भोजपुरका गाउँमा सिकाइयो नाटक

राजधानी समाचारदाता

काठमाडौं, ६ वैशाख

नाटक मञ्चन गाउँबाटै सुरु गर्न नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले नयाँ वर्षको अवसर पारेर ग्रामीण नाट्य प्रशिक्षण दिएको छ । भोजपुर टेम्के–मैयुँ गाउँपालिका वार्ड नं. २ छिनामखु नौला गाउँमा स्थानीय कलाकारलाई १० दिनको नाट्य प्रशिक्षण दिइएको हो ।

श्री नौला गाउँ आदर्श प्रावि नौला गाउँमा उनीहरूलाई चैतको अन्तिम साताबाट नाट्य अभिनय एवं प्रशिक्षण दिइएको सो प्रतिष्ठानका सदस्य–सचिव एवं अग्रज गायक गणेश रसिकले जानकारी गराएकाछन् । त्यस क्षेत्रका ३० भन्दा बढी बालबालिका तथा युवा प्रशिक्षणमा सहभागी भए ।

उनीहरूलाई रंगकर्मी सोनु जयन्तीले अभिनयसम्बन्धी प्रशिक्षण दिए । प्रशिक्षण अवधिमा उनीहरूलाई नृत्य निर्देशक केशवराज राईले तीनदिने नृत्य र वाद्यवादक लोकराज राईले तीन दिनको संगीतसम्बन्धी प्रशिक्षण दिएका पनि सदस्य–सचिव रसिकले बताए ।

अभिनय सिकेका कलाकारहरूले नयाँ वर्षको अवसर पारेर प्रशिक्षण समापन कार्यक्रम आयोजना गरे । प्रतिष्ठानका सदस्य–सचिव रसिकको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा ज्ञानीमाया बस्नेतको लेखन तथा निर्देशनमा ‘नानीको सपना’ मञ्चन गरे । सोही कार्यक्रममा कविता बस्नेतको निर्देशनमा ‘गाउँघरको कथा’ र स्यारोना तामाङको निर्देशनमा ‘आमा’ नाटक मञ्चन गरे ।उनीहरूले पूर्वको माया… गीतमा नृत्यसमेत प्रस्तुत गरे । प्रगतिशील कलाकार समूह छिनामखुले पनि नाटक र नृत्यहरू पस्किएर दर्शकहरूलाई मनोरञ्जन दिलाएको थियो । समापन समारोहमा पूर्वसंस्कृति तथा पर्यटनमन्त्री एवं सांसद् कृपाशुर शेर्पा र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव रसिकले प्रशिक्षक तथा प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरे ।