स्वाइनफ्लुविरुद्ध सचेतना जरुरी

स्वाइनफ्लुविरुद्ध सचेतना जरुरी

 

नेपालमा स्वाइनफ्लुको खतरा बढेकाले आम सर्वसाधारण सचेत हुनुपर्ने भएको छ । विगतको तुलनामा यसपालि कडा खालको स्वानफ्लु भेटिएकाले सामान्य रुघा, खोकी लाग्दा समेत सचेत हुनुको साथै समयमै स्वास्थ्य जाँच गराउन जरुरी छ । अहिले आएको स्वाइनफ्लु भाइरसको खोप नेपालमा नपाइने हुँदा बलैमा सावधानी नअपनाए बिरामीको ज्यानसमेत जाने खतरा उत्तिकै छ । लगातार खोकी लाग्ने, घाँटी खसखसाउने, १० दिनसम्म कडा ज्वरो आए स्वाइनफ्लु भाइरसको खतरा हुन सक्ने चिकित्सकले सुझाएका छन् । त्यसकारण यदि कसैलाई त्यस्तो लक्षण देखिएमा सचेत हुन र स्वास्थ्य जाँच गराउन चिकित्सकले सल्लाह दिएका छन् ।

यद्यपि, नेपालमा स्वाइनफ्लुको भाइरस देखिएको यो नै पहिलोपटक होइन । यसअघि पनि देखिएको थियो । अघिल्लोपटक अमेरिकाको क्यालिफोर्निया राज्यबाट आएको भाइरस तुलनात्मक रूपमा नरम थियो । बेलैमा उपचार गर्दा बिरामीको अवस्था ठीक हुन सक्थ्यो । विगतमा स्वाइनफ्लु भएका मध्ये कतिपय उपचार पनि निको भएका पनि थिए । अहिले देखा परेको भाइरस अमेरिका युरोप हुँदै भारतसम्म आइपुगेको मिचिगन स्टे«न नामक स्वाइनफ्लु भएकाले यसको असर खतरनाक हुन सक्छ । अर्को कुरा मिचिगनको भ्याक्सिन अहिले नेपालको कुरै छाडौं, भारतमा समेत उपलब्ध छैन । त्यसकारण पनि यो भाइरसको संक्रमण भएमा मान्छेको ज्यानै जान सक्ने खतरा छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंको केन्द्रीय प्रयोगशालामा रगत परीक्षण गराउनेमध्ये २० प्रतिशत बिरामीमा स्वाइनफ्लुको लक्षण देखिएबाटै अनुमान गर्न सकिन्छ । स्वाइनफ्लुले कुनै पनि बेला महामारीको रूप लिन सक्छ । स्वस्थ मान्छेलाई त यसको असर पर्छ नै, अंग प्रत्यारोपण गरेका दम, छातीको संक्रमण, मुटुका रोगीहरूमा यसको असर बढी पर्छ । अर्को कुरा स्वाइनफ्लु सरुवा रोग भएकाले पनि कसैलाई संक्रमण भइहालेमा जोसुकैलाई रोग लाग्ने खतरा हुन्छ ।

स्वाइनफ्लु सुँगुरबाट लाग्ने भएकाले नेपालमा यसको जोखिम धेरै छ । हिमाल, पहाड, तराई सबै क्षेत्रमा सुँगुर, बुंगुर पाल्ने चलन भएकाले यसको संक्रमणले भयावह रूप नलेला भन्न सकिन्न । तसर्थ सुँगुर बुंगुर पालनमा लाग्नेहरूले सरसफाइमा विशेष ध्यान दिन जरुरी छ । जहाँ सुँगुर बुंगुर पालिएको छ खोरको सरसफाइदेखि त्यस स्थानमा काम गर्नेले पनि विशेष सावधानी अपनाउनुपर्छ । यो रोग जटिल खालको सरुवा रोग भएकाले दैनिक जीवनयापनका क्रममा पनि सावधानी अपनाउनु जरुरी छ । सार्वजनिक ठाउँमा हिँड्दा माक्स अनिवार्य लगाउनुपर्छ भने खाना खानुअघि र पछि साबुन पानीले अनिवार्य हात धुनैपर्छ । जटिल खालको भाइरसको भ्याक्सिनसमेत अभाव भएको थाहा भइसकेपछि यसको संक्रमण हुनै नदिनु सबैभन्दा उत्तम कार्य मानिन्छ । त्यसका लागि सरसफाइमा चासो दिने मात्रै हो भने पनि केही हदसम्म संक्रमणबाट जोगिन सकिन्छ ।