भारतीय रुपैयाँसहित दुईजना समातिए

नेपालगन्ज / रास– नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले नेपालगन्जको चौलिक्का चोकबाट १४ लाख बढी भारतीय नोटसहित एक पुरुष र एक महिला गरी दुईजनालाई बिहीबार पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । नेपालगन्जबाट सीमावर्ती भारतीय बजार रुपैडियातर्फ जाँदै गरेका उनीहरूलाई सुराकीको आधारमा चौलिक्का चौकमा दिउँसो करिब २ बजे चेकजाँचका क्रममा १४ लाख ८ हजार ८० रुपैयाँसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महेन्द्रनगर बाँकेका सशस्त्र प्रहरी उपरीक्षक राजु अधिकारीले जानकारी दिए

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जुम्ला लाम्रा–१ हरिश्चन्द्र डाँगी र रुकुमकोट– १ सुनिता शाहीका साथबाट २ हजारको ४ सय ३६ थान, ५ सयको ९ सय ८२ थान, १ सयको ४ सय ४३ थान, ५० को १२ थान, २० को ३ र १० को १२ गरी १४ लाख ८ हजार ८० रुपैयाँ भारतीय नोटसहित जिल्ला प्रहरी कार्यालय बाँकेमा अनुसन्धान भइरहेको बाँकेका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक सरोज पौडेलले जानकारी दिए ।