बाहिरियो बार्सिलोना

म्याड्रिड / एजेन्सी– युभेन्टस च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो लेगमा बार्सिलोनालाई उसैको घरेलु मैदानमा गोलरहित बराबरीमा रोक्दै युभेन्टसले समग्रमा ३–० को जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो । पहिलो लेगमा उसले बार्सिलोनलाई ३–० ले पराजित गरेको थियो । बार्सिलोना युभेन्टसविरुद्ध पनि क्वार्टरफाइलनमा पेरिस सेन्ट जर्मेनविरुद्ध झंै अप्रत्यासित नतिजा दिने योजनामा थियो । तर, युभेन्टसको रक्षात्मक प्रदर्शन सामु बार्सिलोनाका सबै प्रयास विफल भए ।

युभेन्टसले इटालीका अनुभवी कप्तान तथा गोलरक्षक जियानलुइगी बुफोनको नेतृत्वमा जर्जिओ चिलिनी, लियोनार्दो बोनुसी, डानी आल्भेस र एलेक्स सान्ड्रोसलाई बार्सिलोनाका ‘ट्राइका’ लाई रोक्न खटायो । उनीहरू सफल भए । बार्सिलोनाका स्टार खेलाडीहरू स्वारेज, मेसी र नेयमारका प्रयासहरू सार्थक भएनन् । युभेन्टसले ‘पीएसजी’ विरुद्धको ‘कमब्याक’ लाई सयौंपटक हेरेर रणनीति तय ग¥यो जसले उसलाई अन्तिम चारमा पु¥यायो ।

दुई वर्षपछि सेमिफाइनलमा पुग्ने क्रममा युभेन्टसले बार्सिलोनालाई आफ्नो घरेलु मैदानमा अस्वाभाविक पराजयको स्वाद चखाउनु उसका लागि सानो उपलब्धि थिएन । यस अघि युभेन्टसले सन् २००३ को च्याम्पियन्स लिगमा बार्सिलोनालाई क्याम्प नोउमा नै २–१ गोलले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । १४ वर्षपछि क्याम्प नोउबाट सेमिफाइनलको यात्रा तय गर्ने अवसर जु¥यो । बार्सिलोनाका तिनै स्ट्राइकर च्याम्पियन्स लिगको २१ खेलपछि क्याम्प नोउमा विपक्षी टोलीविरुद्ध गोल गर्न असफल भए । युभेन्टसका लागि बुधबार रातिको खेल दुई वर्षअघि च्याम्पियन्स लिगको फाइनलमा बार्सिलोनासँगको पराजय भुलाउन पर्याप्त भयो ।

बार्सिलोना लगातार दोस्रो वर्ष च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गर्न असफल भएको हो । गत वर्ष उसलाई क्वार्टरफाइनलमा स्पेनिस क्लब एटलेटिको म्याड्रिडले रोकेको थियो । यो सिजन पनि च्याम्पियन्स लिगबाट चाँडै बाहिरिएपछि बार्सिलोनाका अगाडि अब स्पेनिस लिगको उपाधि मात्र बाँकी छ ।