बाबरी मस्जिद काण्ड , आडवाणीसहित १३ भाजपा नेताविरुद्ध मुद्दा

एजेन्सी

नयाँ दिल्ली, ६ वैशाख

बाबरी मस्जिद काण्डमा भाजपाका १३ नेताहरूमाथि आपराधिक गतिविधिमा संलग्न भएको भन्दै सर्वोच्च अदालतको मुद्दा चलाउनका लागि अनुमति दिएको छ । सीबीआईले भाजपाका १३ नेतामाथि मुद्दा दायर गर्न अनुमति माग गरेको थियो ।

९ डिसेम्बर १९९२ मा भएको सो घटनामा पूर्वउपप्रधानमन्त्री लालकृष्ण अडवाणी, पूर्वमानव संसाधनमन्त्री मुरली मनोहर जोशीसहित हालकी जल संसाधनमन्त्री उमा भारतीसहितका १३ जनामाथि मुद्दा चलाउन अनुमति दिएको हो ।

अदालतले २५ साल पुरानो यस घटनाका सबै सन्धिग्दहरूमाथि आपराधिक मामिलामा मुद्दा चलाउन अनुमति दिएको हो । सो घटनामा कुनै सयमका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीपछिका शक्तिशाली नेता आडवाणीसहितका नेतृत्वलाई मुद्दा लाग्ने भएको हो । उनी हाल गुजरातको गान्धीनगर लोकसभा सिटबाट सांसद छन् । यस मुद्दामा मुछिएका अर्का नेता जोशी बाचपेयी सरकारका मानव संसाधन मन्त्री थिए । हाल उनी भाजपाको मार्गदर्शक मण्डलमा छन् र उत्तर प्रदेशको कानपुरबाट सांसद रहेका छन् ।

त्यस्तै मोदी सरकारकी जल संशाधन मन्त्री भारतीलाई पनि यस काण्डमा मुछिएको छ । उनी मध्यप्रदेशकी पूर्वमुख्यमन्त्री हुन् । उनी बाजपेयी सरकारमा समेत मन्त्री थिइन् । सर्वोच्च अदालतको यो आदेशसँगै विपक्षीहरूले उनको राजीनामा माग गरेका छन् । राम जन्मभूमि आन्दोलनका प्रमुख अभियन्ता विनय कटियारलाई समेत यस मुद्दामा मुछिएको छ । विश्व हिन्दू परिषद्को युवा संगठन बजरंग दलका पूर्वअध्यक्ष कटियार हाल भाजपाको तर्फबाट राज्यसभामा सांसद छन् । त्यस्तै, विश्व हिन्दू परिषद् र राष्ट्रिय स्वयंसेवक संघकी साध्वी ऋतभरा दुर्गा बाहिनीकी पूर्वअध्यक्ष हुन् । उनीमाथि समेत मुद्दा चलाउन अनुमति पाएको छ । त्यस्तै विष्णुहरि डालमिया, सतीश प्रधान, सीआर बंसल, आरबी वेदंती, जगदीश मुनि महाराज, बीएल शर्मा, नृत्य गोपाल दास, धर्म दासमाथि पनि मुद्दा चलाउन अनुमति दिइएको छ ।

अदालतको फैसलाप्रति भाजपा नेताहरूले आक्रोश व्यक्त गरेका छन् । भाजपा नेता विनय कटियारले अदालतको फैसलालाई आपराधिक जालझेलको संज्ञा लिँदै फैसलामा सहमत नभएको बताएका छन् । उनले सीबीआईले आफूहरूलाई फसाउने योजनामा यो मुद्दालाई अगाडि बढाएको आरोप लगाएका छन् ।