आध्यात्मिक सारमा अडेको मानव समाज

आध्यात्मिक सारमा अडेको मानव समाज

रमेश भट्टराई ‘सहृदयी’

वेदले व्यावहारिक, श्रमशीलता, सामाजिक एकता, नैतिक आदर्श अनि स्वास्थ्य शिक्षा र मानवीय गुणको धर्मलाई सिकाएको छ । त्यहाँ खुसी र परम आनन्दको प्रस्फुटन गर्न सिकिँदो रहेछ । वैज्ञानिक आचरण तथा आयुर्वेदमा स्वास्थ्य र औषधोपचारका विषय छन् । सामवेद संगीतको अपरिमेय ज्ञानसँगै गुन्गुनाउँछ । राम राज्यको आदर्श, विदुरको धर्मनीति, अर्थनीति र राजनीतिको शासन विद्या, युधिष्ठिरको सत्यता, शिव ताŒिवक आचरण सबै मानवीय सर्वश्रेष्ठताका लागि रहेछ । कर्ण र शिवीजस्तो दानी, गौतमबुद्धजस्तो शान्तिदूत, काम–क्रोध–लोभ–मोहरहित राजर्षि जनकको सुशासनमा बाँचेको वैज्ञानिकता कति चोखो आदर्शमा मजबुत छ ।
अध्यात्म ज्ञान केवल व्याख्या र बहस गर्ने आदर्शवादी दर्शन मात्र होइन रहेछ । आध्यात्मिक आँखाले धर्मसँग भएको विज्ञानमा सात्विक शान्तिको निखार देखाउँदो रहेछ । वेदव्यास एक्लैले लेखेका शास्त्र ज्ञानको वैज्ञानिक, राजनीतिक वा आर्थिक, सामाजिक ज्ञानको अथाह सामथ्र्यसँग कसैले जुहारी खेल्नु त फलामको चिउरा चपाएर पचाउनु सरह बनिदिन्छ । आध्यात्मिक पृष्ठमा मान्छेदेखि चराचर जीव र जगत्को सृष्टि, स्थिति र सञ्चालन ब्रह्मा, विष्णु र महेश्वरको शक्तिमा निर्भर हुन्छ । आत्मामा परमात्मा हुन्छन्, शरीर नाशवान छ । ईश्वर, परमेश्वर, अल्लाह या परमात्माको शक्तिले होस्– अध्यात्मवाद जीवन र जगत्को सत्य पक्षसँग निकट देखिन्छ । कुनै शक्तिकै कारण त संसारको उत्पत्ति, विकास र प्रलय हुन्छ भन्ने विश्वास जोडिन्छ । शास्त्रले ‘सर्वम् खल्बिदम् ब्रह्म’ को सर्वव्यापी रूपमा ब्रह्माण्ड शक्तिलाई उद्घोष गरेको छ । दैवी शक्ति, विश्वास र ईश्वरीय अर्चनाबाटै मानव जीवनले शान्ति र मोक्षको गन्तव्य खोज्छ । यसर्थ, अध्यात्म सारमा भित्रतिर हेर्न जान्ने मान्छेले जीवन र जगत्लाई बुझ्न सक्छ ।

