विषादी प्रयोगले स्वास्थ्यमा असर

प्रद्युम्न उपाध्याय / राजधानी

सल्यान ७, चैत

कृषिको आधुनिकीकरणका नाममा रासायनिक मल र विषादीको प्रयोगलाई जोड दिँदा जनस्वास्थ्य र पर्यावरणमा असर परिरहेको छ । रासायनिक मल र विषादीको प्रयोगले हावापानी र त्यसमा आधारित जीवनचक्रलाई नराम्रोसँग प्रभावित तुल्याई जल, जमिनका साथै वायु प्रदूषणसमेत बढाएको भन्दै सरोकारवालाहरूले बेलाबेलामा चिन्ता पनि व्यक्त गर्ने गरेका छन् ।

सल्यानमा पनि विभिन्न बालीनालीमा विषादी र रासायनिक मलको प्रयोग पछिल्ला वर्षमा बढ्दै गइरहेको छ । विशेषगरी, बेमौसमी तरकारी खेतीका लागि ख्याति कमाएको कपुरकोट क्षेत्रका किसानले तरकारीबालीमा हुने विभिन्न रोगकीराको प्रकोपलाई व्यवस्थापन गर्ने नाममा विषादीको प्रयोगलाई बढाउँदै लगेको देखिन्छ । जसले मानव स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव पर्न गएको छ ।

विषादीको प्रयोगले भूमिगत जललाई समेत विषाक्त बनाएको पाइएको छ । यसको जथाभावी प्रयोगका कारण सागपात, अन्नबाली एवं गाईवस्तुको दूधमा समेत विषादीका अवशेषहरू पाइन थालेको विभिन्न अध्ययनले पनि देखाएका छन् । यस्तो अवस्थामा रासायनिक मल र विषादीलाई विस्थापित गर्न सक्ने प्रविधिका रूपमा एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) प्रविधिलाई लिनुपर्ने आवश्यकता औंल्याउन थालिएको छ ।

सल्यानमा खासै प्रयोगमा नआएको यस प्रविधिलाई अँगाल्ने हो भने तरकारीबालीमा हानी पु¥याउने कीराहरूको नियन्त्रण गरी फाइदा लिन सकिने लामो समयसम्म कृषि क्षेत्रमा काम गर्दै आएका उन्नत कृषि केन्द्र कपुरकोटका सञ्चालक घनश्याम शर्माले बताए । तरकारीबालीमा विषादी प्रयोग गर्ने चलनले हाम्रो स्वास्थ्यमा नराम्रो असर परिरहेको जनाउँदै उनले विषादीलाई न्यूनीकरण गर्नका लागि तरकारी लगाइसकेपछि एकीकृत शत्रुजीव व्यवस्थापनका तरिकालाई उपयोग गर्दै धेरैभन्दा धेरै स्वस्थ उत्पादन गर्नुपर्नेमा जोड दिए ।

पुतली तथा सेतो झिंगाका लार्भाले बन्दा, काउली, टमाटर, स्कुस, काँक्रा, करेलालगाएतका तरकारीमा क्षति पु¥याइरहेको बताउँदै उनले भने विषादी प्रयोग गर्नुभन्दा आईपीएम प्रविधिअन्तर्गत कीरालाई पासोमा पारेर नियन्त्रण गर्नु उत्तम हुन्छ । ‘हामीहरू अलिकति खेतबारीमा समस्या आएपछि मात्र अलि बढी आत्तिन्छौं र हतारहतारमा विषादी प्रयोग गरिहाल्छौं,’ शर्माले भने, ‘यसरी हतारहतारमा प्रयोग गरिएको विषादीले रोग, कीरा व्यवस्थापन नभईकन एक त पैसाको बर्बादी हुन्छ भने अर्कातर्फ मानव स्वास्थ्य एवं वातावरणलाई समेत त्यसले दुर्गन्धित र दूषित तुल्याउँछ ।’

निकै सस्तो पर्ने आईपीएम प्रविधिका पासोका सामग्री अहिले आफ्नो उन्नत कृषि केन्द्रमा ल्याएको बताउँदै उनले यसको प्रयोग गर्न किसानहरूलाई आग्रह गरेका छन् । खास गरी सयौं लार्भा उत्पादन गर्ने पुतली र सेतो झिंगाजस्ता कीरालाई आकर्षित गर्ने रसायन राखिएको पासोमा आएका कीराहरू मर्ने भएकाले बालीमा विषादी प्रयोग नगरेरै राम्रो उत्पादन लिन सकिने उनको भनाइ छ । यस्ता पासोलाई एउटाको २–३ सय रुपैयाँ मात्रै पर्ने र जसले महिना दिनसम्म काम गर्ने भएकाले उपयुक्त प्रविधि मानिन्छ । विभिन्न जिल्लामा कृषिमा प्रयोग गरिएको एकीकृत शत्रुजीव व्यवस्थापन कार्यक्रम सकारात्मक देखाएको छ ।