निर्वाचनमा नजाँदा जनताबाट कटिने अवस्था छ

निर्वाचनमा नजाँदा जनताबाट कटिने अवस्था छ

मोहन वैद्य ‘किरण’, अध्यक्ष, नेकपा (क्रान्तिकारी माओवादी)

दोस्रो संविधानसभा बहिष्कार गरेर नेपालको संविधान २०७३ को निरन्तर विरोधमा रहेको नेकपा (क्रान्तिकारी माओवादी) ले केही  दिनपहिले नाटकीय रूपमा स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । यसै अनुरूप माओवादीले चुनावी प्रचार प्रसारलगायत गतिविधि पनि सुरु गरिसकेको छ । सो पार्टीका अध्यक्ष मोहन वैद्य ‘किरण’ आफ्नो संगठन कमजोर हुनु र चुनावमा नजा“दा जनताबीच बचेखुचेको साख र सम्बन्ध पनि काटिने जोखिम रहेकाले पछिल्लो निर्णय आएको बताउ“छन् । यद्यपि, पार्टीको पूर्वघोषित कार्यनीतिअनुरूप स्थानीय तहबाटै विरोध र भन्डाफोरको गतिविधि सञ्चालन गर्ने पनि उनको भनाइ छ ।
राजधानीले क्रान्तिकारी माओवादी पार्टीका पछिल्ला गतिविधि, आसन्न स्थानीय तहको निर्वाचन, समकालीन राजनीतिमा अन्य दललाई हेर्ने उनीहरूको रणनीतिजस्ता विषयमा विस्तृत कुराकानी गरेको थियो । प्रस्तुत छ, राजधानीका लागि अध्यक्ष वैद्यस“ग केशरमणि कटुवाल र महेश्वर गौतमले गरेको कुराकानीको मुख्य अंश :

० तपाईंहरूले बहिष्कार गरेको संविधानसभाबाट बनेको संविधान कार्यान्वयनका लागि हुन लागेका निर्वाचनमा किन जान लाग्नु भएको हो ?

संविधानको कार्यान्वयनका लागि हुन लागेको  निर्वाचनमा जाँदा त्यसैलाई सहयोग पुग्छ भन्ने तपाईंको जुन कुरा छ, त्यस्तो होइन । खासगरी प्रतिक्रान्ति भयो कि भएन भन्ने कुरा हो । जनताको संविधान बनेको होइन, यो प्रतिक्रिया कालजस्तो भएको छ । उपयोग र बहिष्कार भन्ने कुरा परिस्थिति हेरेर हुन्छ । पहिलो कुरा संविधान राम्रो भएर चाहिँ भाग लिने नराम्रो भएर बहिष्कार गर्ने
भन्ने होइन । लेनिनको भनाइ हेर्ने हो भने घोरभन्दा घोर प्रतिक्रियावादी संसदीय व्यवस्थामा पनि आवश्यक परे भाग लिनुपर्छ भन्नुभएको छ । हामीले त्यसैलाई स्वीकार गरेका हौं । हाम्रो सामान्य नीति भनेको संसदीय व्यवस्थामा  उपयोग पनि गर्न सकिन्छ, बहिष्कार गर्न पनि सकिन्छ । कुन बेला उपयोग र कुन बेला बहिष्कार गर्ने भन्ने कुरा परिस्थितिको विश्लेषणका आधारमा हुन्छ । अब आन्दोलन असाध्यै उभारमा भयो भने बहिष्कार गर्दा ठीक हुन्छ । अहिले त्यस्तो अवस्था छैन, संगठन कमजोर अवस्थामा छ । यो अवस्थामा जनताको चासो पनि स्थानीय चुनावमा रहेका कारण जनतामा नजाँदा जनताबाट कटिने अवस्था हुने भएका कारण त्यहीँभित्रै गएर त्यो व्यवस्थाको भन्डाफोर पनि गर्ने र आफ्नो विकल्प पनि पेस गर्ने भनेर निर्वाचनमा जान लागेका हौं ।

० हिजो संविधानसँग जोडिएका हरेक  प्रक्रियामा अलग हुनुभयो, अहिले जनतासँग अलग बन्न सकिँदैन भनेर त्यही जनतामा जाँदा तपाईंहरूलाई विश्वास गर्ने आधार के ?

