अपांगमैत्री छैनन् मतदानस्थल

राजधानी संवाददाता

नेपालगन्ज, ७ वैशाख

आगामी ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि बाँकेमा तोकिएका मतदान केन्द्रमध्ये अधिकांश अपांगमैत्री नभएको सरोकारवालाहरूले बताएका छन् । निर्वाचन आयोगले बाँकेमा १ सय ३६ मतदानस्थल र २ सय ९५ केन्द्र तोकेको छ ।

आसन्न निर्वाचनमा बाँकेका २ लाख ४६ हजार ७८ ले मताधिकार प्रयोग गर्ने भए पनि अपांगता भएका मतदाताको विवरण भने क्षेत्रीय निर्वाचन कार्यालयले राखेको छैन । जिल्लामा तोकिएका १ सय ३६ मतदानस्थलमध्ये ३ स्थलमा मात्रै अपांगमैत्री भएको क्षेत्रीय निर्वाचन अधिकारी बसन्तराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार निर्वाचन आयोगले लक्ष्मी उमावि बर्दहवा कोहलपुर, नेपाल राष्ट्रिय निमावि डिगाउ खजुरा र नेपालगन्जस्थित बालमिन्दर विद्यालयमा कायम मतदान स्थल मात्रै अपांगमैत्री रहेका छन् ।

निर्वाचनको मिति नजिकिँदै गर्दा मतदान केन्द्र र स्थल अपांगमैत्री बन्नेमा अपांगता भएका मतदाताहरूले आस गरेका छन् । अपांगता भएका मतदाताको वारेसी मत दुरुपयोग नहुनका लागि विद्युतीय मतदानको व्यवस्था हुनुपर्ने र अपांगमैत्री मतदान केन्द्र निर्माण हुनुपर्ने अपांताको क्षेत्रमा क्रियाशील डेक नेपालकी सीता बोहराले आग्रह गरिन् ।

उनका अनुसार बाँकेमा करिब ६ हजारको हाराहारीमा अपांगता भएका मतदाता रहेका छन् । अपांगता भएका मतदातालाई मतदान गर्नका लागि ह्विल चियर जाने, दृष्टिविहीनले सहयोगी लैजान पाउने, बहिरालाई सांकेतिक जानकारी दिन सक्ने गरी मतदान बुथमै व्यवस्था मिलाउन आवश्यक रहेको उनले औंल्याइन् ।

अपांगता भएकाहरूको समस्या मुलुकभर नै समान रहेको उनको गुनासो छ । अपांगता भएकाहरूको समस्या समाधानमा सरकार, निर्वाचन आयोग र राजनीतिक दलहरूले सक्रियता देखाउनु आवश्यक रहेको क्षेत्रीय निर्वाचन कार्यालयका तथ्यांक अधिकृत विक्रम गिरीले बताए ।