चौराहा डीपीएलको फाइनलमा , विराटनगरविरुद्ध भिड्ने

दीपक ओली / राजधानी

धनगढी, ७ वैशाख

पारस खड्काको कप्तानीमा रहेको घरेलु टोली टिम चौराहा सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अब उसले उपाधिका लागि शनिबार शरद भेषावकरको कप्तानीमा रहेको विराटानगर किंग्ससँग खेल्ने पक्का भएको छ ।

बिहीबार भएको दोस्रो क्वालिफायरमा धनगढी टिम चौराहाले शक्ति गौचनको कप्तानीमा रहेको रूपन्देही च्यालेन्जर्सलाई ९२ रनले हराउँदै अन्तिम दुईमा स्थान बनायो । समूह चरणमा कडा संघर्षपछि अगिल्लो चरणमा स्थान बनाएको धनगढी अन्ततः उपाधिनजिक पुगेको छ ।

सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको धनगढी टिम चौराहाले कप्तान पारस खड्काको आक्रमक पारीसँगै २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनायो । यो डीपीएलकै दोस्रो उच्च स्कोर हो भने टिम चौराहाको सबैभन्दा ठूलो स्कोर हो ।

डीपीएलको ठूलो स्कोर भने काठमाडौं गोल्डेन्सले विराटनगर किंग्सविरुद्ध १ सय ७३ रन बनाएको थियो, जुन खेल उसले ८६ रनले जितेको थियो । टिम चौराहाका कप्तान पारस ६७ रनमा अविजित रहे । ४१ बलको सामना गरेका उनले ६ चौका र ४ छक्का हाने । राजु रिजालले २५ रन बनाए । सौरभ खनाल २४ रनमा अविजित रहँदा अमर रौतेलाले १६ रन जोडे । रूपन्देहीका कृष्ण कार्कीले दुई तथा विक्रम भुसाल र शहव आलमले १÷१ विकेट लिए ।

टिम चौराहाले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको रूपन्देहीले १५.२ ओभरमा सबै विकेट गुमाएर मात्र ८० रन मात्र बनाउन सक्यो । राम्रो सुरुवात गर्न नसकेको रूपन्देहीका ब्याट्सम्यानहरूले ठूलो साझेदारी नै गर्न सकेनन् ।

पहिलो विकेटका लागि हरिशंकर शाह र शंकर रानाले बनाएको १४ रनको साझेदारी नै ठूलो बन्न पुग्यो । उसका लागि राजेश पुलामी मगर र कृष्ण कार्कीले १४÷१४ रन बनाए भने पुष्प थापाले १३ रन जोडे । चौराहका लागि ललित राजवंशी र सौरभ खनालले रूपन्देहीको ३÷३ विकेट लिए । रोचक के छ भने समूह चरणका ५ मध्ये मात्र दुई खेल जितेको टिम चौराहा रन रेटका अंक–तालिकाका आधारमा चौथो स्थानमा रहँदै अघिल्लो चरण पुगेको थियो । समूह चरणको अन्तिम खेलमा रूपन्देही र टिम चौराहा नै भिडेका थिए र प्लेअफमा स्थान बनाउन रूपन्देहीले दिएको ९२ रनको लक्ष्य टिम चौराहाले १४ ओभरमा भेट्टाउनुपर्ने थियो ।

पारसले २१ बलमा ४२ रन बनाएपछि ११ ओभरमा नै लक्ष्य पूरा गर्दै टिम चौराहा अघिल्लो चरण पुग्यो । बिहीबार पनि पारस चम्किए र रूपन्देहीलाई पन्छाउँदै टिम चौराहा फाइनलमा पुगेको छ । एमिनेटरमा काठमाडौं गोल्डेन्सलाई हराएर उपाधि भिडन्तको यात्रामा कायम रहन रूपन्देहीलाई जित्नुपर्ने खेल जितेर चौराह फाइनलमा पुगेको हो । टिमका सबै खेलाडीहरूले पछिल्लो खेलमा सुधारिएको प्रदर्शन गर्दै आएपछि खेलमा फर्किएको र फाइनलमा पनि राम्रो प्रदर्शन गर्ने चौराहाका कप्तान पारस खड्काले बताए ।