मेयरको टिकटमा अध्यक्षको हस्ताक्षर

महेश्वर गौतम / राजधानी

काठमाडौं, ७ वैशाख

आगामी ३१ वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिकाको मेयरमा पार्टीको आधिकारिक उम्मेदवारको पत्रमा प्रमुख दलका पार्टी अध्यक्षले नै हस्ताक्षर गर्ने भएका छन् ।

प्रमुख राजनीतिक दलहरू स्थानीय तहका वडा सदस्य, अध्यक्षदेखि मेयर र उपमेयरसम्मका उम्मेदवार टुंगो लगाउने अन्तिम कसरतमा छन् । कांग्रेसले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखमा पार्टीको आधिकारिक उम्मेदवारको मनोनयनपत्रमा पार्टी सभापतिको हस्ताक्षर हुने गरी निर्वाचन आयोगमा नमुना हस्ताक्षर बुझाएको छ ।

त्यस्तै, एमालेको महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारमा पार्टी अध्यक्ष केपी शर्मा ओलीकै हस्ताक्षर हुनेछ । नेकपा माओवादी केन्द्रले भने पार्टीको आधिकारिक उम्मेदवार तोक्ने जिम्मेवारी सम्बन्धित प्रदेश इन्चार्जलाई दिएको छ ।

जिल्लागत, क्षेत्रीय र जिल्ला कार्यसमितिअन्तर्गतको संयन्त्रमार्फत उम्मेदवार चयन गर्ने प्रक्रिया अन्तिम चरणमा पु¥याएको कांग्रेसले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखमा पार्टीको आधिकारिक उम्मेदवारको मनोनयनपत्रमा पार्टी सभापतिको दस्तखत र बाँकी सबै पदमा केन्द्रीय पदाधिकारी तथा सदस्यको हस्ताक्षर हुने निर्णय निर्वाचन आयोगलाई बुझाएको छ ।

यी हुन् टिकटका हस्ताक्षरकर्ता

कांग्रेस

ताप्लेजुङमा डा. डिला संग्रौला, पाँचथरमा सुजाता परियार, इलाममा डा. मिनेन्द्र रिजाल, झापामा ज्ञानेन्द्रबहादुर कार्की, संखुवासभामा सीता गुरुङ, तेह्रथुममा सरिता प्रसाईं ,नभोजपुरमा विश्वप्रकाश शर्मा, धनकुटामा भीष्मराज आङ्दम्बे, मोरङमा कृष्णप्रसाद सिटौला, सुनसरीमा महेश आचार्य, सोलुखुम्बुमा केशवकुमार बुढाथोकी, खोटाङमा बलबहादुर केसी, ओखलढुंगामा गुरुराज घिमिरे, उदयपरुमा आनन्दप्रसाद ढुंगाना, सप्तरीमा डा. शेखर कोइराला, सिरहामा महेन्द्र यादव, दोलखामा किरण यादव, रामेछापमा उमाकान्त चौधरी, सिन्धुलीमा रामकृष्ण यादव, धनुषामा चित्रलेखा यादव, महोत्तरीमा सीतादेवी यादव, सर्लाहीमा विमलेन्द्र निधि, रसुवामा डा. प्रकाशशरण महत, धादिङमा डा. रामशरण महत, नुवाकोटमा प्रकाशमान सिंह, काठमाडौंमा डा. शशांक कोइराला, भक्तपुरमा सुजाता कोइराला, ललितपुरमा अम्बिका बस्नेत, काभ्रेमा मोहनबहादुर बस्नेत, सिन्धुपाल्चोकमा अर्जुननरसिंह केसी, मकवानपुरमा अजयकुमार चौरसिया, रौतहट फरमुल्लाह मन्सुर, बारा रमेश रिजाल, पर्सामा महालक्ष्मी उपाध्याय, चितवनमा डा. प्रकाशशरण महत, गोरखामा मानबहादुर विश्वकर्मा, मनाङमा जीवनबहादुर परियार, लमजुङमा शंकर भण्डारी, कास्कीमा रामचन्द्र पौडेल, तनहुँमा कमला पन्त, स्याङ्जामा चीनकाजी श्रेष्ठ, गुल्मीमा पुष्पा भुसाल, पाल्पामा देवेन्द्रराज कँडेल, अर्घाखाँचीमा डा. नारायण खड्काले हस्ताक्षरको जिम्मेवारी पाएका छन् । कांग्रेसका अनुसार नवलपरासीमा सुरेन्द्र पाण्डे, रूपन्देहीमा गोपालमान श्रेष्ठ, कपिलवस्तुमा बालकृष्ण खाँण, मुस्ताङमा अर्जुनप्रसाद जोशी, म्याग्दीमा रत्न शेरचन, बाग्लुङमा गोविन्द भट्टराई, पर्वतमा प्रदीप पौडेल, रुकुम र रोल्पामा हृदयराम थानी, प्यूठानमा पार्वती डीसी चौधरी, सल्यानमा र जाजरकोट दीपक गिरी, दाङमा ईश्वरी न्यौपाने, डोल्पा र मुगुमा जीवनबहादुर शाही, जुम्लामा लक्ष्मी परियार, कालिकोटमा गगनकुमार थापा, हुम्लामा बहादुरसिंङ लामा, दैलेखमा नवीन्द्रराज जोशी, सुर्खेतमा मीन विश्वकर्मा, बाँकेमा किशोरसिंह राठोर, बर्दियामा पूर्णबहादुर खड्का, बाजुरामा दिलेन्द्रप्रसाद बडू, अछाम र बझाङमा वीरबहादुर बलायर, कैलाली र बैतडीमा एनपी साउद, डडेल्धुरामा रमेश लेखक, दार्चुलामा बद्री पाण्डे र कञ्चनपुरमा श्याम घिमिरे

