हर्न निषेध अभियानमा अर्घाखाँची सिमेन्टको साथ

काठमाडौं / रास– अर्घाखाँची ओपीसी सिमेन्टले सामाजिक उत्तरदायित्वअन्तर्गत वातावरणप्रति सचेत हुँदै काठमाडौं उपत्यकाभित्र लागू गरिएको हर्न बजाउन निषेध अभियानलाई सहयोग गरेको छ । कम्पनीले उपत्यकाभित्र बढ्दो सवारीसाधनको संख्यासँगै बढेको ध्वनि प्रदूषणलाई नियन्त्रण गर्न यो अभियानले सहयोग गर्ने अपेक्षा गरेको छ ।

काठमाडौं महानगरपालिका तथा काठमाडौं उपत्यकाभित्र महानगरीय ट्राफिक प्रहरीले १ वैशाखदेखि उपत्यकाभित्र सवारीसाधनलाई हर्न बजाउन निषेध गरेको छ । यो नियम अनुसार अत्यावश्यक सवारीसाधन र सुरक्षाका सवारीसाधनले समेत अति आवश्यक भएमा मात्र हर्न बजाउन पाउनेछन् । यो सुरुवातले पक्कै पनि अस्पताल, विद्यालय, तथा अन्य संस्थाहरूले राहत महसुस गर्नेछन्, जसले निकै लामो समयदेखि यो समस्यालाई झेल्दै आएका थिए । यो अभियानमा अर्घाखाँची सिमेन्टका साथै रेनोल्ट नेपाल तथा जीओनीको पनि सहयोग रहेको छ ।