एमालेद्वारा ३४ उम्मेदवारको नाम सिफारिस

रुद्र सुवेदी / राजधानी

नेपालगन्ज, ६ वैशाख

स्थानीय तह निर्वाचनका लागि एमाले बाँकेमा तल्लो कमिटीबाट विवादरहित रूपमा प्रमुख र उपप्रमुख गरी ३४ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरी कमिटीमा पठाएको छ । एमालेले नेपालगन्ज उपमहानगरपालिकाको मेयरका लागि पूर्वउपमेयर शमसुद्धिन सिद्धिकी, एमाले नेपालगन्ज नगर कमिटी अध्यक्ष दत्तप्रसाद आचार्य र व्यवसायी विजय गुप्ताको नाम परेको छ ।

यसैगरी, नगरको उपप्रमुखका लागि एमालेले महिला नेतृ शान्ति ढकाल, तुल्सा थापा र रचना श्रेष्ठको नाम सिफारिस गरेको छ । यस्तै, कोहलपुर नगरपालिकाको प्रमुख र उपप्रमुखका लागि पनि उम्मेदवार सिफारिस गरेको छ । जसमा नगर प्रमुखका लागि लुटबहादुर रावत, वसन्ती अधिकारी र खिलप्रसाद भुसाल तथा उपप्रमुमखका लागि कृष्ण चौधरी, मन्जु कोइराला र फरेन थारूलाई सिफारिस गरेको एमाले बाँकेले जनाएको छ ।

यस्तै, बैजनाथ गाउँपालिकाको अध्यक्ष पदका लागि घननाथ खनाल, मानबहादुर रुचाल, एकता शाहको नाम सिफारिस गरेको छ । यसै गाउँपालिकाको उपाध्यक्ष पदका लागि भगवती शाह, प्रेमपूर्ण योगी र शारदा विकको नाम सिफारिस भएको छ ।

राप्ती–सोनारी गाउँपालिकाको अध्यक्ष पदका लागि पार्टीले रामदास थारू, तुलसीराम थारू, सेवानिवृत्त शिक्षक लालबहादुर थापालाई सिफारिस गरिएको छ । यस्तै, उपाध्यक्षमा चमेली बावन, पार्वती वटला र कमला चौधरीको नाम सिफारिस गरिएको छ ।

यस्तै, जानकी गाउँपालिकाको अध्यक्षका लागि पदम धितालको मात्र नाम सिफारिस भएको छ । यसैगरी, खजुरा गाउँपालिकामा एमालेका जिल्ला प्रचार विभाग प्रमुख किस्मतकुमार कक्षपति, होमनाथ सापकोटा र लालबहादुर खत्रीको नाम सिफारिस भएको छ भने उपाध्यक्षमा एकमाया विक, महेश्वरी गौतम, प्रेमा लामा, पवित्रा वली, साजरु निशा र गौमती यादव रहेका छन् । नरैनापुर गाउँपालिकामा प्रमुखका लागि विक्रम यादवको नाम सिफारिस हुने बुझिएको छ भने डुडुवा गाउँपालिकाको वडा अध्यक्षका लागि मिनबहादुर थापा, कप्तान पाठक, शकिल खान इच्छुक रहे पनि गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित वडा अध्यक्षहरूको पूर्ण रूपमा सिफारिस हुन नसकेको एमाले बाँकेले जानकारी दिएको छ ।

माओवादी केन्द्रबाट उम्मेदवार सिफारिस

नेकपा मओवादी केन्द्रले बाँकेका ६ गाउँपालिका, एक नगरपालिका र एक उपमहानगरपालिकामा पार्टीको तर्फबाट प्रमुख उपप्रमुखको उम्मेदवारको नाम सिफारिसगरेको छ । माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीका अध्यक्ष गोपाल पुनका अनुसार नेपालगन्ज उपमहानगरपालिकाबाट मेयरमा अतहर हुसेन फारुकी, नवीन शर्मा र दामोदर आचार्य सिफारिसमा परेका छन् भने उपमेयरमा पार्वती पुन ‘उषा’, शिला श्रेष्ठ र सर्वतआरा अन्सारीको नाम सिफारिस भएको छ ।

