रक्रिया सुरु हुन सकेको थिएन । ईयूबाट बेलायत बाहिरिएपछि २७ सदस्य मात्रै बाँकी रहनेछन् ।