मानिस जति घमण्डको पोको बोकेर जिउँछ, त्यति दुःखी छ, यान्त्रिक बनेको छ । सुख खोज्छ, तर खुसी हुन सक्दैन । मानवता र अनुशासनको भण्डारणमा उपयोगी लाग्छ । आज स्वार्थले गाँजेर लालची बन्ने शासकहरूले सत्यता कुल्चँदा नैतिकता मकाएको छ, समाज आक्रान्त छ । आध्यात्मिक अनुशासन र आचरणलाई सन्त महात्माका वाणीसँग तौलेर आज मानिसले व्यावहारिक ज्ञानलाई धर्मको पगरी गुथाइदिन्छ । जीवन र जगत्को रहस्यलाई खोतल्न अनि जतिसुकै नवीन आविष्कार गरोस् मृत्युलाई बुझ्न र मृत्युसँग लड्न यान्त्रिक जीवन असक्षम बन्छ । विज्ञानको आविष्कारले अणु परमाणुको सामथ्र्यलाई चिने, तर त्यहाँ अनुशासन मर्दै छ । सामाजिक मर्यादाको भ्रूण हत्या भइरहेका विचलित अवस्थाले आज पारिवारिक संरचना उथलपुथल भइरहेका छन् । मानिसमा संवेदना, मानवता र सत्यता पतन भइरहँदा विश्वास र आशा मर्दै छन् । परिणाममा मानिसले सिंगो जीवनको अस्तित्व नदेखेर मानसिक रोगी भइरहेका छन् । सामाजिकीकरण वैयक्तिक स्वार्थ पैसासँगै मकाइरहेको छ । पाश्चात्य पाशविक सोचले नरभक्षी कुभावना बढेको कहालिलाग्दो भविष्य देखापर्दै गर्दा मातापिताको अपमान हुन्छ, बहुविवाहसँगै हिंसा जाग्छ, बाल अधिकारमा प्रहार हुन्छ । निर्जीव गुणको प्रमाण छ, तर प्रेम र सद्भाव मकिँदो छ, फलतः आत्मघाती विस्फोट हुन्छ, मानवलाई आफ्नै जीवन किन भारीहुन्छ ? प्राणीको जन्मने मर्ने प्रक्रियादेखि पृथ्वीका कण–कणमा ईश्वरीय स्वरूपको रहस्य छ । यो ब्रह्माण्ड कसैको पुस्ताको पैतृक सम्पत्ति पनि त होइन रहेछ । कसले बनायो सूर्य र उसको तातोपनालाई ? चन्द्रमा अनि लाखौं
तारापुञ्जलाई ? मान्छेले न त एउटा सूक्ष्म धुलकणलाई सिर्जना गर्न सक्छ, तर किन मानिसको सामाजिक भावना मकाइरहेको छ ? यान्त्रिक आविष्कारको आडम्बर गरेमा अनुशासन डुब्छ । यो सृष्टि कति रहस्यमय लाग्छ, के हामी सबैलाई ‘कुखुरा पहिला या अन्डा पहिला उत्पत्ति भयो’ जान्न गाह्रो छैन त ? हाम्रा पूर्वजले मन्दिर, पाटी–पौवा, बनाए । घरनजिकै मठमा तुलसी रोप्न सिकाए । चौतारामा वर–पीपल रोपेर जताततै अक्सिजन पाउने वातावरण बनाए । यो राम्रो कुरा हो, वैज्ञानिकहरू त्यसैमा घोत्लेर वैज्ञानिकता खोज्दै छन् । हाम्रो संस्कारमा विज्ञान छ, मानवीय आदर्श छ, सेवा र मानव धर्मको भाव छ, तर संवेदनहीन पाषाण मुटुले नरसंहारको होली खेलिरहँदा हामीले बन्धुत्व बिर्सनुहुँदैन । क्षेप्यास्त्र परीक्षणले ब्रह्माण्ड त्रासदी बनेको छ, दूषित बनेको छ । जलवायु परिवर्तन गराएर पारिस्थितिक प्रणाली तहसनहस पार्ने भौतिकवादी उन्नति दिनानुदिन बाँदरको हातमा नरिवल भइरहेको छ ।

सामाजिक मर्यादाको भ्रूण हत्या भइरहेका विचलित अवस्थाले आज– पारिवारिक संरचना उथलपुथल भइरहेका छन्। मानिसमा संवेदना, मानवता र सत्यता पतन भइरह“दा विश्वास र आशा मर्दै छन्। परिणाममा मानिसले सिंगो जीवनको अस्तित्व नदेखेर मानसिक रोगी भइरहेका छन्।