यसैगरी, कोहलपुर नगरपालिकामा नरेन्द्र न्यौपाने मेयरमा र देवी थारू उपमेयरमा सर्वसम्मत रूपमा सिफारिसमा परेका छन् । नेता पुनका अनुसार डुडुवा गाउँपालिका प्रमुखमा भोला यादव र उपप्रमुखमा प्रेमा शाहीको नाम सिफारिस भएको छ । जानकी गाउँपालिकामा रक्षाराम बर्माको नाम प्रमुखमा सिफारिस भएको छ भने उपप्रमुखमा नाम टुंगो लागिसकेको छैन । बैजनाथपुर र खजुरा गाउँपालिकामा उम्मेदवार धेरै भएका कारण कसैको पनि नाम टुंगोे लाग्न सकेको छैन ।

जिल्लाको सुदूरपूर्वको राप्ती सोनारी गाउँपालिकामा २०६४ सालको संविधान सभाका सभासदसमेत रहेका पट्टु थारूको नाम प्रमुखमा, रेणुका खड्का र आस्माली पुनको नाम उपप्रमुखमा सिफारिस भएको छ । नरैनापुर गाउँपालिकामा मेराज खाँको नाम सिफारिस भएको छ भने उपप्रमुखमा कसैको पनि नाम टुंगोमा पुग्न नसकेको नेता पुनले बताए ।

नेपालगन्जको उपमेयरमा सबै दलबाट महिलाकै चर्चा

प्रदेश नम्बर ५ को सबैभन्दा ठूलो र पुरानो सहर नेपालगन्जमा स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखको चर्चामा लागिरहँदा उत्तिकै जिम्मेवारीमा रहने उपमेयरका प्रत्यासी हुन इच्छुक प्रत्यासीले आपूmहरू माथि विभेद गरिएको गुनासो गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाको उपमेयरका लागि अधिकांश दलले महिलालाई अघि सार्ने लक्षण देखाएका छन् । एमाले बाँकेले अनेमसंघ केन्द्रीय सदस्य तथा एमाले प्रदेश–५ की सदस्य शान्ति ढकाल, युवा व्यवसायी रचना श्रेष्ठ र एमाले बाँके सचिवालय सदस्य तुल्सा थापालाई विभिन्न चरणको छनौट प्रक्रिया पार गर्दै जिल्ला कमिटीमा पठाएको छ ।

ढकाल यसअघि २०७० को संविधान सभामा सूचीमा रहेकी उम्मेदवार हुन भने युवा व्यवसायी श्रेष्ठ लामो समयसम्म नेपालगन्ज उद्योग वाणिज्य संघमा नेतृत्वदायी भूमिकामा रहेकी महिला नेतृ हुन् । सत्तारूढ नेपाली कांग्रेसबाट नेपाल महिला संघ बाँकेकी अध्यक्ष नारायणी रुपाखेती, नेपाली कांग्रेस जिल्ला कार्यसमित बाँकेकी सदस्यसमेत रहेकी सञ्चारकर्मी उमा थापामगर, ऋचा द्विवेदी, माया पुनमगर, रत्ना राणा, कमला भट्ट, भारती जोशी, पुष्पा शुक्लालगायतको नाम चर्चामा छ । उमा २०७० सालको संविधान सभामा बन्द सूचीमा रहेकी उम्मेदवार हुन् ।

त्यसैगरी, माओवादी केन्द्रको तर्फबाट पार्वती पुन ‘उषा’, शिला श्रेष्ठ र सर्वतारा अन्सारीको नाम सिफारिस भएको छ । राप्रपाबाट नेपालगन्जको उपमेयरमा पार्टीबाट कसैको पनि सिफारिस नभए पनि मधेसी नेतृ सन्तोषी सिंंह, बिन्दु घर्र्तीमगर, विष्णुसिंह ठकुरी र इन्दिरा शाहीको दाबेदारी रहेको बुझिएको छ । पार्टीनिकट स्रोतका अनुसार मधेसी मूलकी महिला उठाउने गरी तयारी अगाडि बढाएको छ ।