मोर्चालाई अन्तिम मौका, निर्वाचन कसैले रोक्न नसक्ने दाबी

टीकाराम नेती / राजधानी

झापा, ७ वैशाख

प्रधानमन्त्री पुष्पकमल दाहालले ३१ वैशाखको स्थानीय तहको निर्वाचन कसैले रोक्न नसक्ने बताएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमतिका लागि शुक्रबार अन्तिम प्रयास गर्ने उनले बताए । निर्वाचनमा सहभागी हुन सहमत नभए मोर्चाका लागि ठूलो भूल हुने प्रधानमन्त्री दाहालको भनाइ छ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधामन्त्री पुष्पकमल दाहालले बिहीबार झापाको चुनावी सभालाई सम्बोधन गर्दै भने, ‘म आफैंले सबै मधेसी दलका नेता तथा मोर्चाका नेतालाई वार्ताका लागि बोलाएको छु यो अन्तिम मौका दिएको हँु,’ मोर्चा सहमतिमा आउने कुरामा म विश्वस्त छु ।’

मधेसी मोर्चाका नेताहरूको मात्र पेवा नभएको बताउँदै प्रधानमन्त्री दाहालले व्यक्तिगत र निहित स्वार्थका लागि केही मोर्चाका नेताले मधेसी जनताकै अहितमा हुनेगरी काम गरिरहेको बताए ।

चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ।

‘मोर्चा स्थानीय तहको निर्वाचनमा नआए ऐतिहासिक गल्ती हुनेछ, यो मोर्चाका नेता र मधेसका जनताको समेत हितमा हुनेछैन ।’ उनले मधेसी मोर्चाकै सहमतिमा संविधान संशोधन विधेयक ल्याइएको  र चुनावमा जाने भनिएको भए पनि मोर्चाले सरकार र मधेसी जनताको अहित हुनेगरी काम गरिरहेको बताए ।

यसैगरी प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्वाचन बिथोल्न विभिन्न शक्तिद्वारा षड्यन्त्र भइरहेको भए पनि त्यसलाई सफल हुन नदिने उद्घोष गरे । उनले ३१ वैशाखमै  निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गरे ।

माओवादीको पहिलो चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो पार्टीका कार्यकर्तालाई चुनावी मैदान र जनताको घरदैलोमा जान निर्देशनसमेत दिए ।विगतमा माओवादीलाई जनताले दिएको सम्मानको अपमान गरेको र माओवादी अंहकारमा डुबेको  कारण गत संविधानसभाको निर्वाचनमा क्षति बेहोर्नुपरेको स्मरण गर्दै उनले जनताले उचित दण्ड दिएको र यसबाट पाठ सिकेर जनताको घरदैलोमा माओवादी पार्टी पुगेको बताए ।

योङ कम्युनिस्ट लिग झापा र अनेरास्ववियु क्रान्तिकारीको जिल्ला सम्मेलनको अवसर पारेर गरिएको चुनावी सभालाई प्रधानमन्त्री दाहालसहित सूचना तथा सञ्चारमन्त्री राम कार्की, पूर्वअर्थमन्त्री वर्षमान पुनलगायत नेताले सम्बोधन गरेका थिए ।