जनताले विश्वास गर्ने आधार भनेको हाम्रा गतिविधि, व्यवहार, नीतिहरू जनतामाझ कति बुझाउन सकिन्छ भन्ने कुराले निर्धारण गर्ने कुरा हो । त्यसकारण पनि हामी स्थानीय तहको निर्वाचनमा गएर प्रत्यक्ष रूपमा जाँदा फाइदा होला भन्ने कुरा हो । हामी विश्वास हासिल गर्ने प्रयासमा हुन्छौं ।

० अब तपाईंहरूलाई दलीय रूपमा निर्वाचन चिह्न दिने अवस्था देखिँदैन । यसै विषयलाई लिएर आन्दोलन पनि गरिरहनु भएको छ, यो के हो ?

हामीले निर्वाचनअघि दल दर्ता र चुनाव चिह्नका लागि समय दिन्छन् भन्ने सोचेका थियौं । त्यो अवस्था भएन । हामीभन्दा अघि दर्ता भएका दलहरूलाई पनि चुनाव चिह्न दिइएन । जस्तो बाबुरामजीको पार्टीले पनि चुनाव चिह्न नपाउने देखियो । उनीहरूले संसद्मा रहेका दललाई मात्रै चुनाव चिह्न दिने भन्ने जुन ऐन आएको छ यो गलत हो । सरकार र प्रतिपक्षी दलहरूले जुन काम गरेका छन् । यो संसदीय व्यवस्थामा हुने कुरा समेत होइन । अब स्वतन्त्र रूपमा निर्वाचनमा जाँदा प्रतिकूलता त हुने नै भयो । हाम्रो प्रयास भनेको हाम्रा उम्मेदवार लिएर जनताबीच लिएर जान्छौं र प्रचार गर्छौं । त्यो प्रतिकूलतालाई अनुकूलतामा बदल्न प्रयास गर्छौं ।

० भनेपछि तपाईंहरू दलको मान्यतामा चुनाव चिह्न नपाए पनि चुनावमा जानुहुन्छ ?

जान्छौं । हामी उपयोगको अर्थमा कुनै सर्त राखेर जाने कुरा छैन । हामीले यो सत्ता र व्यवस्थालाई मान्ने भए पो यति भए जान्छौं भन्ने कुरा आउँछ । हामी मान्दैनौं । यो हामीमाथि लादिएको व्यवस्था हो । जस्तोसुकै परिस्थितिमा पनि सामना गर्छौं । तर, कम्तीमा यति हुनुप¥यो भन्ने कुरा मात्रै हाम्रो हो ।

० बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँगसँगै आन्दोलन गरिरहनुभएको छ, निर्वाचनसम्म यो सहकार्य जारी रहने सम्भावना कत्तिको छ ?

चुनावका सन्दर्भमा त्यस्तो सहकार्यको सम्भावना छैन । अहिले विषय मिलेको अवस्थामा सहकार्य भएको हो । विषयवस्तुमा मेल खाएको विषयमा त, हामीले कांग्रेस, एमाले, माओवादी केन्द्रसँग पनि सहकार्य हुनसक्छ । सहकार्य भनेको आन्दोलनसँग सम्बन्धित विषयमा हुनसक्छ, तर चुनावी सहकार्य हुने कुरा अहिले
देखिएको छैन ।

० स्थानीय तह निर्वाचन ऐनमा संसद्बाहिर रहेका  दललाई दलको रूपमा चुनाव चिह्न नदिने नियम आउँदै गरेको विषयमा तपाईंहरूलाई जानकारी र छलफल भएन ?