ईश्वरीय अस्तित्वलाई बेकार ठानेर अणु, परमाणुमा मात्र सत्यता देख्ने चिन्तनको मपाईंत्वसँग उत्तर छैन । के बिजुलीको तारमा करेन्ट बगेको देखिन्छ ? हावा पनि त अदृश्य छ ? संसार आस्था र विश्वासमा अडिएको छ । ईश्वर त त्यस्तै छ, जसरी नुन पानीमा घोल्नुपूर्व देखिन्छ, घोलिएपछि हराउँछ, तर पानीमा नुनको अस्तित्व बस्छ । त्यस्तै, ईश्वर सर्वव्यापी छ, प्राणी जगत्को आस्थाभित्र, मानवभित्र पनि । परिवारमा, आफन्तमा, समाजमा, छिमेकी देशमा प्रेमले बँचाएको सम्बन्ध छ । सबैभन्दा ठूलो कुरा मानिसमा ईश्वरीय विश्वासकै कारण सत्प्रेरणाको मानवीय भाव र प्रेम उत्पन्न हुन्छ । ज्ञान, दया, क्षमालाई नचिन्नु त मानव सत्ताकै खिल्ली उडाउनु हो । अतः तŒवशास्त्रीय सिद्धान्तको उच्च स्थानमा जन्मिएको अध्यात्मवादी चिन्तन दुःखको कारण खोज्नमा मात्र सीमित छैन, व्यावहारिक आत्मज्ञानको मार्गबाट सफल छ । पदार्थमा चेतना हुने भए भैंसी र मानिसको शारीरिक तŒव एउटै भएर पनि किन मानवीय चेतना उच्च छ ? भैंसीलाई किन विद्यालयमा नैतिकता सिकाउन सकिन्न ? यही ईश्वरीय कृपा हो संसारका सूक्ष्माति सूक्ष्म जीव अमिबादेखि ठूलो प्राणी निलो ह्वेल, हात्तीको सृष्टि कुनै जर्ज फलाना भन्ने वैज्ञानिकले गरेका हुन् र ? त्यसैले, त कविशिरोमणी पौड्यालले भनेका छन्– सुरमुनिदेखि भुसुनासम्म प्रभु नै सबका घटमा टम्मजलचर थलचर ग्रहगण तारासूर्यलगायत सुरमुनि सारा ।

एक थुकी सुकी, सय थुकी नदीको मूर्त रूप दिएर हाम्रो नेपाली बहुल संस्कृतिले नारीको सम्मान गर्छ, गार्गी, विद्योत्तमाजस्ता विदुषीका हृदयस्पर्शी कथा, सीताले सिकाएको छविभित्रको आदर्श, देवीलाई त्रिदेवले पूजेको ताŒिवक गुढता उच्च नारी सम्मानका दृष्टान्त हुन् । आइन्सटाइनले अन्तिममा ‘हरेक चिज ईश्वरबाटै निर्देशित हुने’ कुरालाई स्विकारे । भौतिकवादी भनिने माक्स, लेनिनको उत्कर्ष बिन्दुभित्रको साम्यवादभन्दा बुद्धको सन्देश, रामराज्यको आदर्शवाद महान् र सम्भव छ । यसर्थ, आध्यात्मिक नीति र कानुनले सही संविधान बनाउने बाटो सिकाएको हो । नेपाली पर्व संस्कारका आस्था, श्रद्धाले राष्ट्रिय स्वाभिमानलाई सगरमाथासँगै उच्च बनाएको छ । मानवीय आदर्श र गुणबाट शक्तिलाई जन्माएको छ । ज्ञान, ध्यान, साधना, जप सबै शान्तिकै मार्ग हुन् । भौतिक वस्तुमा खोजेको सुखरूपी जलपभित्र दुःखको महासागर छ । अलिकति आध्यात्मिक रहस्यमा शान्ति र आनन्द छ । भौतिक सम्पन्नतासँग जोडिएको मानवीय भाव नै दीर्घजीवी बन्छ ।

पुष्पक विमानको परिकल्पना, अकासे दरबारका कथा, रामले समुद्रमा सेतु बाँधेका कथा, मन्त्रसिद्धीका रहस्य, महाभारतको सञ्जयले व्यास ऋषिबाट पाएको दिव्यदृष्टिद्वारा अन्धा धृतराष्ट्रलाई प्रत्यक्ष वर्णन गर्न सक्ने विज्ञान, शिव–पार्वतीले ध्यानदृष्टिले हेरेर गरेका लीला, रूप बदल्न सक्ने खुबी विज्ञानका लागि सिक्ने प्रेरणाका स्रोत बनेका छन् । यसर्थ, भौतिकवादी सोच तब मात्र सवल बन्छ, जब आध्यात्मिक सुखसँग हातेमालो गर्दै बढ्छ । आध्यात्मिक तथ्यतिर हेर्दा त मन्त्रले आगो बल्थ्यो, इच्छाशक्ति र वरदानले न्यायको जय हुन्थ्यो, षडानन्दले रुमाल ओछ्याएर सप्तकोसी तर्थे । आज पनि कति मन्दिरमा प्रत्यक्ष दैवी शक्तिले धेरै रहस्यमा मानवीय आडम्बरलाई चुनौती दिन बाँकी राख्दैन । धर्तीले अन्न उमार्नुपर्छ, बादलले पानी बर्साउनुपर्छ, सूर्यले तातो नदिए, हिमालले अनि जमिनले पानी नदिए प्राणी अस्तित्व रहन्न नै ।

