राष्ट्रिय आविष्कार केन्द्रलाई मेरिडियन स्कुलको सहयोग

काठमाडौं / रास– मुलुकको आर्थिक विकासका लागि खोज तथा अनुसन्धान कार्यमा केन्द्रित रहँदै आएको राष्ट्रिय आविष्कार केन्द्रलाई काठमाडौंको  बालुवाटारस्थित मेरिडियन इन्टरनेसनल स्कुलको कक्षा ८ का समाजसेवी विद्यार्थीहरूको समूहले सहयोग गरेका छन् ।

economic-support

विद्यार्थीले केन्द्रका प्रमुख महावीर पुनलाई आर्थिक सहयोग उपलब्ध गराएका हुन् । स्कुलकी सहायक प्रिन्सिपल प्रतिमा न्यौपानेका अनुसार विद्यार्थीहरूका तर्फबाट संकलित २२ हजार रुपैयाँमा विद्यालयले समेत सहयोग थप गरी केन्द्रलाई उपलब्ध गराएको हो ।

पुनले आफू अमेरिकामा रहेक बेला सूचना प्रविधि र खोज अनुसन्धानको माध्यमबाट मुलुकको आर्थिक विकासमा आमूल परिवर्तन ल्याउन सकिने धारणाको विकास गरी त्यसै मन्यताका साथ आविष्कार केन्द्र सञ्चालना ल्याएका हुन् । हाल उनले केन्द्रमा आर्थिक सहयोग जुटाउने कार्यलाई अगाडि बढाएका छन् । यसबाट एउटा नमुना जलविद्युत् आयोजना निर्माण गर्ने उनको योजना छ । नेपालमा वायरलेस कम्प्युटर प्रविधिको विकास गर्न सफल पुनले सूचना प्रविधिको क्षेत्रमा हाल पारेको उल्लेख्य सफलताका कारण विश्वका उत्कृष्ट पुरस्कार हात पार्न सफल भएका छन् ।