हामीले अन्तिममा थाहा पायौं । थ्रेसहोल्डको कुराबारे छलफल त अघिदेखि भएको हो । अहिले त त्यस्तो सवाल पनि होइन । कम्तीमा संघर्षमा रहेका दलले भाग लिन त पाउनुप¥यो नि । त्यसपछि के हुन्छ भन्ने कुरा अलग हो । यो अलि गम्भीर प्रकारको तानाशाही व्यवस्था हो । एकजनाले मलाई निर्वाचित अधिनायकवादतर्फ उन्मुख भयो भनेका थिए । अहिले आएर यो पुष्टि हुँदै छ । अहिलेबाट भन्दा पनि संविधानको निर्माण गर्ने प्रक्रियाबाट नै संसद्का ठूला दल कांग्रेस एमाले र माओवादी केन्द्र भएपछि जे पनि गर्न सकिन्छ भन्नेतिर गए । यो गलत हो । इतिहासमा संसदीय व्यवस्थामा कलंक लाग्ने दुईवटा काम यिनीहरूले गरेका छन् । जस्तो दोस्रो संविधान सभाको बहुदलीय निर्वाचन निर्दलीय व्यक्तिबाट गराए, अर्को त्यो निर्वाचनमा सहभागी भएकालाई पनि चुनाव चिह्न दिएनन् । यो संसदीय व्यवस्थाकै कलंक हो । इतिहासले यो कुराको जवाफ माग्नेछ । यी संसदीय व्यवस्थाका प्रवक्ताभन्दा पनि अधिनायकवादी हुन् भन्ने कुरा पुष्टि हुँदै छ ।

० दोस्रो संविधानसभाको निर्वाचनका बेला तपाईंको लाइन भाग लिने भन्ने थियो तर विप्लवका कारण निर्वाचन नै बहिष्कार गर्नुभयो र अहिले उहाँहरू बाहिरिएका कारण तपाईंहरूलाई निर्वाचनमा जान सहज भएको हो ?

त्यस्तो त केही होइन, दोस्रो संविधानसभा निर्वाचन हुँदा हामीले निर्वाचन मिति सार्नुस् र कमसेकम सरकारलाई बहुदलीय स्वरूप दिनुस् भनेर हामीले ठूला दलहरूलाई प्रस्ताव गरेका थियौं, तर उहाँहरू मान्न तयार हुनु भएन । त्यसबेला हाम्रो बढी तर्क के थियो भने कमसेकम शक्ति पृथकीकरणको सिद्धान्त अनुसार निर्वाचन हुनुपर्छ भन्ने थियो । तर उहाँहरूले बहालवाला प्रधानन्यायाधीशलाई ल्याएर चुनाव गराउने जिम्मा लाउनुभो, हामी त्यसपछि जनताको संविधान अब बन्दैन भनेर हामीले बाध्य भएर बहिष्कार गरेका  थियौं । त्यो जे ग¥यौं ठीक गर्यौं भन्ने आज पनि महसुस भइराखेको छ । उपयोग पनि त्यही हो । चुनावसम्बन्धी रणनीति त होइन नि कि भाग लिएको लियै, कि बहिष्कार गरेको ग¥यौं गर्नुप¥यो । विप्लवजीले बहिष्कार गर्नुभएको छ । यो कुन उद्देश्यमा आधारित भएर गर्नुभएको हो भन्ने कुरा अहिले भन्ने कुरा होइन । जस्तो लेनिनको कुरा गर्ने हो भने उनले १९०५ मा भाग लिए, ६ मा लिएनन्, ७ मा गएर फेरि लिए र उनले पछि एउटा पुस्तक लेख्ने क्रममा उनले ६ मा पनि भाग नलिनु गल्ती भयो भनेर लेखे । यो सबै समग्रताको मूल्यांकन गरेर हुने कुरा हो । हामीले अहिले त्यही आधारमा सहभागी हुन लागेका हौं ।

० तपाईंले भन्नुभयो नि सँगै जनयुद्ध लडेर आएका नेता देशको प्रधानमन्त्री भएका बेला तपाईंहरूमाथि जुन व्यवहार भएको छ, यसले आगामी निर्वाचन कत्तिको सहज देख्नुहुन्छ ?

निर्वाचन सहज हुन्छ या हुँदैन भन्ने कुरा अलग हो । संसदीय व्यवस्थाको चुनाव सहज रूपमा हुन गाह्रो हुन्छ । विभिन्न तिकडमहरू अपनाइरहेका हुन्छन् । धाँधली हुने क्रम हुन्छ । त्यो नभए पनि अर्काथरीले धाँधली भनिदिन्छन् । हाम्रै प्रचण्ड–बाबुरामहरू अप्ठ्यारो परेका बेला धाँधली भयो भन्न पछि पर्नुभएन । उल्टो पनि धाँधलीको तर्क, सुल्टो पनि धाँधलीको तर्क हुने अवस्था यी व्यवस्थामा आउँछन् । सहज त हुँदैन । अर्को कुरा निर्वाचनको मिति त नजिकिँदै गएका बेला दरबारिया शक्ति र मधेस केन्द्रित शक्तिहरूको जुन अलग अलग लाइन छ यसले ठीक गरिराख्या छैन । मधेसी दलहरूको कोणले देशलाई निकास दिने बाटो पहिल्याइराखेको छैन । जनताबीच दलहरू जान र आफ्ना कुरा राख्न निर्वाचन हुनै पर्छ, यसका लागि वातावरण बनाएर अघि बढ्नु नै जायज हुन्छ ।

० तपाईंहरू संघीय जनगणतन्त्रको लाइन हाम्रो भन्नुहुन्छ, त्यो भन्याचाहिँ के हो ?

हामीले सुरुदेखि नै हाम्रो लाइन संघीय जनगणतन्त्रको लाइन हो भनेर प्रस्ट भनेका छौं, यो सामन्तवाद र साम्राज्यवाद विरोधी हुन्छ, दलाल पँुजीपति, नोकरशाह पँुजीपति र सामन्त वर्गविरुद्ध हुने जनताको राज्यसत्ता नै संघीय जनगणतन्त्र हो । यसमा देशभक्त जनवादी र वामपन्थी शक्तिहरूबीच एकता हुन्छ र प्रतिक्रियावादीलाई अस्तित्व हुँदैन ।

० अहिलेको गणतन्त्र र तपाईंहरूले भनेको गणतन्त्रमा फरक के छ ?

अहिले त हेर्नुस् गणतन्त्रका नाममा यो जित कसको सबैको भन्ने नारा लिएर गणतन्त्रलाई भजाउने काम भएको छ, शासन सत्तामा पञ्चहरूदेखि  लिएर जनयुद्ध गरेर सँगै हिँडेका साथीहरू पनि टाँसिएका छन् । परिवर्तन के भयो त आखिर ? राज्यसत्ता त पुरानै छ त ? हामीले राज्यसत्तामा परिवर्तन खोजेको हो । वर्गको भूमिकामा परिवर्तन खोजेको हो, त्यही प्रक्रियालाई स्विकार्ने  हाम्रो लाइन होइन, अहिलेको गणतन्त्र नाम मात्रैको भयो ।

० जनताले अहिले निर्वाचन चाहेका छन् भन्नु भयो, तर आमजनताले चाहेको निर्वाचनमा पार्टीको तर्फबाट नभई किन मोर्चा बनाएर निर्वाचनमा जान खोज्नुभएको हो ?

हेर्नुस् अब हामी पार्टी दर्ता गर्ने पक्षमा छैनौं, पार्टी दर्ता गरेपछि पार्टी त सक्किहाल्छ नि । अर्को कुरा हामी यो व्यवस्था नै मान्ने पक्षमा छैनौं । अब क्रान्तिको कुरा गरेर हामी निर्वाचनमा जाँदै छौं, पार्टी दर्ता गरेर जाँदा उपयुक्त अवस्था छैन । त्यसमाथि निर्वाचन चिह्नबाट समेत हामीलाई बन्देज गरिएको छ । एउटै युद्ध लडेर आएका साथीहरूबाटै हामीमाथि प्रहार गर्ने काम भएको छ । हामी त्यही कुरा राख्न पनि जनताबीच जुन हैसियतमा भए पनि निर्वाचनमा जानै पर्छ भनेर मोर्चा बनाएरै सहभागी हुने तयारीमा जुटिसकेको अवस्था हो । जनताका बीच गएर हामी सबै कुराको भन्डाफोर गर्ने तयारीमा छौं ।

० निर्वाचनमा सहभागी हुनुअघि सार्नुभएका तर्कहरू के हुन्, बुँदागत रूपमा बताइदिनुस् न ?

पहिलो त यो हामीले गम्भीर धक्का खाएको बेला हो, यही अवस्थामा हामी माथि चढ्नसक्ने उभारको अवस्था छैन । हामीप्रति जनताको ठूलो हिस्साको चासो छ । सबै कुराको भण्डाफोर गर्ने  सही बेला यही हो भनेर क्रान्ति पूरा नभएको विकल्प प्रस्तुत गर्न हामी जनताको बीचमा जान लागेका हौं । अर्को कुरा जनताका बीचमा गएर संगठन बनाउने उपयुक्त बेला पनि भएका कारण हामी निर्वाचनमा केही तर्कसहित जाने निर्णय गरेका हौं ।

० कम्युनिस्ट आन्दोलनलाई प्रजातन्त्रवादीहरूले लिक छाडेको रेल जस्तो भन्छन्, उनीहरू गलत हुन् कि भएको त्यस्तै हो ?

कम्युनिस्ट आन्दोलनको इतिहास हेर्ने हो भने धेरै विचित्र छ । अब प्रचण्ड–बाबुरामकै कुरा गर्ने हो भने योजनाबद्ध ढंगले आन्दोलन तुहाएको कुरा प्रस्ट देखिन्छ । अब सामान्य रूपमा पार्टीभित्र भन्ने कुरा लचकदार भएर जानुपर्छ भन्नुभयो । लचकतालाई त कसैले गलत भन्दैन । विश्वास हामीले बढी ग¥यौं । चुनवाङको बैठकबाट उहाँहरूले जनयुद्ध छाडेर लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा लिएलगत्तै बिग्रिएको बिग्रियै भयो । ठूलो हिस्साले विश्वास ग¥यो, पछि आएर धोका भयो । कम्युनिस्ट आन्दोलनमा त्यस्तै भयो ।
जनयुद्ध गर्ने समूह पछिल्लो हो । त्यो भन्दा अघि झापा आन्दोलनलाई हेर्नुहोस्, भारतमा चारु मजुमदारले दक्षिणपन्थी अवसरवादी राजनीतिलाई धक्का दिएर कम्युनिस्ट राजनीतिको सुरुवात गरे, त्यसैबाट प्रभावित भएर झापा विद्रोह गरेका हुन् । पछि त्यसैको ब्याजले झापा विद्रोही, माले, एमाले हुँदै आए । त्यहाँसम्म आइपुग्दा सबै कुरा छाडे । ख्याल गरौं उहाँहरूले बहुलवाद भन्नुहुन्छ, यो त कम्युनिस्टले भन्दै भन्दैनन् । दार्शनिक रूपमा द्वन्द्ववाद बहुलवाद त हुँदै हुन्न । यो कुरा कांग्रेसलगायत शक्तिले भन्ने कुरा स्वाभाविक हो । किनकि यो उनीहरूकै कुरा हो । एमालेको पनि यस्तै देखियो । कम्युनिस्ट लिकको कुरा गर्नुभयो, तर बाटो छाडे पनि साम्यवादको, कम्युनिस्टको साइनबोर्ड सबैलाई आवश्यक प¥यो, भोटर धेरै त्यता नै छन्, तान्नु प¥यो । त्यसकारण उनीहरूले कम्युनिस्ट भने पनि आन्दोलनमा भने धेरै धोका दिए । त्यसकारण नेपाली कम्युनिस्ट आन्दोलनमा नेतृत्वमा पुगेकाले नै धोका  दिँदै आइरहेको कुरा हो । क्रान्तिकारी धारा राम्रो ढंगले उभिने हो भने सबै एक ठाउँमा भएर जाने अवस्था आउँछ । हाम्रा विगतका धेरै अनुभव छन् । त्यो निश्चित छ ।

 

अहिले संगठन कमजोर अवस्थामा छ। यो अवस्थामा जनताको चासो पनि स्थानीय चुनावमा रहेका कारण जनतामा नजा“दा जनताबाट कटिने अवस्था हुन्छ।

संसद्मा रहेका दललाई मात्रै चुनाव चिह्न दिने भन्ने जुन ऐन आएको छ यो गलत हो।

इतिहासमा संसदीय व्यवस्थामा कलंक लाग्ने दुईवटा काम यिनीहरूले गरेका छन्। जस्तो दोस्रो संविधान सभाको बहुदलीय निर्वाचन निर्दलीय व्यक्तिबाट गराए, अर्को त्यो निर्वाचनमा सहभागी भएकालाई पनि चुनाव चिह्न दिएनन्। यो संसदीय व्यवस्थाकै कलंक हो।

हामीले राज्यसत्तामा परिवर्तन खोजेको हो। वर्गको भूमिकामा परिवर्तन खोजेको हो, त्यही प्रक्रियालाई स्विकार्ने हाम्रो लाइन होइन, अहिलेको गणतन्त्र नाम मात्रैको भयो।

अब हामी पार्टी दर्ता गर्ने पक्षमा छैनौं, दर्ता गरेपछि पार्टी त सक्किहाल्छ नि। अर्को कुरा हामी यो व्यवस्था नै मान्ने पक्षमा छैनौं। अब क्रान्तिको कुरा गरेर हामी निर्वाचनमा जा“दै छौं, पार्टी दर्ता गरेर जा“दा उपयुक्त अवस्था छैन।

० कम्युनिस्टहरू एकताबद्ध भए भने जुन निराशा देखिएको छ, त्यसमा आशा जगाउने र अझै एक भएर सुध्रिने अवस्था छ भन्न खोज्नु भएको हो ?

यिनीहरू नै त सुध्रिँदैनन् । नेतृत्व सुध्रिने सम्भावना म देख्दिनँ किनकि नियोजित रूपमा आएकालाई कसरी सुधार्ने सम्भावना कसरी हुन्छ र । गल्ती, कमजोरी गर्ने, काम गर्दागर्दैका सीमाका आधारमा फसे भने सुधार्ने सम्भावना हुन्छ । जानीजानी गएपछि कसरी सुधार्ने ? अब फेरि त्यहाँ भ्रम, बाध्यता, विवशताले गएका, माओवादी धाराभित्र पनि राम्रा राम्रा मान्छे अलमलिएका छन् । उनीहरूका बीचमा एकीकरण र ध्रुवीकरणको सम्भावना छ, यो गर्न पनि पर्छ ।

० अहिलेको निर्वाचनमा तपाईंहरू पनि जाने, उहाँहरू पनि जाने, उहाँहरूले पनि अहिले क्रान्ति गर्ने अवस्था छैन, त्यही भएर निर्वाचनमा गएका हौं भन्छन्, तपाईहरू पनि त्यही भन्दै हुनुहुन्छ । अनि प्रचण्ड र तपाईंको पार्टीमा के फरक छ ?

ठीक प्रश्न गर्नुभयो, उहाँहरूको उपयोग होइन  संविधानको कार्यान्वयन, त्यसलाई सुदृढ र मजबुत बनाउने हो । उहाँहरूको लक्ष्य त्यो हो । हामी त्यो संविधान र व्यवस्था दुवैलाई मान्दैनौं, मूल फरक यही हो । संविधान र व्यवस्था मानेर जानेहरूका लागि त्यो लक्ष्य हो, हामीले त्यसको भण्डाफोर गर्न र त्यसको विकल्पमा संघीय जनगणतन्त्र हो भन्ने विषय लिएर जान्छौं । मूल फरक भनेको त्यसलाई स्विकार्ने र त्यसलाई अस्वीकार गरेर उपयोग गर्ने विषय हो । हामी अस्वीकार गरेर हाम्रा एजेन्डा स्थापित गराउन उपयोग गर्दै छौं ।

० तपाईंहरू भारतबाट अली बढी झस्किएको जस्तो देखिन्छ, पछिल्लो समयमा चीनको चासो ह्वात्तै बढेको अवस्था छ । यस्तो अवस्थामा राष्ट्रियताको रक्षाको तपाईंहरूको एजेन्डा के हो ?

यो प्रश्न अलि जटिल छ । राष्ट्रियता  जोगाउने सन्दर्भमा हामीले भन्दै आएको विषय भनेको साम्राज्यवाद र विस्तारवादले अली हस्तक्षेप बढाएकै छ । तर, विषय अन्तर्राष्ट्रिय मात्रै होइन । यहाँकै दलहरूको कुरा र आन्तरिक शक्तिमाथि आँखा चिम्लन मिल्दैन । किनकि सत्तामा जानका लागि तिनै तŒवको दलाली र चाकडी भइरहेको छ । त्यो भारतमुखी प्रवृत्ति छ । चिनियाँहरूको भने आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौं भन्छन्, त्यस्तो देखिँदैन पनि । उनीहरूको कुरा स्थायित्वसँग जोडिएको छ, यस्तो अवस्थामा विकास गर्न सकिन्छ भन्ने मान्यतामा आधारित छ । भारतले नेपालमा जहिलेपनि अस्थिरतालाई बढावा दिने काम गरेको छ । धमिलो पानीमा माछा मार्न पाइन्छ भन्ने देखिन्छ । यस्तो अवस्थामा सन्तुलित परराष्ट्र नीति नेपाल आफैंले बनाउनुपर्छ । पञ्चशीलका सिद्धान्त, एकअर्काको सार्वभौम सत्ता मान्ने, एकअर्काको सम्मान गर्ने, हस्तक्षेप नगर्ने मान्यतामा आधारित हुनुपर्छ । उत्तर र दक्षिणको तुलना गरेर बराबरी भन्नुहुन्न, बढी दक्षिणबाट खतरा भएकै छ । कतिपय अवस्थामा उत्तरतिर पनि त्यस्तो देखिन्छ । जस्तो लिपुलेकको कुरा हेर्ने हो भने त्यहाँ चीनले ठूलो गल्ती गरेको छ भनेर हामीले भनेका छौं । त्यसले राम्रो गर्दैन भनेका हौं, गरेन  पनि । दक्षिणतिर जानुभयो भने, सीमास्तम्भ उखेलेका छन्, फालेका छन््, दशगजाभित्रै सडक बनाइरहँदा पनि सरकारले एकजात बोल्दैन । प्रत्येक वर्ष मिचिएको छ । यो असाध्यै चित्त दुख्ने कुरा हो । दलालीकरणको प्रक्रिया असाध्यै भयो । त्यसकारण राष्ट्रिय स्वाधीनताको रक्षाका लागि वैदेशिक प्रतिक्रियावादविरुद्ध होइन, देशभित्रैका शक्तिविरुद्ध पनि लड्नुपर्ने स्थिति आएको छ । यहाँ कांग्रेस कम्युनिस्टको कुरा होइन, सत्तामा बस्नेहरूविरुद्ध लड्नुपर्छ । चाकडी, दलाली गरेर सत्तामा बस्न चाहेका छन् । यो कुरा नांगो रूपमा देखिइरहेको छ । यसले गर्दा स्वाधीनताको प्रश्न गम्भीर छ । देश अप्ठ्यारोमा परेको अवस्थामा सन्तुलनमा रहेर सबै शक्तिसँग सम्बन्ध कायम राख्ने कोसिस हुनुपर्छ ।

० विभिन्न टुक्रामा रहेका माओवादीहरू एक ठाउँमा आउने अवस्था छ कि छैन ?

अहिले छैन । एकै ठाउँमा आउने प्रक्रिया भनेको अब क्रान्तिकारीहरूबीच एकीकरण र ध्रवीकरण मात्रै हो । अब मैले अहिले त्यस्तो सिंगो एकता हुने सम्भावना छैन । संसदीय व्यवस्थाविरुद्ध लडेका साथीहरू त्यही व्यवस्थामा आएर फस्नुभयो । हुने बेलासम्म असाध्यै प्रयास गरेको हो, अब ती नेताहरूसँग एकता असम्भव छ । त्यो माया मारेको कुरा हो । अब त्यही कुरा गर्नु बेकार हुन्छ ।