ठूला दललाई उम्मेदवार छान्न सकस

ठूला दलमा टिकटको हानथाप, सानामा उम्मेदवार पाउनै गाह्रो

निमेन्द्र शाही / राजधानी

बाजुरा, ७ वैशाख

स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न जिल्लामा सक्रिय तीन ठूला दलका कार्यकर्ता तथा नेताबीच हानथाप छ । ठूला दलमा उम्मेदवारका आकांक्षी बढी भए पनि राप्रपालगात साना दललाई भने उम्मेदवार पाउनै हैरान भएको छ ।

उम्मेदवार चयनका लागि गत तीन दिनदेखि नेकपा एमालेको जिल्ला कमिटिको बैठक चलिरहेको छ भने बुधबारदेखि सुरु भएको नेपाली कांग्रेसले समेत उम्मेदवार चयनको टुंगो लगाउन सकेको छैन ।

राज्य पुनःसंरचनापछि कायम भएको जिल्लाका पाँच गाउँपालिका र चार नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, सदस्य र नगरपालिकामा मेयर र उपमेयरका आकांक्षीको संख्या कांग्रेस, एमाले र माओवादी केन्द्रमा अधिक रहेको छ । उम्मेदवार चयन र माथिल्लो कमिटीमा सिफारिस गर्न तीन दलका नेता तथा कार्यकर्ताहरू हाल सदरमुकाममा केन्द्रित छन् ।

गत मंगलबारदेखि सुरु भएको एमालेको जिल्ला कमिटीको बैठकले वडाका सबै पदका उम्मेदवार चयन गर्ने बताइएको छ । त्यसैगरी, यसै बैठकले गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरका मेयर र उपमेयरको समेत सकेसम्म टुंगो लगाउने प्रयत्न हुने स्रोतले बतायो । बैठकबाट उम्मेदवारको टुंगो लगाई पूर्ण रूपमा चुनावी प्रचारमा केन्द्रित हुने एमाले जिल्ला सचिव बलदेव रेग्मीले बताए ।

त्यस्तै, आसन्न निर्वाचनका लागि उम्मेदवार चयन गर्न नेपाली कांग्रेस जिल्ला कार्य समितिको बैठक जारी छ । जिल्लाभरका नेता–कार्यकर्ता तथा टिकटका आकांक्षी हाल सदरमुकाममा केन्द्रित छन् ।

सो दलमा उम्मेदवारका आकांक्षी बढी भए पनि आगामी १० वैशाखभित्रै उम्मेदवारको टुंगो लगाउने कांग्रेसका नेता रामसिंह रावलले बताए ।  करिब २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न दलभित्रै प्रतिस्पर्धा भइरहेको दलका नेता अनौपचारिक रूपमा स्वीकार गर्छन् ।

आसन्न निर्वाचनमा माओवादी केन्द्र जिल्लामा ठाउँअनुसार निर्वाचनमा कोही न कोही दलसँग संयुक्त रूपमा निर्वाचनमा जाने तयारीमा रहेकोे छ । स्थानीय तहको निर्वाचनमा जित्नैपर्ने लक्ष्यअनुरूप योजना बनाइरहेको माओवादी केन्द्रका जिल्ला इन्चार्ज सहदेव बोगटीले बताए ।

आसन्न निर्वाचन सम्पन्न गर्न जिल्लामा सबै तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार निर्वाचन सम्पन्न गर्न मतदान स्थल र केन्द्रको टुंगो लागिसकेको छ ।

जिल्लाभर ६९ मतदान स्थल र ९१ मतदान केन्द्र तोकिएका छन् । जिल्लाबाट ६४ हजार ९ सय ५० जनाले मताधिकार प्रयोग गर्ने जिल्ला निर्वाचन अधिकृत शुभद्रा गौतमले बताइन् । जिल्लामा बढीजसो स्थानीय तहको निर्वाचनमा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।