सीमा क्षेत्रबाट गोरु तस्करी

नेपालगन्ज / रास– बाँके–बर्दियाबाट जमिन जोत्ने उद्देश्य देखाई ठूलो संख्यामा गोरु कागजात मिलाई तस्करी हुने गरेको पाइएको छ । आवश्यक कागजात भएपछि तस्करहरू प्रहरीकै अगाडि ट्रकमा लोड गरेर पूर्वी नेपाल हुँदै भारत र बंगलादेशसम्म लैजाने गरिएको छ । बाँके–बर्दियाका सीमावर्ती क्षेत्रमा संकलन गरी ट्रकमा लोड गरेर पूर्वी नेपालको सप्तरी, महोत्तरी लैजाने गरिएको पाइएको छ ।

‘कागजमा जमिन जोत्ने प्रयोजनका लागि भनेर उल्लेख गरिएको भए पनि यसरी संकलन गरिएका गोरु पूर्वी नेपाल हुँदै दार्जिलिङ र बंगलादेश मासुका लागि निकासी गर्ने गरेको जानकारीमा आएको छ,’ परिचय नखुलाउने सर्तमा एक प्रहरी अधिकारीले भने ।

नेपालमा दुई तिहाइ बढी हिन्दू धर्ममा आस्था राख्ने बसोबास गर्छन् । हिन्दू धर्ममा गाई र गोरुको विशेष महŒव रहने भएकाले नेपालभर गाई–गोरु काटमार गरे दण्डनीय अपराधका रूपमा मानिने भएकाले यस्तो प्रयोजनका लागि ओसार–पसार गर्न नपाइने भए पनि तस्करहरूले कागजात मिलाएर प्रहरीकै अगाडिबाट लैजाने गरेका छन् ।

‘भन्सार र क्वारेन्टाइन गराइएको छ । जोत्ने प्रयोजनका लागि सप्तरी लैजान भन्दै नेपालगन्ज क्वारेन्टाइन परिसरमा आइतबार साँझदेखि १ सय आठ गोरु गाडीमा लोड गर्न लागिएको छ । गोरुको अवस्था हेर्दा जोत्नेजस्तो देखिँदैन आवश्यक कागजपत्र सबै मिलाइएको छ । कागजपत्रअनुसार प्रहरीले रोक्न पनि नमिल्ने र हाम्रै अगाडिबाट तस्करले खुलेआम लैजाने गरेका छन्,’ ती प्रहरी अधिकारीले गुनासो गरे ।

शनिबार बाँकेको रमुवापुरमा पशु हाटबजार लाग्ने र शुक्रबार बर्दियाको गुलरियानजिकै भादापुलमा लाग्ने पशु हाटबजार तथा सीमापारिका गाउँहरूबाट खुला सिमानाको फाइदा उठाउँदै गोरु तस्करीका लागि गोरु संकलन गरेर भन्सार र पशु क्वारेन्टाइन गरी पूर्वी नेपालका विभिन्न जिल्लामा भण्डारण गर्दै भारत र बंगलादेश पु¥याउने गिरोह नै सञ्चालनमा छ । प्रहरी प्रशासनले आवश्यक कागजात भए पछि उनीहरूलाई रोकतोक गर्न नसक्ने भएकाले तस्करहरूको मनोबल बढेको छ ।

जिल्ला प्रहरीको विशेष टोलीले आइतबार साँझदेखि नेपालगन्ज भन्सारनजिकै रहेको पशु क्वारेन्टाइनमा रोकेर राखेको १ सय आठ गोरु भन्सार कागजात र क्वारेन्टाइन पास गरेका कारण सप्तरी जाने तयारी अवस्थामा रहेको जानकारीमा आएको छ ।