हिन्दू राष्ट्र र राजतन्त्रबारे आयोग पछि हट्यो , राप्रपाको आन्दोलन फिर्ता

 

राजधानी समाचारदाता

काठमाडौं, ७ वैशाख

सत्तारूढ दल राप्रपाले निर्वाचन आयोगको निर्णयविरुद्ध गर्दै आएको आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । निर्वाचन आयोगले राप्रपा विधानबाट राजतन्त्र र हिन्दू राष्ट्र हटाउने निर्णयमा स्थानीय तह निर्वाचनपछि हेरफेर गर्ने निर्णय गरेपछि राप्रपाले बिहीबार विज्ञप्ति निकाल्दै निर्वाचन आयोगको निर्णयविरुद्ध गर्दै आएको सबै आन्दोलनका कार्यक्रम स्थगित गरेको हो ।

शुक्रबार पार्टीको केन्द्रीय समिति बैठकले यसबारे थप निर्णय गर्ने राप्रपा प्रवक्ता सुशीलकुमार श्रेष्ठले बताए । ‘निर्वाचन आयोगले स्थानीय तह निर्वाचनपछि यस विषयमा हेरफेर गरौंला भनेकाले सबै आन्दोलनका कार्यक्रम स्थगित गरेका छौं,’ स्थानीय तह निर्वाचनका लागि अब हाम्रो ध्यान केन्द्रित हुनेछ,’ उनले भने ।

निर्वाचन आयोगले राप्रपाको विधानमा रहेको हिन्दू राष्ट्र र राजसंस्था भन्ने शब्द संविधानसँग बाझिएको भन्दै हटाउने निर्णय गरेको थियो । निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध राप्रपा आन्दोलनमा उत्रिएपछि आयोगले निर्णय तत्कालका लागि फिर्ता लिएको हो ।

‘स्थानीय तहको निर्वाचन राप्रपाको मुख्य एजेन्डा भएको, निर्वाचन सुनिश्चितता पार्टीको प्राथमिकता भएको तथा निर्वाचन आयोगले पार्टीको मागबमोजिमको विषय हाल कार्यान्वयन नगर्ने निर्णय गरेको तथ्यसमेत दृष्टिगत गर्दै पार्टीले सञ्चालन गर्ने संघर्षको कार्यक्रम अहिलेलाई स्थगित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ  ।