तिब्बतसँग जोडिएको बिगु गाउँपालिकामा एडीएसएल इन्टरनेट सेवा

राजधानी संवाददाता

दोलखा, ७ चैत

चीनको स्वाशासित क्षेत्र तिब्बतसँग जोडिएको दोलखाबो बिगु गाउँपालिकाको लामाबगरमा नेपाल टेलिकमले ल्यान्ड लाइन टेलिफोन र एडीएसएल इन्टरनेट सेवा विस्तार गरेको छ ।

dolakha

नेपाल टेलिकमले बिगु गाउँपालिकाको लामाबगरस्थित गोंगर तथा जगतमा ल्यान्ड लाइन र इन्टरनेट सेवा सुरु गरेको कार्यालय प्रमुख श्याममणि अर्यालले जानकारी दिए ।लामाबगरको सिस्नेरीमा टेलिफोन एक्सचेन्ज राखी ५० लाइन टेलिफोन र २३ लाइन एडीएसएल इन्टरनेट सेवा वितरण गरेको अर्यालले जानकारी दिए ।

वितारित टेलिफोनमध्ये माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले मात्रै २३ लाइन टेलिफोन जडान गरेको छ । त्यसैगरी, गोंगरका स्थानीयले १० लाइन र जगतका स्थानीयले १७ लाइन टेलिफोन जडान  गरेका छन् ।

त्यस्तै, टेलिकमले वितरण गरेको २३ लाइन एडीएसएलमध्ये आयोजनाले १० लाइन, गोंगरवासीले तीन लाइन र जगतवासीले १० लाइन जडान गरेका छन् । टेलिकमले ८२ वटा पोलमार्फत गोंगर र जगतमा लाइन विस्तार गरेको तथा करिब ३५ लाखको लागतमा सो क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा विस्तार गरेको टेलिकम चरिकोट शाखाका प्रमुख अर्यालले बताए । हाल ९६ लाइन टेलिफोन क्षमता रहेको र २४ लाइन एडीएसएल क्षमता रहेकामा तत्कालै एडीएसएलको २४ लाइन थप गरिने कार्यालयले जनाएको छ । इन्टरनेट सेवा नहुँदा कुनै डकुमेन्ट प्राप्त गर्न र पठाउन सदरमुकामसम्म दौडधुप गर्नुपरेकामा अब इन्टरनेट चलेपछि निकै सहज हुने आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले बताए ।