सिउरुङमा पर्यटकको चहलपहल बढ्यो

बेंसीसहर (लमजुङ) / रासस– उत्तरी लमजुङको पर्यटकीय गाउँ सिउरुङमा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ । हिमपातका कारण अन्नपूर्ण पदमार्गमा अवरोध भएपछि विदेशी पर्यटक ग्रामीण पर्यटकीय गाउँ सिउरुङ पुगेका हुन् । साता दिनसम्म मनाङमा परेको हिमपातले अन्नपूर्ण पदमार्गमा अवरोध भएपछि बाह्य पर्यटक सिउरुङ आइपुगेको पर्यटन विकास समितिका सचिव उमरबहादुर गुरुङले बताए ।

‘सिउरुङमा पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम बढ्दो छ,’ उनले भने । यहाँ दैनिक १०–१२ जना विदेशी पर्यटक आउने गरेका छन् । गाउँमा पर्यटकीय चहलपहल बढेपछि स्थानीय उत्साहित भएका छन् । पर्यटकलाई राम्रो सेवा र सुविधा दिन यहाँका १५ घरमा व्यवस्थित घरवास पूर्वाधार निर्माण गरिएको छ ।

सिउरुङलाई २०६२ सालबाट पर्यटकीय गाउँ बनाउने अभियानमा गाउँले लागेका हुन् । समुद्री सतहदेखि १ हजार ८ सय ५४ मिटर उचाइमा अवस्थित सिउरुङमा १ सय १५ घर रहेका छन् । प्राकृतिक सुन्दरता, गुरुङ संस्कृतिमा प्रख्यात सिउरुङ गाउँ जैविक विविधताले पनि उत्तिकै महŒवपूर्ण मानिन्छ ।

सिउरुङमा स्थानीय आमा समूहको सक्रियतामा सामूहिक पाहुना घर निर्माण गरिएको छ । आमा समूहले नै नाचगान गरी जम्मा गरेको पैसाले पाहुनाघर बनाएका छन् । स्थानीय महिला गाउँ घुम्न आउने पाहुना स्वागत सत्कारका लागि यही समूह घरमा जम्मा हुने गर्छ । गाउँमा पुग्ने पाहुनालाई सामूहिक पाहुना घरमा राखेर सत्कार गर्नु, सोरेठी, घाँटू, कृष्णचरित्र, लोकदोहोरी, रोधीलगायतका परम्परागत नृत्य प्रस्तुत गर्नु सिउरुङवासीको चलन नै भएको गुरुङ बताउँछन् ।

स्थानीयवासीले गाउँमै उत्पादन गरेका मकै, धान, कोदोलगायत हरियो सागसब्जी, गेडागुडी, गाउँमै पालिएका भेडा, खसी तथा कुखुराको मासु खुवाउने गर्छन् । स्थानीयको स्वागत, सत्कार र सम्मानले पर्यटकलाई लोभ्याउने गरेको छ । गुरुङ जातिका पुराना संस्कृति तथा संस्कार जोगाइराख्न पनि यस्ता कार्यक्रम उपायोगी भएको छ । बुढापाकाले धान्दै आएका यस्ता कार्यक्रम पछिल्लो समय युवायुवतीले पनि सिको गर्दै आएका छन् ।

सिउरुङबाट मनास्लु, माछापुच्छे«, बौद्ध, लमजुङ, अन्नपूर्णलगायतका हिमाल आँखैअगाडि देखिन्छन् । यहाँबाट सूर्योदयको दृश्यसमेत हेर्न सकिन्छ । सदरमुकाम बेंसीसहरदेखि सिउरुङ गाउँसम्म मोटर पुगेको छ । हिँडेर आउन नसक्नेका लागि सडक बनेपछि सहज भएको छ । बेंसीसहरदेखि खुदी अर्खलेसम्म करिब दुई घण्टा गाडीमा यात्रा गरी करिब चार घण्टाको पैदलमार्गबाट पनि सिउरुङ पुग्न सकिन्छ