नेपाल कप भेट्रान फुटबल हुने

2-36

काठमाडौं / रास– स्पोर्ट्स फर अल क्लब, नेपालको आयोजनामा दोस्रो नेपाल कप भेट्रान फुटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा ११ टिमले प्रतिस्पर्धा गर्ने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष एवं राष्ट्रिय फुटबल टोलीका पूर्वगोलरक्षक लोकबहादुर शाहीले जानकारी गराए । त्रिभुवन आर्मी क्लब, सामाखुसी फुटसल टिम, नाइट किङ क्लब, ब्वाइज युनियन क्लब, रूपन्देही ११ भेट्रान क्लब (बुटवल), झम्सिखेल युथ क्लब, मनाङ मस्र्याङ्दी क्लब, साइनिङ सन फुटबल एकेडेमी (कैलाली), ढोलाहिटी युथ क्लब, ४० प्लस भेट्रान टिम र ब्वाइज स्पोर्ट्स क्लबले नकआउट पद्धतिमा प्रतिस्पर्धा गर्नेछन् ।

सहभागी खेलाडीको उमेर ४० वर्ष पूरा भएको हुनु पर्नेछ । खेल ७० मिनेट खेलाइनेछ । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न दीपक गुरुङको संयोजकत्वमा ११ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार हात पार्नेछन् । विजेता र उपविजेताको पुरस्कार गत संस्करणभन्दा दोब्बर बढाइएको हो । २०७१ सालमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो संस्करणको फाइनलमा आर्मीले मनाङलाई पराजित गर्दै उपाधि जितेको थियो । २०७२ सालमा भूकम्पका कारण प्रतियोगिता भएन ।