अवैध अफिम खेती नष्ट

ओपेन्द्र बस्नेत / राजधानी

दाङ, ६ वैशाख

रुकुममा ४५ बिघा क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरेको जिल्ला प्रहरी कार्याल रुकुमले जनाएको छ । स्थानीयले अवैध रूपमा लगाएको अफिम खेती १ हजार प्रहरी परिचालन गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायब उपरीक्षक अंगुर जिसीले जानकारी दिएका छन् ।

१५ दिनसम्म दैनिक ७० जनाको संख्यामा प्रहरी परिचालन गरी अफिम खेती नष्ट गरिएको उनले बताए । जिल्लाको स्यालाखदी, मग्मा, पुली, सिस्ने, जाँग, प्वाङ, सिम्ली, स्याँलापाखालगायतका स्थानमा स्थानीयले अफिम खेती गरेका थिए ।

स्थानीयले बोटमा प्रतिकिलोग्राम ८० हजार, खलंगा पु¥याएमा १ लाख १५ हजार, दाङमा २ लाख र भारतमा ४ लाखमा लगेर बिक्री गर्दा रहेछन्, प्रहरी नायब उपरीक्षक जिसीले भने । अघिल्लो वर्ष पनि करिब ७० बिघामा लगाएको अवैध अफिम खेती प्रहरीले नष्ट गरेको थियो । विगतको वर्षभन्दा अहिले अफिम खेती गर्नेको संख्यामा कमी आएको प्रहरीले जनाएको छ । पहिले घरनजिकै खेती लगाउने स्थानीयले अहिले घरदेखि टाढा लगाउने गरेको प्रहरीले बताएको छ ।

किन लगाउँछन् अफिम ?

अन्नबालीभन्दा अवैध लागूऔषध अफिम मह“गो मूल्यमा बिक्री हुने भएकाले स्थानीय यसको खेतीमा आकर्षित भएको प्रहरीको निष्कर्ष छ । ४÷५ हजार मूल्यबराबारको अन्नबाली उब्जाउ हुने ठाउँमा अफिम खेती गरे ४ लाख रुपैयाँसम्मको अफिम उत्पादन हुन्छ, प्रहरी स्रोतले भन्यो । नियमित अन्नबालीको खेतीभन्दा अवैध अफिम खेतीमा कम लगानी र परिश्रम पनि धेरै गर्नुनपर्ने भएकाले स्थानीयले जोखिम मोलेर भए पनि यसको खेती गर्दै आएका छन् ।

सजिलै पक्राउ पर्दैनन् खेतीवाल

खेती लगाउने व्यक्तिको पहिचान नखुल्दा अफिमका खेतीवालहरू सजिलै पक्राउ पर्दैनन् । गाउँघरदेखि टाढा र भीरपाखाको ऐलानी जग्गामा खेती गर्ने हुनाले जग्गाधनी पत्ता लगाउनसमेत कठिन हुने प्रनाउ जिसीले बताए । अफिम खेतीबारे सोधखोज गर्दा स्थानीयले समेत सही जानकारी नदिने हुँदा अवैध अफिम खेती नियन्त्रण गर्न समस्या भएको उनले स्वीकार गरे । सोधखोज गर्दा कसैले केही भन्दैनन्, प्रनाउ जिसीले भने । खेती गर्नेहरू ८÷१० जना मात्र पत्ता लाग्न सके र तिनलाई कारबाही गर्न सके अवैध अफिम खेती न्यूनीकरण गर्न सकिने प्रहरीको आँकलन छ ।