महासंघको नेतृत्व चयनमा पूर्वअध्यक्ष विभाजित

शिव दुवाडी / राजधानी

काठमाडौं, ७ चैत

निजी क्षेत्रका उद्यमी व्यवसायीहरूको छाता संगठनका रूपमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको आसन्न चुनावमा पूर्वअध्यक्ष हावी हुनेक्रम बढ्न थालेको छ । महासंघको विधानले पूर्वअध्यक्षहरूलाई सल्लाहकारका रूपमा स्थान दिएको भए पनि पूर्वअध्यक्षहरूबाट त्यसविपरीत गतिविधि हुन थालेको भन्दै स्वयं महासंघकै पदाधिकारीहरूले असन्तुष्टि जनाउन थालेका हुन् ।

fncci_building

महासंघको विधान संशोधनदेखि साधाण सभाको नेतृत्व चयनका क्रममा समेत पूर्वअध्यक्षजस्तो व्यक्ति खुलेर लाग्नु सिंगो महासंघकै लागि घातक भएको भन्दै उनीहरूले त्यसको विरोध गरेका हुन् । महासंघ सचिवालय स्रोतका अनुसार आसन्न साधारण सभाका लागि अधिकांश पूर्वअध्यक्षहरू पक्ष÷विपक्षमा लागेर लविङ गर्न सुरु गरिसकेका छन् । त्यसमा पनि एक÷दुईजना पूर्वअध्यक्षहरूले महासंघको गरिमा र आफ्नो नैतिकता नै भुलेर चुनावी अभियानमा लागेको सचिवालय स्रोतले बतायो । ‘पूर्वअध्यक्षहरूले सहमतिमा नेतृत्व छनोट गर्न पहल गर्नुपर्नेमा त्यसमा पहल गर्न नसकेको पाइयो,’ स्रोतले भन्यो ।

महासंघ सचिवालय स्रोतका अनुसार विधान संशोधनमार्फत हालकी वरिष्ठ उपाध्यक्ष भवानी राणा स्वतः अध्यक्ष हुने गरी विधान संशोधन गर्न पूर्वअध्यक्ष चण्डिराज ढकाल कम्मर कसेर लागेका थिए । साधारण सभा नजिकिँदै जाँदा उनी अहले पनि अध्यक्षको मर्यादाविपरीतका चुनावी अभियानमा लागेको सचिवालय स्रोतको भनाइ छ । आफू निर्विरोध अध्यक्ष हुने मौका पाएकी राणाले पनि आफूलाई तटस्थ राख्न नसकेको आवाज उठ्न थालेको छ ।

महासंघका अन्य अधिकांश पूर्वअध्यक्षहरू पनि चुनावी मैदानमा पक्ष÷विपक्षमा लाग्न थालेका छन् । यसले महासंघको गरिमालाई कमजोर बनाउने महासंघकै एक पूर्वमहानिर्देशकले राजधानीलाई बताए । उनका अनुसार अध्यक्षहरूले स्वतन्त्र रूपमा भूमिका खेल्ने कार्य नरोकिए यसले महासंघभित्रै अवैध गतिविधि र चलखेललाई थप मलजल गर्नेछ ।

महासंघको आगामी चैत अन्तिम साता काठमाडौंमा हुने साभारण सभाका लागि महासंघका उपाध्यक्षद्वय किशोर प्रधान र शेखर गोल्छाको दुईवटा समूहले उम्मेदवारी घोषणा गरेका छन् । महासंघको केही महिनाअगाडि भएको विधान संशोधनपछि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले यसपटक वरिष्ठ उपाध्यक्षका लागि चर्को प्रतिस्पर्धा हुने देखिएको छ । यसका लागि महासंघका उपाध्यक्षद्वय प्रधान र गोल्छा आपसमा भिड्ने भएका हुन् । दुवैले आ– आफ्नो समूहबाट टिम नै घोषणा गरिसकेका छन् ।

गोल्छाले आइतबार बुटवलबाट आफूसहित सिंगो समूह नै घोषणा गरे । हाल उनी एसोसिएटतर्फका उपाध्यक्ष रहेका छन् । गोल्छाको समूहमा जिल्ला तथा नगर उपाध्यक्षमा  दिनेश श्रेष्ठ, एसोसिएट उपाध्यक्षमा चन्द्र ढकाल, वस्तुगत उमेशलाल श्रेष्ठ र कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधान रहेका छन् । प्रधानले गत २२ फागुनमा विराटनगरबाट उम्मेदवारी घोषणा गरिसकेका छन् । प्रधानको प्यानलबाट उपाध्यक्ष उम्मेद्वारहरूमा जिल्ला नगर उद्योग वाणिज्य संघबाट प्रमोद श्रेष्ठ, वस्तुगततर्फ शंकर पाण्डे र एसोसिएटतर्फ शौरभ ज्योति अगाडि बढेका छन् । उम्मेदवारी घोषणा सभामा जनाएको प्रतिबद्धताअनुसार अहिले प्रधानलाई पूर्वअध्यक्षहरू महेशलाल प्रधान, आनन्दराज मुल्मी, विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी, पद्म ज्योति, प्रदीपकुमार श्रेष्ठ र सुरज वैद्यले समर्थन जनाएका छन् । यस्तै, अध्यक्षका अर्का आकांक्षी गोल्छालाई पूर्वअध्यक्ष चण्डीराज ढकाल, रविभक्त श्रेष्ठ, वर्तमान अध्यक्ष पशुपति मुरारका र हुनेवाला अध्यक्ष भवानी राणाको समर्थन छ ।

सरकारपछिको ठूलो सञ्जाल भएको निकाय हुनाले उद्योग वाणिज्य महासंघ र त्यसको नेतृत्वलाई महŒवका साथ हेरिन्छ । सोही कारण महासंघको नेतृत्वमा पुग्न व्यवसायीहरूले ठूलो कसरत गर्ने गर्छन् । महासंघको नेतृत्वका लागि सामान्यतः व्यापारिक घराना, नेतृत्व क्षमता, प्रस्ट दृष्टिकोण र अडानलाई आधार मान्ने गरिएको छ ।