ठेकेदार विवादले पुल निर्माण अलपत्र

ईश्वर तामाङ / राजधानी

उदयपुर, ७ चैत

आर्थिक लेनदेनमा ठेकेदारबीच विवाद हुँदा उदयपुरको सदरमुकाम जोड्ने त्रियुगा नगरपालिका–७ स्थित फर्सेट खोलाको पुल पाँच वर्षदेखि बन्न सकेको छैन । आर्थिक वर्ष २०६९÷७० मा सम्पन्न गर्ने गरी २ करोड ३३ लाख रुपैयाँमा निर्माण सुरु गरिएको पुल दुई ठेकेदारबीच विवाद हुँदा ५० प्रतिशत पनि काम नभई अलपत्र परेको हो ।

निर्माण सुरु भएको ६ महिना बित्न नपाउँदै निर्माणको जिम्मेवारी लिएको बीपीबहादुर थिङ ज्वाइन्ट भेन्चर काठमाडौंका सञ्चालक बहादुर थिङ र फौदबहादुर पाण्डेबीच लेनदेनको विषयमा विवाद चर्कंदा पुल बन्न नसकेको हो । दुवै ठेकेदारबीच आर्थिक अनियमितताको आरोप–प्रत्यारोप छ । थिङले साइड सञ्चालन गर्दा पाण्डेले हिसाबकिताब व्यवस्थापन गर्न नसकेको आरोप लगाएका छन् भने पाण्डेले अनुगमन र कार्यादेशको जिम्मेवारी पाएको डिभिजन सडक कार्यालयबाट थिङले आफूखुसी बिलको रकम झिकी आफूले पाउने रकमसमेत उपलब्ध नगराएको आरोप लगाएका छन् ।

पाण्डेले बिल–भर्पाइ बनाई कार्यालयमा पेस गरेको तर रकम झिक्ने बेला कम्पनीबाट एकलौटी निर्णय गरी चेकको हस्ताक्षरबाट बिमुख गराई थिङले रकम झिकेको आरोप लगाए । साइड सञ्चालन गर्न काठमाडौंमा रहेको घरजग्गा बैंकमा धितो राखी लगानी गरेको रकमसमेत नदिई थिङले एकलौटी गोजी भरेकाले समस्या उत्पन्न भएको उनको भनाइ थियो ।

दुवै पक्षबीच लेनदेनका विषयमा बढेको असमझदारी समाधान नहुँदा यसको प्रत्यक्ष मारमा उदयपुर, खोटाङ र भोजपुरको उत्तरी क्षेत्रका स्थानीय परेका छन् । उनले समस्याबारे पटक–पटक प्रहरीको रोहवरमा छलफल भए पनि निष्कर्ष ननिस्किएको बताए । उनीहरूबीच नुवाकोटको झोलुंगे पुल बनाउँदाको विषयलाई लिएर सर्वोच्च अदालतमा चलेको मुद्दासमेत विचाराधीन अवस्थामा छ । दुवै पक्षबीच लेनदेनका विषयमा बढेको असमझदारी समाधान नहुँदा यसको प्रत्यक्ष मारमा उदयपुर, खोटाङ र भोजपुरको उत्तरी क्षेत्रका स्थानीय परेका छन् ।

पुल अनुगमनको जिम्मा पाएको डिभिजन कार्यालय लाहान र जिल्ला प्रशासन कार्यालय उदयपुरले चासो नदिएको स्थानीयको आरोप छ । आर्थिक वर्ष सम्पन्न हुन लाग्दा म्याद थप गर्न ठेकेदार कम्पनीले चासो दिएर काम गरेजस्तो गर्ने र म्याद थपपछि काम थाती राख्ने गरेको स्थानीयवासीको आरोप रहेको छ ।

यता, डिभिजन प्रमुख शोभितलाल ठाकुरले ठेकेदारबीच लेनदेनमा विवाद हुँदा काममा अवरोध पुगेको बताए । उनले भने, ‘दुई–चारपटक दुवै पक्षलाई राखेर छलफल गराइयो, अझै मिलिसकेको छैन, यद्यपि मुख्य ठेकेदार बहादुर थिङलाई समातेर काम अगाडि बढाइएको छ, आशा छ यस आवमा काम सकिन्छ ।’