जिविस–ठेकेदार विवादले सुडाल जोड्ने पुल निर्माण पनि अलपत्र

जिसस भन्छ : ठेकेदारको बदमासी

ठेकेदार भन्छन् :  जिससको बदमासी


किरण बुढाथोकी÷राजधानी

भक्तपुर, २२ चैत

जिल्ला विकास समन्वय समिति (जिसस) र ठेकेदारको लापर्बाहीले भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाको सुडाल जोड्ने ठूलो साँघु (गोंस) पुल निर्माण पनि अलपत्र बनेको छ । मध्यपुर थिमी र बालकोट नयाँ बस्ती जोडने हनुमन्ते पुल अलपत्र अवस्थामा पुगेजस्तै सो पुल पनि दुवै पक्षको लापर्बाही र बेवास्ताले अलपत्र बन्ने भएको हो ।

जिल्ला विकास समिति र ठेकेदारबीच निर्माण सम्झौता भएको करिब एक वर्ष पुग्न लाग्दासमेत पुलको जग खन्ने कामबाहेक अन्य कार्य हुन सकेको छैन । जिसस र निर्माण व्यवसायीको दोषारोपणले पुलको निर्माण कार्य बेवारिसे अवस्थामा छाडिँदा पुल हुँदै आवतजावत गर्ने हजारांै यात्रु मर्कामा परेका छन् । पुरानो पुल भत्काएर नयाँ पुलको निर्माण थालिएको सो पुल जग खनेर त्यत्तिकै छाडिँदा पोखरी भएर पानी जमेको छ भने ठूलो बाढी आएमा वरपरका बस्ती तथा जमिन कटान हुने खतरा देखिएको छ ।

गत वर्ष बाढी आउँदा डुबानमा परेर त्रसित बनेका स्थानीय यो वर्ष पुल बनाउने नाममा खोला थुनेर बेवारिसे अवस्थामा राखिँदा झनै क्रसित बनेका छन् । उनीहरूले सम्बन्धित निकायले कुनै चासो नदेखाएको र निर्माण व्यवसायीले जिससले भुक्तानी नदिँदा निर्माण कार्य रोकिएको गुनासो गर्ने गरेको बताए ।

स्थानीयले नजिकिएको बर्खाअगावै पुल निर्माण गर्न नसके बस्ती र जमिन कटान भई सम्भावित दुर्घटनाबाट जोगाउन पहल गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । स्थानीय एवं भनपा–१ का पूर्ववडाध्यक्ष लक्ष्मीप्रसाद कोजुले विशेष गरी जिल्ला समन्वय समितिका सचिव धु्रव कोइरालाको निर्णय अभावले यस्तो समस्या आएको बताउँदै तुरुन्तै पुल निर्माण नथाले कार्यालय घेराउदेखि संघर्षका कार्यक्रम थाल्ने बताए । गत वर्षको बाढीले ठूलो धनजनको क्षति पु¥याएको बताउँदै कोजुले बर्खाअगावै पुल निर्माण नभए ठूलोे धनजनको क्षति हुने खतरा रहेको बताए ।

स्थानीय लतनभक्त फैजुले पुल निर्माण नगर्ने भए पुरानो संरचनाको पुल निर्माण गरेर भए पनि दुई दोभानको आवतजावत बन्द हुने अवस्था आउन नदिन आग्रह गर्दै तत्कालीन जिविसको लापर्बाहीले पुल निर्माण कार्यमा ढिलाइ भएको गुनासो गरे । अर्का स्थानीय राम दुवाल, कृष्णगोपाल छुस्याबाँघ, रामकृष्ण दुवाललगायतले सम्बन्धित निकाय र निर्माण व्यवसायीको लापबाहीले पुल निर्माण अलपत्र परेको बताउँदै आउने बर्खामा सयौं घर डुबानमा पर्ने भन्दै तुरुन्त निर्माण कार्य सुरु गर्न माग गरेका छन् ।

उनीहरूले निर्माण व्यवसायीसँग जति सम्पर्क गर्दा पनि नआउने र आए पनि कार्यालयले पैसा नदिएको भन्दै काम नगरी फर्कने गरेको बताए । स्थानीयले उधारोमा निर्माण सामग्री सहयोग गर्दासमेत निर्माण व्यवसायीले पुल निर्माण कार्यमा ढिलासुस्ती गरिरहेको गुनासोसमेत उनीहरूको छ ।

जिल्ला समन्वय समितिका सचिव धु्रव कोइराला भने निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पुल अलपत्र भएको बताउँछन् । भण्डार थोटुङ श्यामबाबु जेबी कन्स्ट्रक्सनले ठेक्का पारेको सो पुलको सम्झौता ८ वैशाख २०७३ मा भएको थियो ।

यसको अन्तिम म्याद आगामी २०७४ असार मसान्तसम्म रहेको छ । तर, पुलको निर्माण कार्य भने जग खन्नेबाहेक अरू केही भएको छैन । जसको कारण समयमा पुल निर्माण हुने सम्भावना देखिएको छैन । जिल्ला प्राविधिक कार्यालय भक्तपुरका अनुसार प्रतिशतमा भन्दा पुलको कुल निर्माणमध्ये १० प्रतिशतभन्दा कम काम भएको छ ।

जिल्ला प्राविधिक कार्यालयका प्रमुख पुष्परत्न रन्जितले सो पुलको कुल लागत भ्याटसहित १ करोड ६० लाख ४९ हजार रहेको बताए । त्यसमध्ये १ करोड २६ लाख १ हजार ८ सय ३३ रुपैयाँमा निर्माण कार्यका लागि सम्झौता भएको थियो । रन्जितका अनुसार हनुमन्ते र सुडाल जोड्ने पुल एउटै निर्माण व्यवसायीले ठेक्का पारेकोमा हनुमन्ते पुलभन्दा निकै ढिलासुस्ती भएको छ । ‘पुरानो पुल भत्काएर सामान झारिएको छ । डाइभर्सन जग खन्ने कार्य मात्र भएको छ,’रन्जितले भने ।

कार्यालयका अनुसार सो पुलका लागि ११ लाख रुपैयाँ निर्माण व्यवसायीलाई भुक्तानी भइसकेको छ । तथापि पुलको अन्य कार्य नभएकाले निर्माण व्यवसायीले बिल पेस नगरेको उनको भनाइ छ । प्राविधिक कार्यालयबाट सो पुल हेर्न खटिएकी इन्जिनियर सरिता उपाध्याय अहिलेसम्म ४० प्रतिशतको हाराहारीमा कार्य भइसक्नुपर्नेमा निर्माण व्यवसायीले निकै ढिलासुस्ती गरिरहेको र सोबापत प्रतिदिन जरिबाना कटाइरहेको बताउँछिन् । उनका अनुसार सो पुल १० मिटर र ७ दशमलव २० मिटर चौडाइको बन्न लागेको हो । ठेकेदार भने इन्जिनियरले दुःख दिएको दाबी गर्दै आएका छन् ।