समस्याग्रस्त वित्तीय संस्थाहरूले धमाधम निक्षेप फिर्ता गर्न थाले

राजधानी समाचारदाता

काठमाडौं, ७ चैत

समस्याग्रस्त वित्तीय संस्थाहरूले धमाधम सर्वसाधारणको निक्षेप फिर्ता गर्न थालेका छन् । लामो समयसम्म सर्वसाधारणको पैसा फसेकाले नेपाल राष्ट्र बैंकले पटकपटक ताकेता गरेपछि अहिले धमाधम समस्याग्रस्त वित्तीय संस्थाहरूले सर्वसाधारणको निक्षेप फिर्ता गर्न थालेका हुन् ।

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको लामो समयसम्म पनि यी संस्थाले सर्वसाधारणको सबै निक्षेप फिर्ता गर्न सकेका थिएनन् । राष्ट्र बैंकका अनुसार समस्याग्रस्त बैंक तथा वित्तीय संस्थाका रूपमा रहेका नौवटा संस्थाले निक्षेपकर्ताको ८ अर्ब १३ करोड रुपैयाँ निक्षेप फिर्ता गरेका छन् । गत पुससम्मको तथ्यांकअनुसार समस्याग्रस्त वित्तीय संस्थाले २ अर्ब ५० करोड रुपैयाँ निक्षेप मात्र फिर्ता गर्न बाँकी रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । समस्याग्रस्त यी वित्तीय संस्थाले संस्थागत निक्षेपकर्तालाई  १ अर्ब ३७ करोड रुपैयाँ र व्यक्तिगत निक्षेपकर्तालाई ४५ करोड ४२ लाख रुपैयाँ निक्षेप फिर्ता गर्न बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ ।

यी समस्याग्रस्त कम्पनीले आफूले लगानी गरेको ५ अर्ब ६७ करोड रुपैयाँ कर्जा असुल गर्न सकेका छैनन् । ७ अर्ब ७० करोड रुपैयाँबराबरको कर्जा भने असुल उपर गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यी सबै संस्थामा खराब कर्जा ९० प्रतिशतभन्दा माथि रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले सर्वसाधारणको ८५ करोड ३ लाख रुपैयाँ निक्षेप फिर्ता गर्न बाँकी छ । समस्याग्रस्त वित्तीय संस्थाहरूमा यस कम्पनीको सबैभन्दा बढी निक्षेप फिर्ता गर्न बाँकी रहेको हो ।

त्यस्तै, नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको ४८ करोड २३ लाख रुपैयाँ, क्रिस्टल फाइनान्सले २७ करोड ९० लाख रुपैयाँ, कुबेर मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले १८ करोड ४४ लाख रुपैयाँ निक्षेप फिर्ता गर्न बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी, सर्वसाधारणलाई निक्षेप फिर्ता गर्न बाँकी रहेका वित्तीय संस्थाहरूमा वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनी, नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स र ललितपुर फाइनान्स कम्पनी रहेको राष्ट्र बैंकले जनाएको छ ।

वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको १२ करोड ७६ लाख रुपैयाँ, नारायणी डेभलपमेन्ट बैंकको २१ करोड १३ लाख रुपैयाँ, नेपाल फाइनान्स कम्पनीको ८ करोड ५१ लाख रुपैयाँ, कर्पोरेट डेभलपमेन्ट बैंकले ८ करोड ३५ लाख र ललितपुर फाइनान्सले १९ करोड ८१ लाख रुपैयाँ फिर्ता गर्न बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले यसअघि १३ वटा संस्था समस्याग्रस्त घोषणा गरेको थियो । जसमा दुईवटामा संस्थामा नयाँ सञ्चालकहरूले लगानी गरी सञ्चालन गर्ने भएपछि समस्याग्रस्त संस्थाको सूचीबाट हटेका छन् ।

यसैगरी, गोर्खा विकास बैंकलाई राष्ट्र बैंक आफैंले सञ्चालन गरेर काठमाडौं फाइनान्ससँग मर्ज गराइसकेको छ । क्रिस्टल फाइनान्स कम्पनीको अदालतमा मुद्दा चलिरहेको छ भने हिमालयन फाइनान्स खारेजी हुने तयारीमा छ । कुबेर मर्चेन्ट, कर्पोरेट, ललितपुर फाइनान्सलगायतका संस्थाहरू छिट्टै समस्याग्रस्त संस्थाबाट फुकुवा भई सञ्चालन हुन लागेको राष्ट्र बैंकले जनाएको छ ।