ईश्वरलाई मान्ने वा नमान्नेको झिनो भावमा अल्झेर गरिएका धार्मिक युद्धका कारण धर्मका नाममा मानिस लडिरहनु मूर्खता हो । भलै मन्दिर, मस्जिद अघि नपुग्लान्, तर मानसिक साधना अवश्य गर्छन् । जब दुःख पर्छ नि कठोर मानव पनि आस्तिक बन्छ । देवकोटाले अन्तिममा ‘आखिर कृष्ण रहेछ एक’ भने । भ्यागुतो जति उफ्रे पनि धर्तीको धर्तीमा पट्यारलाग्दो आवाजमा कराउँछ । गधालाई धोएर गाई बन्न नसके भैंm मानवीय अल्पज्ञानको सूक्ष्मताले अध्यात्मज्ञानको महासागरलाई सानो बनाउन सक्दैन, किनकि कुवाको भ्यागुतोलाई नदीको प्रवाह र गहिराइको ज्ञान हुँदैन । धर्म र शास्त्र ज्ञानको आडबाट वैज्ञानिक तथ्य खोजिनुमा मानवीय आचरण जीवन्त बन्छ । अल्पविद्या भयंकरी भनेभैंm आडम्बरले मानवीय सुखसत्ता तहसनहस भएको छ । वृद्धाश्रममा बुढेस कालको सहारा लट्ठी बन्छ, तर अर्कातिर मरणोपरान्तसमेत मातापिताको आत्मशान्तिका लागि श्राद्ध हुन्छ, अध्यात्मवादमा । निर्दोष सोझा बालकको हत्या, भ्रूण हत्या गरिएका आँसुका भेलमा कलंकको मखुन्डो लाएर छट्पटिएको भौतिकवादी चरित्रको पाप पखाल्दा पानी अश्वेत बन्ने डर हुन्छ, बरु कल्मष माझिनेमा शंकै छ ।
नाट्यसम्राट बालकृष्ण समले भनेका छन्– ‘ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ ।’ दानवीय कुख्यात विचारको उत्कर्षका कारण हिरोसिमा र नागासाकीमा नरसंहारको होली खेलियो, विश्वयुद्ध भए, युद्ध पिपासुको दानवी निर्ममताले बसुधैव कुटुम्बकम्को मानवीय हक लुटिएको संवेदनहीन तीता यथार्थ हामीसामु छन् । धर्म, संस्कृति र मानवीय इतिहासमा खग्रास चन्द्रग्रहण लगाइदिएको छ । मानिसलाई पशुसरह बेच्ने संवेदनहीनता छ, त्यहाँ । लालचको कालो दहमा फाल हालेर पैसालाई सर्वोपरि ठान्दा हाम्रो मातृदेवो भवः, पितृदेवोको भवः उपेक्षित छ । जुन थालमा खायो, त्यही थालमा थुक्ने आदतले डिभोर्स हुन्छन्, आचरण छैन मानवमा आज । हामी मानिसलाई होइन उसको कामसँग मात्र प्रेम गर्छौं, स्वार्थमा अँध्यारिएको मानिसले मुखमा राम राम बगलीमा छुरा बोकेर नैतिक भाषण छाँट्छ, शंका उसमै हुन्छ । धर्मका ठेकेदारहरू धर्मलाई पेसा र पैसासँग मोलिरहेका छन् । ईश्वरीय ज्ञानलाई होइन ईश्वरले दिने फलको लालचसँग लिप्त बन्दै मन्दिर धाउँछौं । अन्धविश्वासलाई घुसाएर सात्विक ज्ञानलाई कुरूप बनाउने कार्य मानिसले गरेको हो । कर्तव्य बिर्संदा भष्ट्राचारले संक्रमणको कठोर अधोगतिलाई समात्छ । तब जाति, धर्म, सम्प्रदायको घम्साघम्सीले मानवतामै प्रश्न गर्नुपर्ने अवस्था जन्मिन्छ । सोझा जनता बलिका बोका बन्छन्, त्यहाँ लोकतन्त्रमै ग्रहण लाग्ने अवस्था जाग्छ । अन्ततः यो सुन्दर सृष्टिमा शान्तिको प्रतीक मानिसले आफ्नो स्वरूपलाई बुझ्नुपर्छ । ज्ञानलाई धर्मसँग होइन, विज्ञान र मानवतासँग राखेर बुझ्न सक्नुपर्छ ।

[email protected]