सामसुङको ग्यालेक्सी एस८ नेपालमा

काठमाडौं / रास– सामसुङको ग्यालेक्सी एस८ र एस८ प्लस नेपाली बजारमा आएको छ । सामुसङ कम्पनीले बुधबार एक कार्यक्रमको आयोजना गरी काठमाडौंमा दुवै स्मार्टफोन सार्वजनिक गरेको हो ।

सार्वजनिक भएका मोबाइल बिहीबारदेखि बुकिङ गर्न सकिने र यी फोन २२ वैशाखपछि मात्र पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपाली बजारमा एस८ को मूल्य ८८ हजार ९ सय रुपैयाँ र एस८ प्लसको ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

कम्पनीले यी स्मार्टफोन खरिदमा एनसेलको सिमसँगै आठ महिनासम्म हरेक महिना ८ जीबी डेटा सित्तैमा दिने जनाएको छ । त्यस्तै, ६ महिनासम्मका लागि बिमाको व्यवस्थासमेत गरिएको छ । ६ महिनासम्म फोन बिग्रिए त्यसको मर्मतसंहार कम्पनीले गर्नेछ ।

कम्पनीका अनुसार एस८ मा ५.६ इन्च तथा एस८ प्लसमा ६.२ इन्चको ‘इन्फिनिटी डिस्प्ले’ रहेको छ । दुवै स्मार्टफोनमा डिस्प्ले आकर्षक बनाउन गोरिल्ला ग्लासको प्रयोग गरिएको छ । पानी र धुलो छिर्न नसक्ने गरी तयार गरिएको एस८ मा ३ हजार एमएएच र एस८ प्लसमा ३५ सय एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ ।

एन्ड्रोइड ७ को नोगाट भर्सनको अपरेटिङ सिस्टम रहेका दुवै स्मार्टफोनमा १२ मेगापिक्सलको रियर क्यामेरा र ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा छन् । एस८ र एस८ प्लस दुवै फोनमा चार जीबी ¥याम रहेको छ ।