भारतमा ‘लालबत्ती’ संस्कार अन्त्यको घोषणा

नयाँ दिल्ली  /  एजेन्सी– भारतमा मन्त्री तथा संसदहरूले चढ्ने सवारीसाधनमा लगाइँदै आएको साइरन जडित रातो बत्ती हटाइने भएको छ । केन्द्र सरकारले १ मेदेखि लागू हुने गरी पुरै देशभर ‘लालबत्ती’ लगाउन रोक लगाउने भएको हो ।

यो फैसला भएसँगै केन्द्रीय मन्त्रीहरूले आफ्ना सवारीसाधनमा लगाइएका बत्तीहरू निकाल्न सुरु गरेका छन् । भारतीय केन्द्रीय मन्त्रिपरिषद्को बैठकले लालबत्तीको संस्कारलाई अन्त्य गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयको अवज्ञा गर्नेलाई कारबाहीसमेत गरिने भएको छ । यातायातमन्त्री नितिन गडकरीले भने, ‘मन्त्रीहरू जहाँ पनि लालबत्तीसहित निस्किँदै आएका थिए यसले आम मानिसमा मन्त्री तथा नेताहरू पनि आक्रोश सिर्जना भएको थियो जुन भीआईपी संस्कार थियो, जुन लालबत्तीसँग जोडिएको थियो ।’ उनले यो नियम पालना नगर्नेलाई कानुनी कारबाही हुनेसमेत चेतावनी दिए ।

‘यो एकदम राम्रो नर्णय हो, यो निर्णयले जनतामा नेताहरूको छविलाई सुधार गर्नेछ’, मन्त्री गडकरीले भने, ‘सबै नेताहरू एकै हुनुपर्छ सबैले लाइनमा बस्नुपर्छ विदेशमा मन्त्रीहरू सार्वजनिक यातायात चढ्ने संस्कृति रहेको छ ।’ भीआईपी संस्कारको अन्त्यका लागि यो निर्णय आवश्यक रहेको उनको भनाइ थियो ।

यो निर्णयसँगै अब एम्बुलेन्स, फायर ब्रिगेड र प्रहरीलगायतका अत्यावश्यक सेवाका गाडीले मात्र साइरनसहितको बत्ती राख्न पाउनेछन् । जुन नीलो रङको हुनेछ । यो निर्णय प्रधानमन्त्री नरेन्द्र मोदीले आफैं लिएका हुन् । जसलाई बुधबारको मन्त्रिपरिषद्को बैठकमा निर्णयार्थ पेस

गरेका थिए । यो निर्णय लागू गर्नका लागि सरकारले ‘सेन्ट्रल मोटर भेइकल रुल (केन्द्रीय सवा™ीसाधन नियम) १९८९’ लाई संशोधन गरिनेछ । यही नियमअनुसार केन्द्र र राज्य सरकारका भीआईपी तथा मन्त्रीहरूले नीलो तथा रातो बत्ती जडित गाडी चढ्दै आएका थिए । केन्द्र सरकार तथा राज्य सरकारलाई यो नियमले कुन गाडीमा बत्ती जडान गर्ने भन्ने निर्णयको अधिकार दिएको थियो ।

यो आदेश बमोजिम नियममा रहेको सो अधिकार कटौती भएको छ । जुन अधिकारअन्तर्गत भीआईपीलाई बत्ती राख्न अनुमति दिइँदै आएको थियो । मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै वित्तमन्त्री अरुण जेट्लीले यो नियम कसैका लागि पनि छुट नहुने बताए ।