व्यापार घाटा कम गर्ने वातावरण बनाउन आग्रह

राजधानी समाचारदाता

काठमाडौं, ७ वैशाख

अर्थमन्त्री कृष्णबहादुर महराले आयातमुखी व्यापारलाई प्रतिस्थापन गरी व्यापार घाटा कम गर्न स्थानीय उत्पादन बढाउन जोड दिनुपर्ने बताएका छन् । घरेलु तथा साना उद्योग विभागले आयोजन गरेको १३औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीतम प्रविधि प्रदर्शनी कार्यक्रममा बोल्दै मन्त्री महराले यस्तो बताएका हुन् ।

उनले आयातमुखी व्यापारलाई प्रतिस्थापन गरी निर्यातमुखी व्यापारलाई प्रोत्साहन गर्न घरेलु तथा साना उद्योग विभागले विशेष भूमिका खेल्नुपर्ने भन्दै आन्तरिक उत्पादनमा जोड दिनुपर्ने बताए । उनले हाम्रो मुलुक स्रोतसाधनका हिसाबले गरिब नभएर, भएको स्रोतसाधन परिचालन गर्न नसकेर मात्रै गरिब भएको औंल्याए । मन्त्री महराले आर्थिक समृद्धिका नारासँगै आर्थिक रूपमा पनि केही सकारात्मक परिवर्तन देखिए पनि आयात व्यापार प्रतिस्थापन गर्न नसकिएको औंल्याउँदै घरेलु तथा साना उद्योग विभागले यसलाई प्रतिस्थापन गर्न विभागको अगाडि चुनौती रहेको बताए ।

कार्यक्रममा विज्ञान तथा प्रविधि मन्त्री प्रेमबहादुर सिंहले राज्यले विकास र अनुसन्धानमा ठूलो लगानी गर्न योजना बनाएको भन्दै रैथाने प्रवृत्तिलाई निरन्तरता दिनुपर्ने बताए ।

रैथाने प्रवृत्तिलाई निरन्तरता नदिईकन विकास र समृद्धि असम्भव रहेको मन्त्री सिंहले बताए । उनले राष्ट्रिय बजेटमा अनुसन्धान र विकासमा जोड दिने कार्यक्रम र नीति ल्याउने तयारीमा सरकार प्रतिबद्ध रहेको बताए ।नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले प्रविधिको प्रयोग गर्दै घरेलु उद्योगमा युवालाई आकर्षितगर्नुपर्ने बताए ।

बिहीबारदेखि काठमाडौंको भृकृटीमण्डपमा सुरु भएको १३औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीतम प्रविधि प्रदर्शनी औद्योगिक व्यापार मेला समेत भएको हुँदा सँगसँगै व्यापारसमेत गरिन थालेको छ । प्रदर्शनीमा मुलुकभरबाट उद्यमीहरू एवं उपयुक्त प्रविधि प्रयोगकर्ता उद्यमीहरू र प्रविधि अन्वेषणकर्ताहरूको सहभागिता रहेको छ ।नेपाल, चीन, पाकिस्तान, बंगलादेश र भारतलगायत विदेशका स्टलसमेत समावेश गरिएको मेला आगामी ११ वैशाखसम्म सञ्चालनमा रहनेछ ।