मेसीको दुई गोलमा बार्सिलोना विजयी,रियलमाथिको दबाब कायमै

म्याड्रिड / एजेन्सी– बार्सिलोनाको घरेलु मैदानमा भएको स्पेनिस लालिगा भिडन्तमा बार्सिलोना ४–२ ले विजयी भएको छ । पहिलो हाफमा २–२ को बराबरीमा रोकिएको बार्सिलोनाका लागि दोस्रो हाफमा मेसी र आद्रेयी गोमेजले गोल गरेपछि सहज जित निक्लियो । जितसँगै शीर्ष स्थानको रियल म्याड्रिडमाथिको दबाब कायमै राख्न बार्सिलोना सफल भयो ।

barca

बार्सिलोनालाई स्तब्ध पार्ने क्रममा पहिलो हाफको २९औं मिनेटमा म्यानचेस्टर सिटीबाट ऋण सम्झौतामा आएका इलियाकुइम मानगालाले इभान राकिटिक र सर्जियो बस्क्युटको बीचबाट हेडिङ गर्दै भ्रमणकारी टोलीलाई पहिलो गोलको सफलता दिलाएका थिए ।

तर, बार्सिलोना पहिलो गोल खाएको ६ मिनेटपछि नै खेलमा फर्कियो । ३५ मिनेटमा लुइस स्वारेजले ब्राजिलियन स्ट्राइकर नेयमारको पासलाई सदुपयोग गरेपछि घरेलु टोली तुरुन्त खेलमा फर्किएको थियो ।

भ्यालेन्सिया पहिलो हाफको खेल सकिन एक मिनेट बाँकी हुँदा नराम्रो झट्का लागेको थियो । जब उसले पहिलो गोल गर्ने मानगालालाई गुमायो । मानगाला ४४ मिनेटमा सुआरेजलाई डिबक्स भित्र लडाएको आरोपमा दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । उनको सामान्य गल्तीका कारण बार्सिलोनाले पेनाल्टीको अवसर पायो । जसलाई मेसीले गोलमा परिणत गरे । मानगाला ३९औं मिनेटमा पनि मेसीसँग विवाद गर्न पुगेका थिए जसका कारण उनलाई पहिले नै पहेंलो कार्ड देखाइएको थियो ।

पहिलो हाफमा भ्यालेन्सियाले मानगालालाई गुमाए पनि उसले उत्कृष्ट प्रतिद्वन्दीविरुद्ध पहिलो हाफको अतिरिक्त समयमा गोल फर्काउन सफल भयो । भ्यालेन्सियाका लागि बराबरी गोल मुनिर अल हाद्दादीले गरे । उनले बार्सिलोनाको फितलो रक्षापंक्तिको फाइदा उठाउँदै गोल गर्न सफल भए ।

 दोस्रो हाफपछि बार्सिलोनाले आप्mनो खेलमा निकै सुधार ल्यायो । उसले रक्षापंक्ति मात्र होइन, आक्रमणलाई पनि तीव्र बनायो । नेयमार दोस्रो हाफपछि सबैभन्दा बढी प्रभावशाली रहे । दोस्रो हाफको ८ मिनेटपछि नै मेसीले बार्सिलोनालाई पुनः अग्रता दिलाए । उनले आप्mनै देशका डिफेन्डर जाभियर मास्चेरानोको पासलाई गोलमा परिणत गरे । मेसीको गोलका कारण ५३ मिनेटमा बार्सिलोनाले ३–२ को अग्रता बनाएको थियो ।

चौथो गोल गोमेजले नेयमारको उत्कृष्ट पासमा गरेका थिए । नेयमारले मैदानको मध्य भागबाट दौड्याउँदै डिबक्सभित्रबाट क्रस गरेको बललाई अतिरिक्त खेलाडीका रूपमा खेलेका गोमेजले ८९ मिनेटमा गोल गरेका थिए । उनी ७४ मिनेटमा राफिन्हाको स्थानमा मैदानमा प्रवेश गरेका थिए ।

भ्यालेन्सिया मानगालाको अनुपस्थितिमा ४६ मिनेट १० खेलाडीमा सीमिति भएर खेलेको थियो । भ्यालेन्सियाविरुद्धको जितपछि बार्सिलोना स्पेनिस लालिगाको अंक तालिकामा रियल म्याड्रिडसँग २ अंकको दूरी बनाउन सफल भएको छ ।

हाल रियल २७ खेलमा ६५ अंकका साथ शीर्ष स्थानमा छ । बार्सिलोनाको २८ खेलमा ६३ अंक छ । आउँदो २३ अप्रिलमा हुने यी दुई देशबीचको ‘अल क्लासिको’ भिडन्तपछि उपाधि होडको लगभग छिनोफानो हुनेछ ।