६ मधेसी दलबीच एकता

विजय चाम्लिङ / राजधानी

काठमाडौं, ७ वैशाख

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा बिहीबार ६ वटा मधेसी दलहरूबीच एकीकरण भएको छ । स्थानीय तहको निर्वाचनविरुद्ध आन्दोलन गर्दै आएका दलहरूबीच एकीकरण भएको हो ।

महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्र यादव नेतृत्वको तराई मधेस समाजवादी पार्टी, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक पार्टी र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको हो ।

एकतापछि पार्टीको नाम राष्ट्रिय जनता पार्टी राखिएको छ । पार्टीको चुनाव चिह्न छाता राखिएको छ । एकीकृत पार्टीको राजनीतिक सिद्धान्त ‘लोकतान्त्रिक समाजवादमा आधारित सहभागितामूलक समावेशी लोकतन्त्र’ रहने बताइएको छ ।

पार्टी सञ्चालनका लागि ६ वटै पार्टीका अध्यक्ष सदस्य रहेको अध्यक्ष मण्डल गठन गरिएको छ । सामूहिक नेतृत्वबाट पार्टी चलाइने नवगठित पार्टीका नेता राजेन्द्र महतोले बताए । अध्यक्ष मण्डलपछि सबै दलका पदाधिकारीहरू रहने गरी एक उच्चस्तरीय राजनीतिक समिति गठन गरिनेछ भने विभिन्न विभाग र समितिहरू पनि गठन गर्दै लगिनेछ ।६ दलबीच एकता भएसँगै राष्ट्रिय जनता पार्टी संसद्को पाँचौं ठूलो दल बनेको छ ।

यसअघि शिवलाल थापा नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक), विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) र यशोदा लामा नेतृत्वको दलित जनजाति पार्टीबीच एकता भई पाँचौं ठूलो दल बनेको थियो । पार्टीको नाम ‘नेपाल लोकतान्त्रिक फोरम’ राखिएको थियो ।

गच्छादारका १६, थापाका ४ र लामा एक गरी कुल १७ जना सांसद्सहित नेपाल लोकतान्त्रिक फोरम संघीय समाजवादी फोरम नेपाललाई उछिन्दै पाँचौं ठूलो दलमा दरिएको थियो । उपेन्द्र यादवसँग भने कुल १५ सिट रहेको छ । तर, अब राष्ट्रिय जनता पार्टी कुल २३ सिटसहित पाँचांै प्रमुख दल बनेको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपापछि अब राष्ट्रिय जनता पार्टी ठूला दलको सूचीमा परेको छ ।

तराई मधेस लोकतान्त्रिक पार्टीको ११, सदभावनाको ५, राष्ट्रिय मधेस समाजवादी पार्टीको ३, तराई मधेस समाजवादी पार्टीको ३, नेपाल सद्भावना पार्टीको २, गणतान्त्रिक फोरमको एक गरी कुल २५ सांसद बनेको हो । राष्ट्रिय दल बन्नका लागि कानुनी रूपमै न्यूनतम मतसीमा (थ्रेसहोल्ड) को व्यवस्था गरिएपछि पछिल्लो समय साना दलहरूबीच एकता प्रक्रिया अघि बढिरहेको थियो । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको ब्यानरमा आन्दोलन गर्दै आएका सात दलबीच एकता गर्ने विषय केही महिनादेखि चल्दैआएको थियो ।

हाल संघीय समाजवादी फोरम नेपालबाहेक मोर्चामा भएका ६ वटा दलहरूबीच एकता भएको हो । यस एकताका लागि पछिल्लो एक महिनादेखि आन्तरिक वार्ता तीव्र पारिएको थियो । नवगठित पार्टीका नेता महतोले मधेसी जनताको चाहनाअनुसार पार्टी एकता गरिएको बताए । ‘मधेसको मत एक ठाउँमा ल्याउनका लागि पनि एकता हुनुपर्ने पक्षमा जनताले  दबाब दिँदै आएका थिए,’ राजधानीसँग उनले भने,

‘जनताले पटकपटक एकता हुनुपर्छ भन्नुभएको थियो । मधेसी जनताकै चाहनाबमोजिम पार्टी एकता सम्भव भएको हो ।’सरकारले आगामी ३१ वैशाखमा स्थानीय तहको निर्वाचन गरे पनि यथास्थितिमा निर्वाचनमा नजाने महतोले प्रस्ट पारे । मधेसी जनता संविधान संशोधन नगरी निर्वाचन गर्ने पक्षमा नरहेको उनको दाबी छ । ‘जनताले नै निर्वाचन हुन दिँदैनन्,’ महतोले भने,‘त्यसकारण हामी यथास्थितिमा निर्वाचनमा जाने कुरा आउँदैन, निर्वाचनमा गइँदैन ।’

एकीकृृत पार्टी अर्कैको नाममा दर्ता

६ दल एकीकृत भई बनेको राष्ट्रिय जनता पार्टी एक महिनाअघि नै निर्वाचन आयोगमा दर्ता भएको भेटिएको छ ।आयोगका सचिव गोपीनाथ मैनालीले राष्ट्रिय जनता पार्टी करिब एक महिनाअघि नै दर्ता भएको बताए । उनका अनुसार गत २ चैतमै नेत्रबहादुर लिम्बुको अध्यक्षतामा सो दल दर्ता गरिएको छ ।

पार्टीको नाम दोहोरिएका बेला पछिल्लो दलले नाम परिवर्तन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । नवगठित पार्टीका नेता राजेन्द्र महतोले आपूmहरूले चुनेको पार्टीको नाम पहिल्यै दर्ता गरिएको रहेछ भने निर्वाचन आयोगसँग परामर्श लिएर नै अघि बढिने बताए ।

गच्छदार र चौधरीको पार्टीबीच एकता

बिहीबार नै विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम र भानुराम चौधरी थरूहट तराई पार्टी नेपालबीच एकीकरण भएको छ । एकीकरणपछि पनि पार्टीको अध्यक्ष गच्छदारलाई नै बनाइएको छ ।

राज्यले आदिवासी जनजाति र मधेसीको मुद्दा कमजोर पार्ने प्रयासअनुरूप कानुन ल्याएपछि एकीकरण गरिएको थरूहट तराई पार्टी नेपालबाट प्रतिनिधित्व गर्ने मीनराज चौधरीले बताए ।

उनले स्थानीय तहको निर्वाचनपछि एकता महाधिवेशन गर्ने र एकता महाधिवेशनपछि नेपाल लोकतान्त्रिक पार्टी राख्ने सहमति भएको बताए ।दुई पार्टीबीच एकता भए पनि एकतापछि जारी विज्ञप्तिमा गच्छदारले नेतृत्व गरेको पार्टीको नाम मधेसी जनअधिकार फोरम लोकतान्त्रिक नै उल्लेख गरिएको छ । दुई पार्टीबीच एकता भएपछि गच्छदार नेतृत्वको पार्टीमा कुल सांसद १८ पुगेका छन् ।