चुनावी घोषणापत्र द्वन्द्व मेटियोस्, समृद्धि भेटियो

चुनावी घोषणापत्र  द्वन्द्व मेटियोस्, समृद्धि भेटियो

 

स्स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर राजनीतिक दलहरू घोषणापत्रमा जुटेका छन् । १९ वर्षको रिक्ततापछि स्थानीय तहमा प्रतिनिधित्व गर्ने आफ्ना उम्मेदवारले के प्रतिबद्धता जनाउने भन्ने अन्योल कार्यकर्तामा छ । दलहरूले त्यसैपनि घोषणापत्र निर्माण गरी कार्यकर्तालाई दिशानिर्देश र जनतालाई आश्वस्त पार्न सकिरहेका छैनन् । नयाँ संरचनाअनुसार हुन गइरहेको पहिलो निर्वाचन भएकाले पनि दलीय घोषणापत्र एजेन्डामा मात्र नभई प्रक्रियामा समेत केन्द्रित हुुनपर्ने अवस्था छ । कसलाई, कसरी र कुन प्रक्रियाबाट मतदान गर्ने भन्ने अन्योल मतदातामा छ । राजनीतिक दलहरू स्थानीयस्तरमा आफ्नो शक्तिको पूर्वआँकलन गर्नसमेत नसक्ने अवस्थामा छन् । यसअघि भएका दुईवटा संविधानसभा निर्वाचनमा मत माग्ने आधार र स्थानीय तह निर्वाचनमा मत माग्ने आधारसँगै एजेन्डा पनि बिलकुल फरक भएकाले दलहरूको घोषणापत्र कस्तो हुनेछ भन्ने व्यग्र प्रतीक्षा छ ।

घोषणापत्र तयारीका क्रममा दलका नेताबाट व्यक्त धारणाले अझै उनीहरू स्थानीय आवश्यकताको नजिक पुग्न सकेका देखिँदैन । जस्तो स्थानीय तह लक्षित घोषणापत्र समाजवादउन्मूख हुने वाम दलहरूको दाबीलाई लिन सकिन्छ । यसले दलहरूले स्थानीय तहको आवश्यकतालाई समृद्धि र समाज विकासभन्दा राजनीतिक आदर्श संस्थागत गर्न प्रयोग गरेको देखाउँछ । मुलुक लामो द्वन्द्वबाट भर्खर तंग्रदै गरेको अवस्थामा छ । स्थानीय विकास निर्माणदेखि लिएर राजनीतिक दलहरूको विकासमा सहभागिता कमजोर अवस्थामा छ । त्यसैगरी, जनताले सुशासनको स्वाद गहकिलो गरी चाख्न पाएका छैनन् । स्थानीय तह स्तरका आवश्यकता र चाहना के हो ? विगतको लामो द्वन्द्वले पारेको असर स्थानीयस्तरमै कसरी मेट्न  सकिन्छ ? यस्ता थुप्रै सवाल छन् । गाउँमा बेरोजगारको संख्या बढ्दो छ । कतिपय स्थानको आर्थिक स्रोत रेमिट्यान्स मात्र बनेको छ । खेतबारी बाँझो छाडेर कमाउन बिदेसिनेको लस्कर रहर होइन, बाध्यता हो । आफैं केही गर्न खोज्नेका लागि वातावरण नहुँदा उनीहरू पलायन भएको यथार्थलाई निर्वाचनको सम्मुखमा दलहरूले नजिकबाट नियाल्न सके भने घोषणापत्र परिणाममुखी बन्ने देखिन्छ ।

संविधानसभाको निर्वाचनमार्फत बनेको संविधान संस्थागत नहँुदै अथवा संस्थागत गर्ने खुट्किलोका रूपमा मुलुकले स्थानीय निर्वाचन गर्नुपर्ने अवस्था आएको छ । यसबेला दलका घोषणापत्रहरू राजनीतिक एजेन्डामा मात्र केन्द्रित भए भने जनताका तमाम समस्या छायामा पर्न सक्छन् । यति धेरै व्यावहारिक र सामाजिक समस्या छन्, जसको सम्बोधन निर्वाचनले गर्नुपर्नेछ । दलका घोषणापत्रले खेत बाँझो राखेर बिदेसिनेलाई घर फर्कने वातावरण बनाउन आश्वस्त पार्नुपर्नेछ । लामो द्वन्द्वमा दुई पक्ष भएर लडेका छिमेकीका मन र मुटुलाई एकै ठाउँमा जोड्नुपर्नेछ । अर्थात्, गाउँमा अनुभूत गर्ने शान्तिको स्थापना हुनुपर्नेछ । स्थानीय बाटोघाटो र पुल बनाउने कुरासँगै स्थानीय जनताको अन्योल, रिक्तता र तिक्तता मेटाउने एजेन्डा तथा योजना घोषणापत्रले बोक्नुपर्नेछ । दलका घोषणापत्रले सबैभन्दा महŒव विगतका द्वन्द्वको घाउलाई मेट्ने गरी समृद्धिको नयाँ मार्गचित्र घोषणापत्रमा समेट्नुपर्नेछ ।