एमाले

प्रदेश–१ मा भीम आचार्य, प्रदेश–२ मा सत्यनारायण मण्डल, प्रदेश–३ अष्टलक्ष्मी शाक्य, प्रदेश–४ किरण गुरुङ, प्रदेश–५ मा विष्णु पौडेल, प्रदेश–६ मा युवराज ज्ञवाली र प्रदेश–७ भीमबहादुर रावल

माओवादी केन्द्र

प्रदेश–१ मा गोपाल किराती, प्रदेश–२ मा मातृका यादव, प्रदेश– ३ मा हितमान शाक्य, प्रदेश–४ मा देव गुरुङ, प्रदेश–५ मा वर्षमान पुन, प्रदेश–६ मा शक्ति बस्नेत, प्रदेश–७ मा लेखराज भट्ट

कांग्रेसले निर्वाचनका लागि उम्मेदवार छनोट गर्न केन्द्रीय समितिका सदस्यलाई टिकटमा हस्ताक्षर गर्ने अधिकार दिएर केन्द्रीय सदस्यहरूलाई जिल्ला पठाइसकेको छ । कांग्रेसले केन्द्रीय सदस्यहरूलाई नै टिकटमा हस्ताक्षर गर्ने अधिकार दिएको हो ।

केही दिनअघि सम्पन्न केन्द्रीय कार्यसमिति बैठकबाट कांग्रेसले क्षेत्रीय समिति र जिल्ला समितिलाई टिकट वितरणको अधिकार दिए पनि संविधान र निर्वाचन कानुनले जिल्लाको संरचनालाई नचिन्ने भएका कारण केन्द्रीय सदस्यहरूलाई नै पदाधिकारीसरहको अधिकार दिँदै उम्मेदवारको टिकटमा हस्ताक्षर गर्ने अधिकारसहित जिल्ला पठाएको बारा जिल्लाको जिम्मेवारी पाएका केन्द्रीय सदस्य रमेश रिजालले राजधानीलाई जानकारी दिए ।

निर्वाचन कानुनअनुसार जिल्ला सभापतिहरूले टिकट वितरणमा हस्ताक्षर गर्न नपाउने भएपछि कांग्रेसले आफ्ना केन्द्रीय सदस्यहरूलाई पदाधिकारीसरहको अधिकार दिई टिकट वितरणमा खटाएको हो । यसका लागि कांग्रेसले नेताहरूलाई विभिन्न जिल्लाको जिम्मेवारी तोकेको छ । संसद्को दोस्रो ठूलो दल एमालेले महानगरपालिकाको मेयर र उपमेयरका लागि पार्टी अध्यक्ष केपी ओलीको हस्ताक्षर रहने र बाँकी सबैमा सम्बन्धित प्रदेश संयोजकको हस्ताक्षर रहने जनाएको छ ।

प्रदेश–१ मा भीम आचार्य, प्रदेश–२ मा सत्यनारायण मण्डल, प्रदेश–३ मा अष्टलक्ष्मी शाक्य, प्रदेश–४ मा किरण गुरुङ, प्रदेश–५ मा विष्णु पौडेल, प्रदेश–६ मा युवराज ज्ञवाली र प्रदेश–७ मा भीमबहादुर रावल प्रदेश संयोजक छन् ।

उनीहरूले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, सदस्य, नगरपालिकाको मेयर, उपमेयर, वडाअध्यक्ष, सदस्य, उपमहानगरपालिकाको मेयर, उपमेयर, वडा अध्यक्ष, सदस्य र महानगरपालिकाका वडा अध्यक्ष र सदस्यहरूको पार्टीको आधिकारिक उम्मेदवारको मनोनयनपत्र सिफारिसमा हस्ताक्षर गर्नेछन् ।

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले भने पार्टीको आधिकारिक उम्मेदवार तोक्ने जिम्मा प्रदेश इन्चार्जलाई दिएको छ । पार्टी प्रवक्ता पम्फा भुसालले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रदेशका सबै इन्चार्जहरूलाई आधिकारिक उम्मेदवार तोक्ने गरी निर्वाचन आयोगमा हस्ताक्षर बुझाएको बताइन् ।

केन्द्रीय कार्यालय सदस्य मणि थापाले सबै गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकासम्मका सबै पदका उम्मेदवारको नाम लिस्ट सम्बन्धित कमिटीले आफूभन्दा माथिल्लो कमिटी हुँदै प्रदेश कमिटीमा बुझाउने र प्रदेश इन्चार्जले हस्ताक्षर गर्ने बताए ।

निर्वाचन आयोगले बनाएको निर्वाचन  निर्देशिकाको दफा ३७ (१) अनुसार दलको तर्फबाट उम्मेदवार मनोनयनको औपचारिक पत्रमा दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समिति वा प्रदेश समितिको पदाधिकारीले हस्ताक्षर गर्नुपर्ने व्यवस्था गरेको छ ।

आयोगले तोकेको मापदण्डभित्रबाट दलले तोकेका हस्ताक्षरकर्ताले नाम, थर, पदसहित हस्ताक्षरको नमुना १५ दिनअगावै आयोगलाई उपलब्ध गराउनुपर्ने नियम छ । सोहीअनुसार दलहरूले गत ३० चैतमै  उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्ने व्यक्तिको नाम र नमुना हस्ताक्षर आयोगमा बुझाइसकेका छन् ।