शाहलाई हुन्डाई गल्फ टुर्नामेन्टको उपाधि

काठमाडौं / रास– गोकर्ण फोरेस्ट रिसोर्टमा सम्पन्न हुन्डाईको सातौं हुन्डाई खुला गल्फ टुर्नामेन्टमा ३९ अंकका साथ आङनोर्बु शेर्पालाई १ अंकले जित्दै कर्णेल विकास शाहले प्रतिस्पर्धामा प्रथम स्थान हासिल गरेका छन् । कर्णेल विकासले आठ ह्यान्डिक्यापसँग खेल्दै १९ अंक फ्रन्ट नाइनमा हात पारे र २० अंक ब्याक नाइनमा प्राप्त गरेका थिए । पुरस्कारस्वरूप उनले १ लाख रुपैयाँबराबरको उपहार र कुलप्याड स्मार्टफोन जितेका हुन् ।

gulf

पहिलो हाफमा २० अंक र पछिल्लो हाफमा १८ अंक हात पार्दै ३८ अंकका साथ आङनोर्बुले दोस्रो स्थान जितेका हुन् । आङनोर्बुले चार बर्डिजका साथ सर्वाधिक बर्डिज पनि जिते भने उनैले १० हजारबराबरको गिफ्ट भौचर र कुलप्याड स्मार्टफोन जितेका हुन् । मेजर निश्चलजंग रायमाझीले तेस्रो स्थान हासिल गरे । साथै, निर्मल दाहाल र ध्रुव थापालाई टाईमा जितेर उनले ३६ अंकका साथ सो स्थान जितेका हुन् । दाहालले दोस्रो हाफमा १६ अंक, थापाले १५ अनि रायमाझीले १७ अंक हात पारेका थिए । वाङचेन ढोन्डुपले ३३ अंक जितेर ग्रस ट्रफीका साथै ५० हजार रुपैयाँ गिफ्ट भौचर र कुलप्याड स्मार्टफोन जितेका छन् । महिला वर्गमा प्रतिमा शेर्पाले ३६ अंक हात पार्दै प्रतिस्पर्धा जितेका छन् । साथै, उनले पनि २० हजारको उपहार र कुलप्याड स्मार्टफोन जितेका छन् । गोपाल चित्रकार ज्येष्ठ विजेता भएर ट्रफी, २० हजारको उपहारका साथै कुलप्याड स्मार्टफोन हात पारेका छन् । हुन्डाई ग्राहक वर्गमा जाम्लिङ घलेले ३४ अंकका साथ २० हजारको उपहार कुपन, ट्रफी र कुलप्याड स्मार्टफोन जिते ।

१७ उमेरभन्दा तलको वर्गमा स्याम डबलार्डले नौ होलमा १८ अंक जित्दै ट्रफी, २० हजार रुपैयाँको उपहार कुपन र कुलप्याड स्मार्टफोन हात पारे । संयोग शाहीले लंगेस्ट ड्राइभ जिते र १० हजारको उपहार कुपन अनि कुलप्याड स्मार्टफोन जिते । कसैले पनि होल जितेर पहिलो उपहारस्वरूप हुन्डाई ग्रान्ड आई–टेन भने जित्न सकेनन्, जुन होल नम्बर १० मा आधारित थियो । १० नम्बरको होल ताक्दै नजिक रहेका आङछिरिङ शेर्पाले पिन अवार्डनिर पुग्दै १० हजारको गिप्mट भौचर र कुलप्याड स्मार्टफोन जितेका हुन् ।

हुन्डाई ग्राहकमध्ये महेन्द्र मैनाली विशेष उपहारस्वरूप सबैभन्दा सम्हालिएको सवारीका लागि जितेर १० हजार रुपैयाँको सर्भिस प्याकेज जितेका छन् । हुन्डाई मोटर्स नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिद्वारा आयोजित प्रतिस्पर्धामा १ सय १५ खेलाडी सामिल थिए । सो प्रतिस्पर्धा स्टेबलफोर्ड विधिमा रचिएको थियो । प्रतियोगिता तीन–चार ह्यान्डिक्यापका साथ आयोजित थियो । दक्षिण कोरियाली राजदूत चोइ योङ जिन, लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुधिर घिमिरे र क्याप्टेन जोसेफ न्याथनले सो प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरे ।