नेप्सेमा उत्साहजनक वृद्धि

काठमाडौं / रास– साताको पहिलो दिन सकारात्मक बनेको सेयर बजार दोस्रो दिन सोमबार पनि उत्साहजनक रूपमा सकारात्मक नै बनेको छ । नेप्सेमा यस दिन नेप्से ४२ दशमलव १९ अंकले बढेर १ हजार ४ सय २४ बिन्दुमा आइपुगेको छ । त्यसैगरी, कारोबार रकममा पनि उल्लेख्य वृद्धि भई करिब चार महिनापछि सोमबार १ अर्ब २६ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

यस दिन बिमा कम्पनीको सेयर मूल्यमा वृद्धि देखियो । बिमा कम्पनीको चुक्ता पुँजी बढ्ने हल्लाका कारण यस समूहको परिसूचक बढेको हो । सो समूहको परिसूचक ८ दशमलव ५५ प्रतिशत बढेको छ । कारोबारमा आएका सबै बिमा कम्पनीको सेयर मूल्य बढेपछि यस समूहको परिसूचक ५ सय ६६ अंक बढेको  छ । प्रिमियर, एनएलजी, एभरेस्ट र युनाइटेड इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेको छ  । होटल समूहको परिसूचक ४ दशमलव १३ प्रतिशतले बढेको छ । कुल ६ कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेको छ भने जम्मा सातवटा कम्पनीको सेयर मूल्य घटेको छ । यस दिनको बजार पुँजीकरण १६ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ । यस दिन वित्त कम्पनी समूहको परिसूचक २ दशमलव ८९ प्रतिशत र विकास बैंकको २ दशमलव ६४ प्रतिशत बढेको छ । साथै, जलविद्युत् समूहको परिसूचक २ दशमलव ६ प्रतिशत, बैंकिङको २ दशमलव २४ प्रतिशत र ‘अन्य’ समूहको शून्य दशमलव २६ प्रतिशत बढेको हो । हिमालयन डिस्ट्रिलरीको सेयर मूल्य २२ ले घटेपछि उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने शून्य दशमलव २३ प्रतिशतले घटेको हो ।