चन्द्रनिगाहपुरमा भेटिएको गैंडा निकुञ्ज लगियो

रमेश तिमलसिना / राजधानी

रौतहट, ७ वैशाख

रौतहटको चन्द्रनिगाहपुरस्थित हातेमालो सामुदायिक वन उपभोक्ता समूहमा भेटिएको एकसिँगे गैंडालाई चितवन राष्ट्रिय निकुञ्ज  लगिएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट हराएको सो गैंडा चन्द्रनिगाहपुरमा भेटिएको थियो ।चितवन राष्ट्रिय निकुञ्ज, पर्सा वन्यजन्तु आरक्षण, जिल्ला वन र नेपाली सेनालगायतको टोलीले गैंडालाई बेहोस बनाई निकुञ्ज लगेका हुन् ।

स्थानीयले गैंडाटार  र रंगपुर क्षेत्रमा गैंडा देखा परेको खबर गरेपछि टोलीले गैंडाको खोजी सुरु गरेको थियो । फेला परेको एकसिँगे भाले गैंडालाई सुरक्षित अवस्थामा निकुञ्ज पठाइएको जिल्ला वन कार्यालय रौतहटका जिल्ला वन अधिकृत दीर्घनारायण कोइरालाले  जानकारी दिए ।पर्सा वन्यजन्तु आरक्षण र निकुञ्जनजिकै रहेकाले पनि गंैडा उचित बासस्थानको खोजीमा रौतहटको वनमा आउने गरेको उनको भनाइ छ ।

गैंडा घेर्न सो क्षेत्रमा सातवटा हात्तीसमेत परिचालन गरिएको थियो । गैंडा घाइते अवस्थामा रहेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत नरेन्द्र अर्यालले बताए ।

गैंडा–गैडा आपसमा जुँधेका कारण  घाइते भएको हुन सक्ने अर्यालको भनाइ छ । अर्को पनि गैंडा रौतहटकै वनमा रहेको हुनसक्ने आशंका गर्दै अनुसन्धानपछि मात्र थाहा हुने अर्याल बताउँछन् । यसअघि पनि ४ भदौमा चन्द्रपुर नगरपालिका–३ स्थित तिलेश्वर सामुदायिक वनमा सिकारीले गोली प्रहार गरी एउटा गैंडालाई घाइते बनाएका थिए । सो गैंडा चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचारकै क्रममा एक महिनापछि मरेको थियो ।