साना उद्योग सुदृढ नभएसम्म मुलुक समृद्घ हुन सक्दैन : अर्थमन्त्री

राजधानी समाचारदाता

काठमाडौं, ७ चैत

अर्थमन्त्री कृष्णबहादुर महराले ग्रामीण क्षेत्रमा रहेका घरेलु तथा साना उद्योगहरू सुदृढ नभएसम्म मुलुक आर्थिक रूपमा समृद्घ हुन नसक्ने बताएका छन् । घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग कुरा गर्दै उनले साना तथा घरेलु उद्योगहरू अर्थतन्त्रको मेरूदण्ड भएको भन्दै यस्तो बताएका हुन् ।

उनले आगामी बजेटले यस्ता विषयलाई सम्बोधन गर्ने आश्वासन दिँदै लघु, घरेलु तथा साना उद्योगको विकासका लागि ठोस कार्यक्रम ल्याइने प्रतिबद्धता पनि व्यक्त गरे । नेपालको आर्थिक रूपान्तरण, परम्परागत कृषि पेसालाई आधुनिकीकरण र व्यवसायीकरण नगरेसम्म मुलुकको आर्थिक समृद्घि सम्भव नभएको उनको भनाइ थियो ।

महासंघका उपाध्यक्ष विष्णुबहादुर लुइँटेलले आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै लघु, घरेलु तथा साना उद्योगबाट घरघरमा रोजगार र आत्म सम्मानसहितको समृद्घ अर्थतन्त्र निर्माणको आधार भन्ने नाराका साथ महासंघ अगाडि बढिरहेको बताए ।

स्वदेशी श्रम, पुँजी र कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योगले स्वरोजगारी, रोजगारीका साथै मुलुकको आर्थिक विकास महŒवपूर्ण भूमिका खेल्दै आएको बताउँदै उनले पुँजी, प्रविधि र बजार समस्याका कारण यस क्षेत्रले अपेक्षाअनुसार गति लिन नसकेको तर्फ ध्यानाकर्षण गराए ।

यसैगरी, महासंघको प्रतिनिधिमण्डलले विज्ञानमन्त्री प्रेमबहादुर सिंहसँग पनि छुट्टै भेट गरी आगामी दिनमा नेपालका लघु, घरेलु तथा साना उद्योगको उत्पादन विविधीकरण गर्न चाल्नुपर्ने कदम र कार्यक्रमबारे छलफल गरेको थियो । लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवद्र्धन तथा आगामी २०७४ वैशाख ७ देखि ११ गतेसम्म आयोजना हुने नेपाल १३औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनीका बारेमा समेत छलफल गरेको थियो ।

प्रतिनिधिमण्डलमा महासंघका सल्लाहकार वासुदेव गिरी, उपाध्यक्ष मोहन कटुवाल, महासचिव डम्बर रेग्मी, कोषाध्यक्ष सत्यनारायण प्रजापतिलगायतको सहभागिता रहेको थियो । सो अवसरमा उद्योगी÷व्यवसायीहरूले पुँजी र प्रविधिको अभावमा नेपाली उत्पादनले मूल्य र गुणस्तरमा विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा बजार विस्तार हुन नसकेको बताए ।

त्यसैगरी, उनीहरूले नेपाली उत्पादनलाई गुणस्तरीय प्रतिस्पर्धी बनाउन सहज वित्तीय पहुँच, प्रविधिको विस्तार र तालिममा विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए ।