मुकेशको खुसी

मुकेशको खुसी

घनबहादुर थापा

साँझको ४ बज्यो । विद्यालयका पाले दाइले छुट्टी भएको जनाउ घन्टी बजाए– टङ.. टङ.. टङ..। सबै विद्यार्थीहरू आ–आफ्नो कक्षाकोठा बाहिर निस्के ।मुकेशको अनुहार आज सधैंभन्दा उज्यालो देखियो । भोलिदेखि १५ दिन विद्यालयमा जाडो बिदा भएको पर्ची उसको हातमै थियो ।

‘आमा… ए… आमा’ मुकेशले घरभित्र छिर्नेबित्तिकै खुसीले उफ्रँदै आमासँग भन्यो, ‘भोलिदेखि हाम्रो विद्यालयमा जाडो बिदा भयो । म त भोलि नै हिन्दी सिनेमा हेर्न फिल्म हल जान्छु है ?’विद्यालय बिदा भए पछि मुकेशको अनुहारमा देखिएको खुसीले आमा पनि भित्रभित्रै गद्गद् हुनुभयो । अनि भन्नुभयो, ‘कस्तो अल्छी, पढ्न जानुनपरेपछि यति धेरै खुसी लाग्ने यसलाई † सबै कुरा साँझ बाबा आउनुभएपछि सल्लाह गरौंला । अहिले हातमुख धोएर आऊ, खाजा खाएर आराम गर ।’

विद्यालयबाट घर आएपछि लुगा फेर्ने, सफासुग्घर हुने, खाजा खाने र एकछिन खेल्न गएपछि पढ्न बस्ने त मुकेशका दैनिक काम थिए । आज भने आमाले पढ् नभनेर आराम गर्न भन्नुभयो । त्यसैले पनि आजको दिनलाई उसले झनै फरक दिनका रूपमा पायो । फुरुंग हुँदै ऊ हातमुख धुन धारातिर गयो ।

साँझ बाबा आउनुभयो । मुकेश पनि बाबाको नजिकै गएर बस्यो । उसका ओठ केही भन्न खोजेजस्तो बिस्तारै चलमलाए । आवाज भने निस्केन । आमासँग सजिलै राखेको प्रस्ताव बाबालाई भन्नै सकेन । बाबाले के भन्नु हुने हो ? गाली पो गर्नुहुन्छ कि † मनमनै यस्तै सोच्न थाल्यो उसले ।‘के सोचेको मुकेश ?’ बाबाको प्रश्नले ऊ केही झस्कियो ।आमा पनि त्यही बेला टुप्लुक्क कोठामा छिर्नुभयो ।

‘ल लिनुस् चिया,’ टेबलमा चिया राख्दै आमाले मुकेशतिर हेर्नुभयो । त्यसपछि बाबातिर फर्केर भन्नुभयो,‘भोलि हिन्दी सिनेमा हेर्न जान्छु भन्छ क्या मुकेश । विद्यालय बिदा भएका बेला यसो रमाइलो गर्छु भन्छ ।’आमाले आफ्नो कुरा भनिदिएपछि मुकेश भित्रभित्रै खुसी भयो ।

‘ए, कुरो त्यसो पो । त्यही भएर पो ट्वाल्ल परेर मलाई हेर्दै रहेछ । यति लामो बिदा । स्कुल बिदा भएपछि के काम छ र † दिनभरि सिनेमा हेर्न हलमा जाने विचार होला । गेम खेल्न जाने होला साइबरमा ।’ बाबाले भन्नुभयो ।मुकेश हाँस्यो मात्र ।

फेरि बाबाले भन्नुभयो, ‘कार्टुन हेर्ने होला टेलिभिजनमा । बचेखुचेको समय झुन्डिने होला त्यही ल्यापटपमा । अरू के काम हुन्छ र आजकलका केटाकेटीका ? यस्तै त छ होला नि उसको बिदाको योजना पनि होइन ?’ बाबाले प्रश्न गर्नुभयो ।

ल मेरो मनको कुरा बाबाले कसरी थाहा पाउनुभयो । मुकेश छक्क प¥यो । कतै आमाले त यी सबै कुरा भनिदिनुभएन फोनबाटै ।उसले उल्टै आमाप्रति शंका ग¥यो । उसले तत्काल उत्तर दियो, ‘हो बाबा हो । विद्यालय जानुनपरेपछि अब यसैगरी मनोरञ्जन गर्ने तहो नि † म सिनेमा हेर्न जान्छु है ?’

छोराको रुचि र चाहना सुनेर बाबा एकछिन त अक्क न बक्क पर्नुभयो । अब कसरी सम्झाउने उसलाई ? एकछिनमा बाबाले झोलाबाट यात्रुबसको तीनवटा टिकट निकाल्नुभयो ।

टिकट देखाउँदै भन्नुभयो, ‘ल यो वर्ष जाडो बिदा मनाउन हामी गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने । तराईको ठाउँ भएकाले उता जाडो पनि हुँदैन । मैले पनि कार्यालयमा बिदा लिएको छु ।’

बाबाको कुरा सुनेर मुकेशले निन्याउरो मुख लगायो । आमा छक्क पर्नुभयो ।खाना खाएपछि पनि मुकेशको मुख उज्यालो देखिएन । अनुहार खुलेन । घर छोडेर टाढा जानुपर्ने डर सायद उसको मनमा उब्ज्यो कि । सिनेमा हेर्न नपाइने भएर निराश बन्यो कि । बाबाले पत्तै पाउनुभएन ।भान्सामा भाडावर्तन सफा गरी आमा पनि कोठामा आउनुभयो । अब बल्ल मुकेशले साहस बटुलेर बोल्यो, ‘नाइँ, म त लुम्बिनी घुम्न जान्न, त्यति टाढा गएर के हुन्छ ?’

‘उसलाई जाने इच्छा नै छैन भने किन गइराख्नु त ?’ आमाले उसकै कुरामा सही थाप्नुभयो ।आमाछोराका यस्ता विचारले बाबा निराश हुनुभयो । अब के गर्ने ? उता कार्यालयमा बिदा पनि लिइयो । यात्राका लागि टिकटसमेत लिइसकियो । कति बस्नु यो फोहरले भरिएको काठमाडौं खाल्डोभित्र

मात्र ? बिदाको बेला यसो घुम्न गएर फ्रेस हुन मन लागेको त्यही पनि जानै मान्दैनन् । अब के भनेर सम्झाउने ? उहाँले यस्तै सोच्न थाल्नुभयो, ‘झन् खुसी होलान् भनेर घुमफिरको योजना बनाएको त उल्टो पो भयो ।’ रात छिप्पिने तर्खरमा थियो । मुकेश सुत्न जाने सुरसार गर्दै थियो । बाबाले केहीबेर सोचेर उसलाई सम्झाउने कोसिस गर्नुभयो ।

‘हेर मुकेश तिमी अहिले सानै छौ र बढ्दै पनि छौ । सिनेमा, गेम र कार्टुनमा मात्र धेरै ध्यान दिनुहुँदैन । यी सबै हामीलाई चाहिन्छ, तर थोरै समयका लागि । यस्ता काममा धेरै समय नष्ट गर्नु पनि हुँदैन । काठमाडौं देशको ठूलो सहर र राजधानी पनि हो । बाहिरबाट धेरै मानिसहरू काठमाडौं घुम्न आउँछन् । तिमी यही बस्ने भएकाले काठमाडौं बाहिर के छ ? त्यो हेर्न बाँकी छ । के तिमी यी सब हेर्नका लागि उत्सुक हुन्नौ ?’

मुकेशलाई बाबाले यसरी सम्झाउँदै जानु भयो, ‘गौतम बुद्धबारे त तिम्रो किताबमा पनि धेरै कुरा लेखिएको छ । विद्यालयमा गुरुहरूले पनि पढाउनुभएको होला । हो, तिनै गौतम बुद्धको जन्मस्थल हो लुम्बिनी । पवित्र स्थल लुम्बिनी हाम्रो आँखाको नानी हो । प्राकृतिक सुन्दरता र संस्कृतिले सम्पन्न लुम्बिनीले देशको विशेष पहिचानसमेत बोकेको छ । त्यहाँ गएपछि हामीले हाम्रो देशको महŒवपूर्ण पर्यटकीय स्थलबारेजानकारी पाउनेछौं ।’

बाबाको कुरा सुनेर मुकेशले केही बोलेन । उनी सुनि मात्र रह्यो । उसलाई हलुका निद्रा लागिरहेको थियो । तैपनि, बाबाले आफ्नो कुरा भन्दै जानुभयो,

‘किताबमा पढेका र सुनेका कुराहरू आफ्नै आँखाले देख्न पाउनेछौ । तराईमा मात्र पाइने नयाँ र मीठा–मीठा परिकारहरूको स्वाद लिन पाउनेछौं । हरियालीमा उफ्री–उफ्री लुकामारी खेल्न पाउनेछौं । अरू के–के रमाइलो हेर्ने हो भनिसाध्य नै छैन । लुम्बिनीको भ्रमण गर्न कै लागि भनेर देश विदेशबाट धेरै पैसा खर्च गरेर मानिसहरू नेपाल आउँछन् । हामी भने यति नजिकै पुग्न सकिरहेका छैनौं ।’

बाबाको कुरा सुनेर मुकेशको निद्रा पनि भाग्यो । यी बाहेक अझै के–के देख्न र घुम्न पाइने होला भन्ने कुतकुती लाग्यो । कहिले लुम्बिनी पुग्ने होला भन्ने हतार नै भयो ।अनि उत्साहले बुरुक्क उफ्रेर भन्यो, ‘हुन्छ बाबा, हामी लुम्बिनी जाने । उताबाट फर्केपछि साथीहरूलाई कति रमाइला कुरा सुनाउन पाइएला ।’ मुकेशको खुसीले घरमै खुसी ल्यायो । बिहान सबेरै उठेर यात्रा तय गर्नु निर्णय भयो । त्यसैले, सबैजना सुते ।