राष्ट्रिय अर्थतन्त्रमा सहकारीको योगदान

राष्ट्रिय अर्थतन्त्रमा सहकारीको योगदान

santosh-timalsina

सन्तोष तिमल्सिना

मानव समाजको सञ्चालन तथा व्यवस्थापनका क्रममा विकास भएको सामूहिक जीवन पद्धति नै सहकारिता हो । सहकार्यबाटै मानिसलाई सफलतातर्फ उन्मुख गर्दछ । सबैभन्दा गहकिलो उदाहरण रूपमा माहुरी र कमिलाबाट ठूलो पाठ सिक्न सकिन्छ । मानिसमा सामूहिक भावना जागृत भएपश्चात् मानव सभ्यताले तीव्र रूपमा विकासले गति लिएको पाइन्छ । हामीलाई थाहा छ कि, मानिस एक्लै न त बाँच्न सक्छ, न त कुनै काम गर्न सक्छ । मानव समाजले सहकारीको शाब्दिक अर्थ नबुझे पनि आपसी सहयोग लेनदेनको हिसाबमा कुनै न कुनै रूपमा यसलाई अंगीकार गरेको पाइन्छ । परम्परादेखि नै चल्दै आएको गुठी, ढिकुटी, पर्मा, धर्मभकारी आदि नै सहकारिता बलियो उदाहरण हुन् । नेपाली इतिहासको विभिन्न कालखण्डलाई पार गर्दै नेपालको सहकारी अभियानले ६ दशकको लामो यात्रा तय गरिसकेको छ । विसं. २०१३ साल चैत २० गते चितवनमा स्थापना भएको बखानपुर ऋण सहकारीको स्थापना भएसँगै नेपालमा सहकारी अभियानको उदय भएको मानिन्छ । देशमा भएका राजनीतिक परिवर्तनका कारण पञ्चायती व्यावस्थामा खासै सर्वसाधारणसम्म सहकारीको पहुँच विस्तार हुन सकेको थिएन । विसं. २०४६ सालभन्दा पहिले देशभर जम्मा ८३१ वटा साझा संस्था रहेको पाइन्छ भने सहकारी ऐन २०४८ र सहकारी विनियम २०४९ जारी भएपश्चात् नेपालको सहकारी अभियानले ठूलै छलाङ मारेको छ । सहकारी अभियानको तीव्र विकाससँगै यसले राष्ट्रिय अर्थतन्त्रमा महŒवपूर्ण हिस्सा ओगट्न सफल
भएको छ ।

देशको सामाजिक तथा आर्थिक रूपान्तरणका लागि सहकारी अभियानले महŒवपूर्ण भूमिका रहेको पाइन्छ । र, देशको अर्थतन्त्रमा समेत सहकारी अभियानले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । नेपालको संविधान २०७२ को धारा ५१ राज्यका नीतिअन्तर्गत (घ) अर्थ, उद्योग र वाणिज्यसम्बन्धी नीतिको (१) मा सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकासमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने भनी उल्लेख भएको छ । नेपालको संविधान २०७२ को अनुसूचीहरू ५, ६, ७, ८ र ९ संघ, प्रदेश र स्थानीय निकायको अधिकारको सूचीहरूमा पनि सहकारीबारे उल्लेख गरिएको छ । सरकारी, सहकारी र निजी क्षेत्रको माध्यमबाट मुलुकमा अर्थतन्त्रको विकास गर्ने नीति राज्यले अवलम्बन गर्नुले पनि देशको अर्थतन्त्रमा सहकारीको महŒवपूर्ण भूमिका रहेको स्पष्ट हुन्छ । सहकारी विभागको २०७३ असार मसान्तसम्मको तथ्यांकअनुसार नेपालभर विभिन्न प्रकृतिका ३३ हजार ५ सय ९९ वटा सहकारी संस्था रहेका छन् । ६० लाख ३० हजार ८ सय ५७ जना व्यक्ति सहकारी संस्थाका सदस्य रहेका छन् भने सहकारीका माध्यमबाट ५६ हजार ४ सय ७५ जनाले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । सहकारीमार्फत ७१ अर्ब ३५ करोड ७८ लाख ८२ हजार सेयरपुँजी तथा २ खर्ब ९५ अर्ब ७२ करोड ७८ लाख २ हजार निक्षेप संकलन गरी खर्ब ८९ अर्ब ८२ करोड ५० लाख ४१ हजार रुपैयाँ लगानी भएको छ ।

