करोडौंको लागूऔषधसहित १५ पक्राउ

यांगुन / एजेन्सी– अवैध लागू पदार्थको बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको एक ठूलो गिरोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो समूहका १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । यसअघि प्रहरीले समूहका आठजनालाई पक्राउ गरेको थियो ।

बिहीबार प्रहरीले थप सातजनालाई पक्राउ गरेको त्यहाँको सरकारी समाचार एजेन्सीले जनाएको छ । म्यानमार प्रहरीले गत मंगलबारदेखि लागूऔषध तस्कर नियन्त्रणका लागि अप्रेसन चलाएको थियो । प्रहरीले घरघरमै छापा मारी ठूलो मात्रामा लागूऔषधसमेत बरामद गरेको जनाएको छ ।

कसुरदारहरूबाट अवैध हेरोइन करिब चार केजी, कडा नशालु पदार्थबाट निर्मित प्रतिबन्धित एम्फेटामिन नामक ट्याब्लेट २१ लाख चक्की तथा आइस भनी चिनिने अर्कोथरी कडा नशालु पदार्थ क्रिस्टल मेथाफेटामिन करिब ३ सय केजी पनि बरामद गरेको बताएको छ । बरामद गरिएका लागूऔषधको बजारमूल्य करिब ३१ अर्ब ८४ करोड क्याट (२ करोड ३४ लाख अमेरिकी डलरबराबर) रहेको समाचारमा बताइएको छ ।