मिस्टर झोलेको मुहूर्त

काठमाडौं / रास– रामबाबु गुरुङले निर्देशनमा चलचित्र ‘मिस्टर झोले’ निर्माण हुने भएको छ । यसअघि दीपेन्द्र के खनालले निर्देेशन गरेको चलचित्र ‘झोले’ को सिक्वेलका रूपमा मिस्टर झोले निर्माण गर्न लागिएको हो ।

तर, निर्माण पक्षले सिक्वेल नभएर यस चलचित्रको कथा फरक रहेको दाबी गरेका छन् ।  मिस्टर झोलेमा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, बुद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणि नेपाल, लक्ष्मी बर्देवा र सरोज अर्यालको अभिनय रहने निर्देशक गुरुङले जानकारी गराए ।

यस चलचित्रको छायांकन ११ वैशाखबाट कास्की जिल्लादेखि सुरु हुने निर्देशक गुरुङले बताएका छन् । यस चलचित्रको छायांकनमा जानुअघि राजधानीको भाटभटेनी मन्दिरमा बिहीबार बिहान शुभ मुहूर्त गरिएको छ । चलचित्रलाई टेकेन खड्का र रौनकविक्रम कँडेलले निर्माण गर्न लागेका हुन् । मिस्टर झोलेलाई शैलेन्द्र डी कार्कीले खिच्नेछन् ।