देशको आर्थिक तथा सामाजिक विकासका र आयात प्रतिस्थापनका क्षेत्रमा सहकारीले महŒवपूर्ण भूमिका खेल्दै आएको छ । वित्तीय क्षेत्रमा सहकारी संस्थाको २१ प्रतिशत तथा कुल गार्हस्थ्य उत्पादनमा ४ प्रतिशत योगदान सहकारीको रहेको छ । सरकारी, निजी क्षेत्रले जस्तै नेपालकोे आर्थिक विकासमा सहकारी क्षेत्र बलियो आधारशिला बनेको छ । हाम्रो जस्तो विकासोन्मुख तथा कृषि प्रधानमा देको आर्थिक समृद्धिका लागि सहकारी अभियानको भूमिका महŒवपूर्ण रहन्छ । सहकारीले समाजको आधारभूत तहमा रहेको स्रोत, पँुजी, श्रम, सिप र प्रविधिलाई उपयोग गरी सेयर सदस्य तथा समुदायको हितमा परिचालन गर्दै आएको छ । नेपालका झन्डै ४० प्रतिशत नागरिक अझै पनि बैंकको पहुँचभन्दा टाढा छन् । सहरी क्षेत्रहरूमा स्थापित सहकारी संस्थाहरू बैंक तथा अन्य वित्तिय संस्थाहरूसँग प्रतिस्पर्धी ढंगबाट अघि बढे पनि ग्रामीण भेगमा भने सहकारीको दिगो व्यवस्थापन र सञ्चालन हुन सकिरहेको छैन । बैंक तथा वित्तीय क्षेत्रको दाँजोमा सहकारी अभियानले निक्कै ठूलो फड्को मारेको छ । वित्तीय पहँुचभन्दा टाढा रहेका विपन्न वर्गहरूलाई लक्षित गरी उनीहरूको आर्थिक, सामाजिक, सामुदायिक र सांस्कृतिक विकासमा सहकारी अभियानले सहयात्रा गर्दै अघि बढेको पाइन्छ । समाजमा छरिएर रहको स–साना रकमलाई एकीकृत गरी सदस्यहरूको आयआर्जनमा वृद्धि हुने क्षेत्रमा ऋण लगानी गरी आफ्ना सदस्यलाई स्वावलम्बी बनाउँदै आएको छ । सहकारी अभियानले बचत गर्ने बानीको विकासका गर्नुका साथै महिला सशक्तीकरण, स्वरोजगारको समेत सिर्जना गरेको छ ।

नेपालमा हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने नारासहित ६०औं राष्ट्रिय सहकारी दिवस मनाइयो । दिगो विकास लक्ष्यप्रप्तिका लागि राज्यले आगामी १५ वर्षका लागि तय गरेका लक्ष्य र उद्देश्य हासिल गर्न सहकारीको महŒवपूर्ण भूमिका रहन्छ । सहकारी मूल्य, मान्यता, आदर्श र सिद्धान्तलाई पूर्ण रूपमा पालना गर्दै नेपालको सहकारी अभियान मार्फत लैंगिक समानता र सबै प्रकारका भेदभाव अन्त्य गर्न महिला तथा युवाहरूको सहभागिता एवं सशक्तीकरण लगायतका क्षेत्रमा क्रियाशील बनाई दिगो विकासको लक्ष्य प्राप्त गर्न सकिन्छ । सन् २०१५ देखि २०३० सम्मका लागि गरिबी उन्मूलन, भोकबाट मुक्ति, स्वास्थ्य र गुणस्तरीय जीवन, गुणस्तरीय शिक्षा, लैंगिक समानता, शुद्ध पानी र सरसफाइ सुलभ र सफा शक्ति, सम्मानजनक काम र आर्थिक वृद्धि, उद्योग, नवप्रवर्तन र पूर्वाधार, असमानता न्यूनीकरण, समुदाय र सहरको दिगो विकास, जिम्मेवार उत्पादन र उपभोग पर्यावरणीय संरक्षण, जलचरको जीवन, थलचरको जीवन, शान्ति र न्यायका लागि बलियो संरचना, लक्ष्यका लागि साझेदारीजस्ता १७ वटा लक्ष्य निर्धारण गरिएको छ । दिगो विकासको लक्ष्य प्राप्ति तथा देशको आर्थिक तथा सामाजिक विकासमा सहकारीको योगदान  प्रशंसनीय रहनेछ ।