५५ दिनका म्यादीलाई ५१ हजार

राजधानी समाचारदाता

काठमाडौं, ७ वैशाख

सरकारले निर्वाचनका लागि खटिने म्यादी प्रहरीको सेवा सुविधा निर्धारण गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार म्यादी प्रहरीले ५५ दिनको तलबबापत ५१ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् । उनीहरूले पोसाक भत्ताका रूपमा थप ७ हजार १ सय रुपैयाँ पाउनेछन् ।

गत वर्ष पोसाक नपाएको भन्दै म्यादी प्रहरीले गुनासो गरेपछि पोसाकबराबर सो रकम दिने निर्णय गरेको हो । यसपटक अघिल्लो निर्वाचनमा जस्तो सरकारले पोसाक सिलाएर दिनेछैन । गृह मन्त्रालयले तोकिदिएको मापदण्डअनुसार म्यादी प्रहरीले आफैं पोसाक किन्नुपर्नेछ । यसका अतिरिक्त पनि म्यादी प्रहरीका लागि सुविधा निर्धारण गरिएको छ । निर्वाचनमा खटिँदा सात दिन उनीहरूलाई थप विशेष भत्ता उपलब्ध गराइनेछ । एक सातामा उनीहरूले प्रतिदिन २ सय ५० रुपैयाँका दरले सात दिनको १ हजार ७ सय ५० रुपैयाँ थप भत्ता पाउनेछन् ।

यस्तै, निर्वाचन अवधिभर प्रतिदिन २ सय ५० रुपैयाँको दरले सरकारले खाजा खर्च पनि उपलब्ध गराउनेछ । सुरक्षाका लागि सरकारले देशभर ७५ हजार म्यादी प्रहरी भर्ना गरेको छ । म्यादी प्रहरीलाई आवश्यक तालिम दिएर गृह मन्त्रालयले सम्बन्धित मतदानस्थलमा खटाउँछ ।

निर्वाचनका बेला कुनै घटना दुर्घटना भएमा सरकारले म्यादी प्रहरीका लागि विशेष बिमाको व्यवस्थासमेत गरेको छ । निर्वाचन अवधिभर ५५ दिनका लागि प्रतिम्यादी प्रहरी २ लाखबराबरको दुर्घटना बिमा गर्ने निर्णय गरेको हो । यस्तै, उनीहरूका लागि १ लाख ५० हजार रुपैयाँसम्मको स्वास्थ्य बिमा गरिने भएको छ । निर्वाचन अवधि ५५ दिनभित्र कुनै म्यादी प्रहरी बिरामी परेमा १ लाख ५० हजार रुपैयाँसम्मको उपचार खर्च पनि सरकारले बेहोर्नेछ ।

बीपी र पुष्पलालको नाममा पार्क

सरकारले सिन्धुलीको दुम्जामा बीपी कोइराला स्मृति पार्क र रामेछापमा पुष्पलाल पार्क निर्माण गर्ने निर्णय गरेको छ । महोत्तरीको बर्दिबासमा धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरेको मुसहर बस्तीको जग्गा दर्तामा राजस्व छुट दिने निर्णय पनि गरेको छ । जग्गा तथा घरको मालपोतमा दर्ता गर्दा लाग्ने शुल्क मिनाहा गर्ने निर्णय गरेको छ । साथै, युरोपियन युनियनलाई जग्गा खरिदका लागि अनुमतिसमेत दिने भएको छ ।

अजित मिजारका परिवारलाई १० लाख

अन्तरजातीय विवाह गरेको आरोपमा हत्या गरिएका काभ्रे पाँचखालका अजित मिजारको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । सरकारले हत्यामा संलग्नलाई कारबाही प्रक्रिया अघि बढाउन गृह मन्त्रालयलाई निर्देशन दिएको कानुनमन्त्री अजयशंकर नायकले राजधानीसँग बताए ।

प्रधानसेनापतिको अमेरिका भ्रमण स्वीकृत

प्रधानसेनापति राजेन्द्र क्षत्री अमेरिका जाने भएका छन् । अमेरिकी स्थलसेनाको निमन्त्रणामा प्रधानसेनापति अमेरिका भ्रमणमा जान लागेका हुन् ।सैनिक जनसम्पर्क निर्देशनलायलका प्रवक्ता सहायक रथी झंकर कठायतका अनुसार सेनापति क्षत्री नियमित भ्रमणका लागि अमेरिका जान लागेका हुन् ।उनको भ्रमणलाई मन्त्रिपरिषद्को बैठकले बिहीबार स्वीकृत गरेको हो । रक्षा मन्त्रालयले सो भ्रमणलाई मन्त्रिपरिषद्को बैठकमा पेस गरेको थियो । बैठकले नेपाली सेनाका प्रमुख सेनानी गौरवकुमार केसीलाई महासेनानीमा बढुवासमेत गरेको छ ।

वाइड बडी जहाज खरिदमा सरकार जमानी बस्ने

नेपाल वायु सेवा निगमको ‘वाइड बडी जहाज’ खरिदका लागि सरकार जमानी बस्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले यस्तो निर्णय गरेको हो । निगमले २५ चैतमा अमेरिकी विमान कम्पनीसँग २१ अर्ब ९० करोडमा दुईवटा वाइड बडी जहाज’ खरिदका लागि सम्झौता गरेको थियो ।