लाङटाङ म्याराथनको तयारी पूरा

काठमाडौं / रास– ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले दोस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथन २५ अप्रिलमा गर्ने भएको छ । जसको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

२०१५ मा गएको विनाशकारी भूकम्पबाट अझै पनि राम्रोसँग पर्यटन फस्टाउन नसकेको भन्दै उसले नेपाल अब सुरक्षित छ । भन्ने सन्देश दिने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

गत वर्ष उसले पहिलोपटक सो क्षेत्रको गोसाइँकुण्डदेखि जिल्ला सदरमुकामसम्म प्रथम टान गोसाइँकुण्ड लाङटाङ म्याराथनको आयोजना गरेको थियो । खेलकुद पर्यटन स्थलका रूपमा विकास गर्ने उद्देश्यका साथमा साथै आन्तरिक पर्यटकलाई पनि नेपालका रमणीय ठाउँहरूको भ्रमण गराउने उद्देश्यका साथमा कार्यक्रम हुन लागेको हो । टानले कार्यक्रमलाई नियमित रूपमा हरेक वर्ष गर्ने लक्ष्य राखेको छ । उसले आगामी पाँच वर्षभित्र २ सयजनाभन्दा बढी धावक सहभागी गराउने लक्ष्य राखेको छ । प्रतियोगिता खुला महिला र पुरुष गरी दुई समूहमा सञ्चालन गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने दुवै समूहका खेलाडीलाई जनही क्रमशः १ लाख, ७५ हजार र ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिता लाङटाङ राष्ट्रिय निकुञ्जको ३८ सय ३० फिट उचाइको क्यान्जिङ गुम्बाबाट सुरु भएर लाङटाङ गाउँ, थाङस्याप, घाडा तबेला, लामा होटल रिम्चे, शेर्पागाउँ, खान्जिम ब्रिदिम, लिङलिङ हुँदै स्याप्रुबेंसीमा आएर समाप्त हुने जनाइएको छ ।